रमेश विकल र सामाजिक यथार्थवाद
-गोपी मैनाली
विषय प्रवेश
साहित्य समाज निरपेक्ष्य रहँदैन । सर्जकहरू आफू बाँचेको समाज र समयलाई आफ्ना सिर्जनमा प्रतिबिम्बन गर्दछन् । यस अर्थमा साहित्यकार सामाजिकताबाट पर रहन सक्दैन । स्रष्टा, सिर्जना र समाज त्रिकोणीय सम्बन्धमा रहन्छन् । तर यति भनेर सामाजिक यथार्थवादको अर्थ समेटिदैन । समाजलाई सिर्जनामा कसरी चित्रण गरहेको छ ? त्यसमा प्राकृतिकता र वस्तुपरकता कति छ ? आग्रह र वैयक्तिक दृष्टिकोणहरूबाट कति भिजेको छ ? यस्ता विषयहरूबाट नै कुनै पनि सर्जक वा सिर्जना सामाजिक यथार्थवादी छ वा छैन भन्ने निर्धारण हुन्छ । सामाजिकता उठाउने सन्दर्भमा सिर्जनामाथि विचार र भावनाको भारी बोकाउने कामले त्यो यथार्थवादी हुँदैन, वैयक्तिक स्वच्छता र निजत्वको कुराहरू समेटिए पनि त्यो सामाजिक यथार्थ चित्रण गर्न सक्दैन । पात्र र परिवेश चित्रणमा कृत्रिमता रहे पनि सामाजिक यथार्थबाट पर पुुग्नसक्छ । विशुद्ध सामाजिक विषयको प्राकृतिक प्रस्तुतिले सिर्जना र सर्जक सामाजिक यथार्थवादी बन्ने गर्दछन् । सामाजिक यथार्थवादी हुनुु भनेको आफू रहेको समाजको चित्रण गर्नु हो, यसलाई अन्य अर्थ र अलङ्कारबाट बुुझ्नु हुँदैन, न आग्रहमा नै लिनु हुन्छ ।
सामाजिक यथार्थवादले सामाजिक व्यवहार, मूल्य–मान्यता र वातावरणमा देखिएका–छोपिएका, सुनिएका–नसुनिएका र दवाएका स्वर–स्वरूपहरूलाई चित्रण गर्दछ, जसको अभीष्ट सुधार र परिष्कारको आधारभूमि तयार पार्नु हो । प्रकल्पना, अनुमान, तिलस्मी र स्वच्दन्दताको विपरीतमा रहेर भोगिदो जीवन, जगत्, समय र अनुुभूतिको वास्तविक प्रतिबिम्वन गर्नु सामाजिक यथार्थवादीहरूको चरित्र हो । सामाजिक यथार्थवादी सर्जकहरूको प्रवृत्ति आफूरहेको समाजको कुनै पक्षको रौंचिरा चित्रण गर्नुुमा हुन्छ, सामाजिक मूल्यवृत्ति (देखिएका–छोपिएका, राम्रा–नराम्रा) र संस्कार संरचनाको प्रतिनिधित्व गर्नुमा हुन्छ ।
साहित्यकारहरू आफूरहेको समाजको मूल्य संस्कारप्रति आलोचनात्मक चेत राख्छन् । उनीहरू सामाजिक प्रजननशीलताका पक्षधर हुन्छन् । समाजको व्यवहार र घटनावृत्तिको देखाइ–भोगाइ सबै मानिसमा हुने गर्दछ, तर स्थितिको बोध र त्यसलाई प्रस्तुति गर्ने सामथ्र्य सर्जकमा मात्र हुन्छ । जस्तो कि समाज आवश्यकता, प्राथमिकता, विचार, व्यवहार, सम्पत्ति, सामथ्र्य, जैविक–शारीरिक अवस्था आदि आधारमा विविधतायुक्त हुन्छ, जसभित्र तहसोपान व्यवहारवृत्ति गढेर रहेको हुन्छ । यी तहसोपानका कारण जीवनशैलीलाई नकारात्मक प्रभाव पारेको हुन्छ । साहित्यकारहरू यसलाई नजिकबाट, अझ भनौं, समानुुभूतिमा नियाल्दछन् । गुरुप्रसाद मैनालीको ‘नासो’, विश्वेश्वरप्रसाद कोइरालाको ‘मधेशतिर’ वा रमेश विकलको ‘गरिब’ त्यसवेलाको समाज र संस्कृतिको राम्रो प्रतिनिधित्व गरेका छन् । सामन्तशासित समाज र पुरुषशासित महिला, औपचारिक सामाजिक व्यवस्था र अनौपचारिक व्यवहारको बाहुल्यता यी कथाका सामाजिक पक्ष हुन् ।
