काठमाडौँ – नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताउनुभएको छ ।
बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताउनुभएको हो । उहाँले विपतको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक सङ्घ–संस्थालाई समेत परिचालन गर्नुपर्ने बताउनु भयो । हाल बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पु¥याउन सबै पक्ष जुट्नुपर्ने उहाँको भनाई छ ।
बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै सभापति थापाले राजनीतिक दलका कार्यकर्तालाई परिचालन गर्न तयार रहेको बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरूलाई सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले सरकारले गरेको आग्रहअनुसार नेपाली काँग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारी दिनुभयो । विपत्तिमा सरकारसँग उपलब्ध स्रोत साधनबाट मात्रै उद्धार तथा राहतमा सम्भव नहुने उहाँको भनाई छ । उहाँले सबै सहयोगीहरूलाई राज्यले तोकेअनुसार एक द्वार प्रणालीमार्फत आवश्यक सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले हाम्रो तर्फबाट आज भनेका छौँ, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरूभन्दा बाहेकका सबै पनि राज्यकै हो । हामी सबै पनि राज्यकै हो । त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ, त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौँ । हाम्रो यही प्रस्तावमा माननीय गृहमन्त्रीज्यूले अहिले तत्कालै विपत् ग्रस्त भएको क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खास गरीकन सडक सफा गर्नका निम्ति र अरू केही खोज र उद्धारका निम्ति त्यहाँ हाम्रो सङ्ख्याले पुगेको छैन, सङ्ख्याहरू परिचालित गरिदिनु¥यो भनेर भन्नुभएको छ । हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ, त्यही आवश्यकता अनुसार हामी आफ्नो आफ्नो पार्टीभित्र जुन विपत्का हाम्रा आफ्ना संरचनाहरू बनाएका छौँ, ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूसँग समन्वय गरिकन हामी आफ्ना कुराहरू परिचालित गरिहाल्छौँ । हामीले यही नै भनेका छौँ कि यतिखेर स्टेट भन्दै गर्दाखेरि स्टेटले ‘नन–स्टेट’ भनेर भनिएको त्यो सबैलाई आफ्नो ठान्नुपर्छ । हामी सबै यो बेलामा राज्यका हौँ । चाहे निजी क्षेत्र होला, चाहे राजनीतिक दल होला, चाहे सामाजिक सङ्घ–संस्थाहरू होला, यो सबै मेरो शक्ति हो, यो सबैलाई मैले परिचालित गर्नुपर्छ । किनकि सरकारसँग भएको स्रोत र साधनबाट मात्रै यत्रो ठुलो प्राकृतिक विपत्तिपछिको अवस्थामा काम गर्ने कुरा सम्भव नै हुँदैन । हामी भए पनि सम्भव हुँदैन, जो भए पनि सम्भव हुँदैन। यसरी गर्नुपर्छ भनेर भनेका छौँ र मलाई विश्वास छ यसलाई सरकारले पनि त्यो अनुरूपले लिन्छ ।’
उहाँले काँग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुन स्थापनको लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल