आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गराउने काँग्रेसको निर्णय

सार्वजनिक उत्सव नमनाउन सभापति थापाको निर्देशन


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 51
    SHARES

काठमाडौँ  – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मुलुकमा निम्तिएको बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबिचको छलफलमा सभापति गगनकुमार थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको बताउनु भयो । उहाँले सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औँल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पार्नुभयो । सभापति थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताउनु भयो । उहाँले विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वाभाविक भएको उल्लेख गर्नुभयो ।

 विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै थापाले सङ्घीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो । स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उहाँको तर्क छ । मुलुक शोकमा रहेको र हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिनुभयो । अबको सम्पूर्ण ध्यान उद्धार, राहत सङ्कलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभापति थापाले भन्नुभयो, ‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्र मन्त्रीलाई सम्पर्क गरी बाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु । हरितालिका तीज लगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउन सकिन्छ तर सार्वजनिक उत्सव र भड्किलो कार्यक्रम नगर्न म आग्रह गर्दछु ।’

सोमवारदेखि सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने भएको छ । फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाब दिइने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)