सामाजिक यथार्थवादको विकास
पश्चिमी साहित्यिक चिन्तकहरू सौन्दर्यपरक (एस्थेटिक), स्वच्छन्दतामुखी (रोमान्टिसिज्म), वैयक्तिक वैचारिक आग्रह र आदर्शभन्दा पररही प्राकृतिक र स्तुुगत रूपमा समाजको चित्रण गर्नु सामाजिक याथर्थ हो भन्ने गर्दछन् । यो विशुद्ध ‘सोसल पोट्र्रेएल’ (समाज चित्र) हो । समाज र समयको सादा चित्र हो ।
विश्व साहित्यमा स्वच्छन्दतावादको प्रतिक्रिया (एन्टीरोमान्टिसिज्म) का रूपमा सामाजिक यथार्थवाद आएको देखिन्छ, जसमा युरोपीय साहित्यकारहरूको योगदान उल्लेख्य रहेको छ । जर्मन दार्शनिक अगष्टे कोम्टेले विकास गरेको सकारात्मक दर्शनकोे अवधारणले सामान्य मानिसको कलात्मक प्रस्तुतिलाई सामाजिक यर्थाथवादका रूपमा लिएको थियो ।
सामाजिक यथार्थवाद, जसलाई यथार्थवाद (रियालिज्म) मात्र पनि भनिन्छ, नितान्त नौलो विषय होइन । उन्नाइसौं शताब्दीमा फ्रेञ्च साहित्यकार फ्लुुवर्ट र बाल्जाक यो शब्दको प्रयोग गरेका थिए । बेलायतमा जर्ज इलियटले आफ्ना उपन्यासमा यसको प्रयोग गरेको पाइन्छ भने जर्ज वनार्ड शा, ह्यारोल्ड पिन्टर र जोहन ग्याल्सवर्थीको नाटकमा प्रयोग भएको थियो । चाल्र्स डिकिन्सनको ‘हार्ड टायम’ (१८५४) र फ्योदोर दोस्तोभ्स्कीको ‘क्राइम एण्ड पनिशमेन्ट’ (१८६६) ले उन्नाइसौ शताब्दीमा निम्नमध्यमवर्गीय परिवारले भोग्न परेको पीडालाई यथार्थ रूपमा चित्रण गरी सामाजिक यथार्थताको राम्रो दृष्टान्त दिएका थिए । अमेरिकमा सामाजिक यथार्थवादका अभियन्ता कहलिएका साहित्यकार सामुएल क्लेमेन (मार्क ट्वीन) कला–साहित्यमा स्थानीय रङ्ग उतार्नु सामाजिक यथार्थवाद हो भन्ने व्यावहारिक व्याख्या सहित सोही अनुसारको प्रयोग आफ्ना सिर्जनामा गर्दछन् । उन्नाइसांै शताब्दीको प्रयोगको आधारमा सामाजिक यथार्थवादी लेखनमा (क) सामाजिक समालोचना, (ख) सामाजिक तहसोपान, (ग) श्रम विभाजन र श्रमको शोषण र (घ) निम्न वर्गीय गरिब, मजदुुर तथा किसानको चित्रण गरेको देखिन्छ । यसको अर्थ धनी र सम्भ्रान्त वर्गको उल्लेख हुँदैन भन्न खोजिएको होइन, यो वर्गको पनि विकृति र विसङ्गति साहित्यमा उतारिएको हुन्छ । तर वर्गीय पीडा निम्न वर्ग (याने कि समाजको पिँधमा रहेको वर्ग) का मानिसहरूमा गहन हुने हुनाले प्रधान विषय चाँहि त्यही पीडालाई केन्द्रीय भावमा राख्ने गरिन्छ ।
