१३ पुस, काठमाडौं । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।
बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो ।
दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुबाटै अग्रता लिएको थियो । एक समय २१–१६ को स्थिति थियो । त्यसपछि २३–१९ को स्थितिमा उज्वेकिस्तानले रातो कार्डको सामना गरेपछि नेपालले एक अंक बोनस पाएको थियो । सर्भिस नेपालको पक्षमा आएको थियो ।
२३–२० को स्थितिबाट नेपालले लगातार अंक जोड्दै २३–२३ को स्थिति बनायो । तर, दोस्रो सेटमा नेपाल २६–२४ ले पराजित भयो ।
तेस्रो सेटमा नेपालले २५–१५ को सहज जित निकाल्दै २–१ को अग्रता लियो । चौथो सेटमा उज्वेकिस्तानले २५–२२ ले जित्दै २–२ को बराबरी गर्यो । अन्तिम तथा निर्णायक सेटमा नेपालले उज्वेकिस्तानलाई १५–११ ले जित्दै उपाधि रक्षा गरेको हो ।
