
ललिता बहिनीको कोसेलीः-
धन्यवाद कसलाई दिउँ? पाचौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर तथा महिला सम्मेलन आयोजक समितिलाईवा बहिनी ललिता जोशी क्षेत्रीलाई? अझै म दुबिधामा छु। कवयित्री ललिता बहिनीकका सुन्दर कविताहरु धेरैन पढेको हुँ। प्रत्येक्ष भेट गरेर बहिनीका सिर्जनाहरु प्राप्त गर्ने रहर यही संमेलनले जुटायो।
कविता के हो?
कविता सिर्जनात्मक मनको उपज हो। यो अत्यन्त वैयक्तिक र आन्तरिक प्रतिभा पनि हो। मनमा कविता प्रादुर्भाव हुनुजन्मशिद्ध गुण हो। यो तालिमको विषय होइन। यो नैसर्गिक क्षमता हो। रचनात्मक अभिरुचि विकशित हुन साहित्यिकवातावरण र प्रतिबोधको आवश्यकता पर्दछ।
कविता मनोवेगलाई उत्तेजित गर्ने साधन पनि हो भनिन्छ। सृष्टिको सौन्दर्य पहिचान गर्ने, मोहित हुने र प्रक्षेपण गर्ने तत्वलाईनै कविता भन्न सकिन्छ। कविता प्रेरक हो। कुनै निष्क्रिय मनलाई कविताले प्रेरणा दिएर हरेक कार्यमा प्रवृत्त बनाउँछ। स्वाभाविक धर्ममा हिंडाउन प्रयत्न गर्ने माध्यम हो कविता। चित्त एकाग्र गर्ने साधन हो कविता। जुन स्थानमा कविता निवास गर्दछ त्यो स्थान अति कोमल हुन्छ। यही स्थानबाट अगाध सौन्दर्य र अनुपम माधुर्य पैदा हुन्छ।
कोमलताको पर्यायनै कविता हो। श्रुतिमधुरमात्र खास कुरा होइन। कवितामा विचारको गहनता तथा भाव प्रचुरतामा ध्यान पुग्नु अति आवश्यक मानिन्छ। कविता केवल कविताको लागिमात्र लेखिनु हुँदैन, कविता समाजको लागि लेखिनु पर्दछ। मानवताको लागि लेखिनु पर्दछ। समाज भित्र प्रिय कविता संकलन गर्नु पर्दैन , आफैं सङ्कलित हुन्छ।
पुस्तक बारेमाः-
“आँखीझ्यालबाट विश्व चियाएर हेर्दा” एक सशक्त कविता संग्रह हो। यसमा विविध विषयमा रचित ६३ओटा कविता समावेश गरिएका छन्। आफूले भोगेका प्रेमिल क्षणहरु, बालापनका कतिपय कविताहरु र मनमा लागेका घाउहरुको प्रतिच्छायाँ हो यो संग्रह। प्राज्ञ श्रीमती सुभद्रा भट्टराई, श्रीमती देविका मोक्तान, श्री बिष्णु बहादुर गुरुङ, ले. कर्णेल प्रेम कुमार खालिङ(राई) र प्रा मधुकर सुवेदीको शुभकामना रहेको यस कविता संग्रहको विद्वान समीक्षक श्रीकृष्ण प्रधानले संपूर्ण कविताको गहन विश्लेषण गरेर यस कृतिको गरिमा बढाई दिनुको साथै पाठकलाई छर्लङ्ग पारिदिनु भएको छ।
उहाँको भनाईमा “ कवितामा आफ्ना मायालुलाई विषयवस्तु बनाएर प्रणयलाप गरिएता पनि अन्यान्न कविताहरुमा मान्छे, जीवन, मृत्यु, सपना विचार, पीडा , हर्ष शोक, आकङ्क्षा नै यिनका कविताको विषयवस्तु रहेको देखिन्छ”। मैले यो कविता संग्रह सबै पढें। पठनीय किताब हो यो। मैले पढेर अनुशरण गरेका कुराहरु उल्लेख गर्नुको सट्टा यो संग्रह खोजेर, मागेर वा किनेर एक पटक मिहिन रुपमा अध्ययन गर्न सिफारिश गर्दछु। यस पुस्तकमा रहेका सबै कविताहरु उदाहरण योग्य छन्। प्रतिनिधि कविताको रुपमा एउटा कविताको केही अंश प्रस्तुत गर्दछु।
“नारी एकः रुप अनेक”—(पेज १२७)
म त एक्काइसौं शताब्धिकी नारी हजुर,
जस्तै ठूलो तगारो तेर्सिए नि त्यसलाई
भत्काउने क्षमता छ हजुर…………..
…………………
म ताइक्वान्डो, कुम्फू करातेकी विजेता पनि हुँ।
म त एक्काइसौं शताब्धिकी नारी हजुर,
जस्तै ठूलो तगारो तेर्सिए नि त्यसलाई
भत्काउने क्षमता छ हजुर।
सृष्टिमा आनन्ददायी सृष्टि चेतनामयी छ। चेतना सून्यता निष्प्राणता हो। चेतनाले विश्वात्मालाई एक सूत्रमा बाँधेको छ। चेतन जगतको सर्वश्रेष्ठ प्राणी मानिस हो। बुद्धि, विवेक, दया, क्षमा, प्रेम, सहानुभूति आदि गुणहरु मानिसमा विद्यामान हुनाले मानव जीवन सर्वोकृष्ट बनेको हो। सर्वोकृष्ट मनबाट उब्जिएको साहित्य नै लोक हितकारी हुन्छ। नारी र पुरुषमा समानता कायम हुँदै छ। सबै क्षेत्रमा नारी अगाडि बढिरहेको परिप्रेक्षमा असमानताको कल्पना गर्न पनि नसुहाउने हुन थाल्यो। धेरै विषयमा नारीले अग्रस्थान ओगटेको आभास हुन थालेको छ। परिष्कृत नारी लेखन पुरुषको विरोध होइन, नारी अस्मिताको खोजी हो। नारी लेखनमा सामाजिक प्रतिवध्दता बढी मात्रामा पउन सकिन्छ। आरक्षणको विषयमा होइन सशक्तिकरणको विषयमा सोच्नु पर्दछ।
“मातृ समो गुरुर्नास्ति” आमा समान गरु हुँदैनन्। महिला समाज शिक्षित भए उनका सन्तान स्वतह सुसंस्कृत र परिस्कृत भएर समाजमा हुर्किएका हुन्छन्। “स्त्रीशूद्रौ नाधीयताम” अर्थात स्त्री र शूद्रले ज्ञान प्राप्त नगरुन् भन्ने हेतुले सृजित सूक्तिमा विश्वास गर्ने समाजले नारीप्रति कठोर वर्तना तेर्स्यायो। पहिलेहाम्रो समाजमा विदुषीहरुको कमी पटक्कै थिएन। नेपालकी गंगा रानी, झाँसीकी लक्ष्मी वाई(महारानी) र भारतकी अहिल्य सुप्रख्यात विदुषी हुन्।
यो ग्रन्थ समसामायिक, स्वाभाविक र ओजपूर्ण छ। यसमा विरहका अनेकन विषय मध्य चिन्ता, स्मरण र जीवन जगत समाविष्ट भएका छन्। जव कवि हृदयलाई अनुभूतिले स्पर्श गर्दछ अनि गंभीर र मर्मस्पर्शी भावानुभूति पैदा हुन्छ। यो करुण रस युक्त काव्य हो। पति वियोगमा हृदयको व्याकुलता अभिव्यञ्जित शोक काव्य भन्दा पनि हुन्छ। प्रेमको उदाहरणीय नमुना यस ग्रन्थमा प्रकट भएको छ। यहाँ लामो शोकपूर्ण कवितात्मक विलाप छ। विषय वस्तु नितान्त व्यक्तिगत छ तापनि वस्तुपरक तटस्थताको भरपूर निर्वाह भएको छ। यो कृति एक शोकोपहारमात्र नभैकन सुन्दर कविता संग्रह बन्न पुगेको छ। शब्द र भावले पाठकको मनमा सरसता प्रवाहित हुन्छ। सहजता र सरलताको अनुपम मिलनले सम्पूर्ण पाठकको
मन उद्देलित तथा झङ्कृत पार्दछ। प्राञ्जल भाषा, सुसंस्कृत शब्द योजना र ओजिलो भावले गर्दा यो ग्रन्थले नेपाली साहित्यको जगतमा एउटा नव चेतनाको फराकिलो आयाम थपेको महसुस गरेको छु।
ललिता जनभाषामा कलम चलाउने कवयित्री हुन्। शब्दसित खेल्न जानेकी छिन्। यिनको वैचारिक तथा भावनात्मक तयारी मलाई निकै मन पर्यो। उनलाई कविताको माध्यमबाट समाजको एक सजग सिपाही हुन् भन्दा केही अतिशयोक्ति होला जस्तो लाग्दैन। यस कविता संग्रहमा अभाव ग्रस्त परिवारको जीवन कतै हराएको देख्छिन्, कवयित्री। यी एक प्रतिवद्ध र स्नेहशील कवि हुन्। यहाँ शास्त्रमा नलेखिएको, कुनै इतिहासमा नपरेको विषय उठाएकी छिन् कवयित्रीले। यसबाट अनुभूतिको मार्मिक चित्र हेर्न सकिन्छ। निष्छलता उनका कविताका सर्वोपरी सुगन्ध भएर आएका छन्। यति हुँदाहुँदै पनि कताकति उनका कविता अवोधगम्य पनि छन्। उनी सिलगढी ,दिर्जिलिङ भारत निवासी भएर पनि भाषान्तरणको समस्य हुन सक्छ। यसको लागि उनको साधना निरन्तर रुपमा चलिरहने छ। मेरो स्नेहाशीष रहिरहने छ।
२१मार्च २०२३
तीर्थराज अधिकारी पोखरा १०, हाल ओहायो
संयुक्त राज्य अमेरिका।