काठमाडौँ – भदौ १० गते मुलुकका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न परिस्थितिको सामना गर्न र राहत तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीवार सम्पन्न सर्वदलीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को यस घडीमा सरकारलाई पूर्ण सहयोग गर्ने र राष्ट्रिय एकताका साथ अघि बढ्ने संकल्प गरेका हुन् । बैठकमा नेपाली काँग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई गम्भीरताका साथ लिँदै राजनीतिक दलहरूलाई आफ्ना संयन्त्रमार्फत राहत संकलनको अनुमति दिनुपर्ने धारणा राख्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने बताउनु भयो । उहाँले विपद् पूर्वसूचना प्रणालीलाई थप भरपर्दो र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै संकटको समयमा सबै दल एकजुट रहेको सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनु भयो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्धार कार्यलाई थप तिब्र र समन्वित बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले बेपत्ताहरूको खोजीका लागि विशेष कार्यदल गठन, पूर्वाधारको तत्काल मर्मत तथा विद्युत र खानेपानी सेवा यथाशीघ्र सुचारु गर्न माग गर्नुभयो । महासचिव पोखरेलले विपद् व्यवस्थापनमा छिमेकी मुलुकहरूसँगको सूचना आदानप्रदान संयन्त्रलाई बलियो बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राहत र उद्धारमा हुने राजनीतिकरण अन्त्य गरी एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपाल, भारत र चीनबीच त्रिपक्षीय सूचना समन्वय संयन्त्रको आवश्यकता औंल्याउनु भयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको राहत प्रयासमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विपद्को क्षति र अन्तर्राष्ट्रिय सहयोगका सन्दर्भमा जानकारी दिँदै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले विश्व बैंकले १७ करोड अमेरिकी डलर, अमेरिका र एसियाली विकास बैंकले ५–५ लाख डलर सहयोग गर्ने प्रतिवद्धता जनाएको जानकारी दिनुभयो । उहाँले करिव ७०० मेगावाट क्षमताका विद्युत आयोजनामा क्षति पुगेको र रसुवागढी लगायतका क्षेत्रमा मानवीय क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका लागि सरकारले छिट्टै विशेष आर्थिक प्याकेज घोषणा गर्ने बताउनु भयो ।
बैठकमा सहभागी सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिहरूले सुरुङ मार्ग तथा संवेदनशील क्षेत्रमा उद्धार कार्य जारी रहेको र सञ्चार तथा आवागमन पुनःस्थापना गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहले नागढुंगा क्षेत्रको ट्राफिक जाम र जनजीवनको समस्या समाधानमा जोड दिनुभयो ।
बैठकको समापन गर्दै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय विपद्को यस घडीमा सबै दलले देखाएको जिम्मेवारीपन र ऐक्यवद्धताप्रति आभार व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल
