काठमाडौं, १२ फागुन। विश्वभर कोरोना भाइरसको विरुद्धको खोप अभियान शुरु भएसँगै संक्रमण दर पनि ओरालो लागेको छ । विश्वमै कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा पछिल्लो समय संक्रमण लगातार घट्दो क्रममा छ ।
एक महिना अघिसम्म दैनिक संक्रमण २ लाखको हाराहारीमा रहेको अमेरिकामा पछिल्लो २४ घन्टामा नयाँ संक्रमितको संख्या ६५ हजारमा झरेको छ ।
विश्वमै दोस्रो बढी संक्रमित रहेको भारतमा पनि संक्रमण निकै घटेको छ । पछिल्लो २४ घन्टामा १३ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । केही महिना अघिसम्म भारतमा दैनिक संक्रमण १ लाखको हाराहारीमा पुगेको थियो ।
नयाँ प्रकारको भाइरस देखिएका कारण संक्रमणबाट प्रभावित भएको बेलायत लगायतका युरोपेली मुलुकमा पनि संक्रमण घट्दो क्रममा छ । युरोपेली मुलुकमा फ्रान्समा पछिल्लो २४ घन्टामा २० हजार नयाँ संक्रमित थपिएका छन् । अन्य युरोपेली मुलुकको दैनिक संक्रमण १० हजार र सोभन्दा पनि कम छ ।
ब्राजिलमा भने पछिल्लो समय संक्रमण बढेको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्रै ६४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ करोड नाघेको छ । संक्रमणकै कारण विश्वभर झण्डै २५ लाख मानिसको मृत्यु भइसकेको छ ।