भारतीय (अङ्गे्रजी) साहित्यकार आर के नारायणले सामाजिक यथार्थवादलाई फ्रेन्च–जर्मन प्रयोग गरेको प्रयोग भन्दा भिन्न छ । नारायाणले भारतीय समाजमा गढेर रहेको सामाजिक अन्धविश्वास र कुरीतिहरूलाई उत्खनन् गरेका छन, न कि अनैतिक यौन सम्बन्ध, नाङ्गो शहरी विकृति, द्वन्द्व र बेइमानी जस्ता खस्रा विङ्गतिलाई स्थान दिएका छन् । ‘डार्क रुम’, ‘वेटिङ् फर दी महात्मा’, ‘दी इङ्लिस टिचर’, ‘नोम्यान्स् ल्याण्ड’ आदि उनका विशिष्ट प्रयोग हुन् । नेपाली साहित्यमा गुरुप्रसाद मैनाली, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, रमेश विकलले सामाजिक यथार्थवादलाई प्रयोगमा ल्याए । यसर्थ सामाजिक स्वरूप, आर्थिक–शासकीय संरचनाको स्तरले पनि सामाजिक यथार्थवादको प्रयोगलाई केही भिन्नतामा देख्न सकिन्छ ।
सामाजिक यथार्थवादको आधारभूत चरित्र
विश्व साहित्यको इतिहास र प्रयोगका आधारमा सामाजिक यथार्थवादका आधारभूत विशेषता देहाएबमोजिम उल्लेख गर्न सकिन्छ ः
– सामाजिक यथार्थवाद आदर्शवाद (आइडियालिज्म) र स्वच्छन्दता (रोमान्टिसिज्म) का प्रतिक्रियाका रूपमा विकास भएको अवधारणा हो ।
– औद्योगिक क्रान्ति, आर्थिक मन्दीजस्ता समयमा देखिएको दमन, शोषण, बेरोजगारी, शहरी सुकुुम्बासी र आर्थिक विषमताले कला–साहित्यमा सामाजिक यथार्थवाद प्रयोगको पृष्ठभूमि तयार भएको हो ।
– यसले समाजको यथार्थ अवस्था वा वस्तुस्थिति (सोसल पोट्र्राएल) लाई साहित्य सिर्जनामा प्रतिबिम्बन गर्दछ । सामाजिक यथार्थवाद सामाजिक व्यवहारको वस्तुपरक चित्रण हो । आँखा अगाडि बुझिएको सार हो ।
– आर्थिक असमानता, सामाजिक विषमता र विकृति औल्याउँदै सुधारको पृष्ठभूमि तयार गर्नु सामाजिक यथार्थवादको अभीष्ट हुने गर्दछ ।
– गरिब, विपन्न र वञ्चितिमा परेकाहरू कसरी जीवन बिताइरहेका छन्, उनीहरूका दैनिकीका समस्या कस्ता छन्, त्यसलाई मिहीन रूपमा व्याख्या विश्लेषण गर्दछ ।
– समाजको तहसोपान वा सोसल हाइरार्कीले जीवनशैलीमा पारेको प्रभावको चित्रण गर्दछ ।
– लैङ्गिक भूमिका, लैङ्गिक मानक, लैङ्गिक दूरीको चित्रण गरी सोमा परिष्कार र परिमार्जनको संदेश दिन्छ । त्यस्तै जातिय,आर्थिक, भौगोलिक, सांस्कृतिक मूल्य–मानक परिमार्जन र सुधारका लागि पृष्ठभूमि तयार पार्दछ ।
– यसले समाजमा रहेको अँध्यारो पक्षको कलात्मक प्रस्तुति गर्दछ । वा विकृतिविरुद्ध कलात्मक प्रहार गर्दछ, वा यसो गर्न आँखा र आवेग खोलिदिन्छ । समाजमा छिपेर रहेका कतिपय विकृत व्यवहार (फेक नम्र्स) लाई उदिनिदिन्छ ।
– सामाजिक यथार्थको अन्तिम साध्य वा अभीष्ट मानवीय मूल्य प्रवद्र्धन हो । यसका लागि सामाजिक व्यवहारमाथि आलोचनात्मक चेत राख्ने पात्र वा यस प्रकारको भावभूमिको प्रयोग हुन्छ ।
कला कलाका लागि, कलाको उद्देश्य अभिव्यञ्जन मात्र हो, कला साहित्य नैसर्गिक ‘स्व’ र निजत्वको प्रकाशन गर्दछ, साहित्य सौन्दर्य र मनोरञ्जनको विषय हो भन्ने मान्यतालाई सामाजिक यथार्थवादले स्वीकार्दैन र सामाजिक व्यवहारहरूको सुन्दर प्रस्तुति मार्फत समाजिक विकासको आधारभूमि तयार गर्दछ ।
