आइतवार, बैशाख २३, २०८१

भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 413
    SHARES

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् ।

कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन् । उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्याङ्कमा निर्भर रहेका छन् ।

मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ । मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ । यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन ।

सामान्यतया भन्नुपर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ । तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ ।

अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्यभन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताउनुभयो । यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन् । एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ ।

चिनियाँ शहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो । यद्यपी यसको कारण स्पष्ट भइसकेको छैन । यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ ।

कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ । तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन् ।

तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च-दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ ।

टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भन्नुहुन्छ, “मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ । पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ – त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ ।”

डा फानले भन्नुभयो, मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ । तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन् । र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }