आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानीय सरकारलाई जिम्मेवार बनाउन गगन थापाको सुझाव


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 41
    SHARES

काठमाडौँ –  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा सरकारलाई पूर्ण साथ दिँदै कमजोरी सच्याउन खबरदारी गर्ने बताउनुभएको छ ।

 

 

बाढी–पहिरो पछिको अवस्था र पार्टीको भुमिकाबारे छलफल गर्न पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित बैठकमा उहाँले विपद् व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो । सभापति थापाले जाजरकोट भूकम्प लगायतका विगतका विपद्हरूबाट सिकेको ज्ञानलाई संस्थागत गर्नुपर्ने बताउनु भयो । पार्टीका कार्यकर्ताहरूलाई तालिम दिएर मैदानमा खटाउँदा त्यसले राहत र उद्धारमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ । काँग्रेस प्रमुख प्रतिपक्षी दल भएको नाताले विपद्को समयमा सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्ने तर सरकारका कमजोरी औंल्याउन पछि नहट्ने थापाले प्रस्ट पार्नुभयो । उहाँले पार्टीका तर्फबाट बुझाइएको ९ बुँदे ध्यानाकर्षण पत्रलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको पुनः ध्यानाकर्षण गराउनु भयो । विपद् व्यवस्थापनमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विशेषगरी राहत वितरणमा स्थानीय सरकारलाई नै नेतृत्व सुम्पिनुपर्ने उहाँको तर्क छ । स्थानीय आवश्यकता, ज्येष्ठ नागरिक, महिला र बालबालिकाका विशिष्ट समस्याबारे स्थानीय तह नै बढी जानकार हुने भएकाले उनीहरूलाई ‘बाइपास’ गर्न नहुने उहाँले बताउनु भयो । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई ‘टिम प्लेयर’का रूपमा लिएर स्पष्ट कार्यविभाजन गर्नुपर्ने उहाँको माग छ ।

सभापति थापाले विपद्को यो समयमा तडकभडकपूर्ण कुनैपनि उत्सव वा महोत्सव नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । सामाजिक सञ्जालमा लासका तस्बिर र हृदयविदारक भिडियो पोष्ट नगर्न उहाँले आग्रह गर्नुभयो । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि आफू सहितको टोली सोमार नै प्रस्थान गर्ने जानकारी दिँदै थापाले यो अल्पकालीन समस्या मात्र नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगतका अनुभव र संस्थागत ज्ञानलाई नीतिगत रूपमै अगाडि बढाउन आवश्यक छ । तालिमप्राप्त साथीहरूले अहिले मैदानमा गरिरहेको काम प्रशंसनीय छ । सरकार कहाँ चुकेको छ, त्यो देखाउनु हाम्रो कर्तव्य हो । कमजोरी नऔंल्याए नागरिकका समस्या सरकारसम्म पुग्दैनन् ।’

अभिभावकविहीन भएका बालबालिकाको पठनपाठन र उठिबास भएकाहरूको पुनःस्थापनाका लागि पार्टीले निरन्तर काम गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । बैठकमा सभापति थापाले पार्टीको विपद् व्यवस्थापन समितिलाई अब वडा तहसम्मको यथार्थ विवरण संकलन गरी कार्ययोजना बनाउन निर्देशन समेत दिनुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)