नेपाली साहित्यमा सामाजिक यथार्थवादको विकासक्रम
नेपाली साहित्यमा सामाजिक यथार्थवादको प्रयोगका सन्दर्भमा प्रयोगकर्ता, प्रयोग समय र सिर्जनाका विषयमा साझा बुुझाइ छैन । सिर्जना र स्रष्टा समाज समाज सापेक्ष रहन्छ भन्ने बुुझाइका आधारमा सामाजिक यथार्थवादको लहरो लामो हुन सक्छ । यस अर्थमा गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०), सरदार रुद्रराज पाण्डेको ‘रूपमती’ (१९९१), रूपनारायणसिंहको ‘भ्रमर’ (सन् १९३६) पनि तत्कालीन समाजको थोरबहुत चित्रण गरिहेका नै छन् । तर विषयपरकता, चरित्रकार्य र परिवेश चित्रण एवम् शब्दति विधिका आधारमा १९९१ मा प्रकाशित प्रतीकरुरुुरूप्रसाद मैनालीको ‘नासो’ ले कथाका क्षेत्रमा सामाजिक यथार्थताको प्रवेश गरायो । यसै बर्ष पहिलो पटक नेपाली साहित्यको पहिलो मौलिक (आधुनिक) कथाहरूको सँगालो ‘कथा कुसुम’ दार्जीलिङबाट प्रकाशन भयो, जसको उद्देश्य नवयुवक लेखकहरूलाई कथा साहित्य र त्यसको कलापछिको दृष्टि आकर्षित गर्नु थियो । कथा कुसुममा गुरुप्रसाद मैनालीका बिदा र परालको आगो, बालकृष्ण समको शरण कैकेयी र फुकेको बन्धन, पुष्करशमशेरको परिबन्द र लोग्ने र पण्डित विश्वेश्वरप्रसाद कोइरालाका विहा, शत्रु र सिपाही गरी नौ मौलिक कथाहरू समावेश थिए । मैनालीका कथा नासो र परालको आगो सामाजिक यथार्थवादका कथाहरू थिए ।
उपन्यसमा भने विषय, प्रस्तुति र पात्रलाई यथार्थ रूपमा राख्ने काम लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर’ (२००४) ले गरेको थियो । ‘मुलुक बाहिर’ ले‘रूपमती’ को आदर्शवाद, ‘भ्रमर’ को स्वच्छन्दता र ‘वीरचरित्र’ को तिलस्मीताको प्रतिक्रियाको रूपमा मुलुक बाहिर (मुुग्लान) रहेका नेपालीहरूको भोगाइको यथार्थ चित्रण गर्दछ । त्यसपछि हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नीमान्छे’ (२०११) ले सामाजिक यथार्थतालाई राम्ररी उन्नयन गरेको छ ।
नेपाली सामाजिक यथार्थवादी साहित्यमा गरिब र धनी, विपन्न र वैभवशाली, सम्भ्रान्त र सामान्य वर्गको द्वन्द्व पाइन्छ भने पुस्तान्तरको सङ्क्रमण र वैषम्य पनि त्यत्तिकै पाइन्छ । समाजमा विकास भएको पुस्तान्तर र यसले ल्याएको सामाजिक विग्रह, विखण्डन र सांस्कृतिक विचलन पनि सामाजिक यथार्थवादको विषय बनिरहेको छ । रमेश विकल गुरुप्रसाद मैनाली र हृदयचन्द्रसिंह प्रधानले भित्र्याएको सामाजिक यथार्थताबाट प्रभावित र त्यही प्रवृत्तिलाई समृद्ध बनाउने मूूर्धन्य सर्जकका रूपमा देखिएका छन् ।
रमेश विकल र सामाजिक यथार्थवाद
वि स २००६ मा शारदा पत्रिकामा प्रकाशित विकलको पहिलो कथा ‘गरिब’ र त्यसपछि सेवा पत्रिकामा प्रकाशित दोस्रो कथा ‘आँसुुले भिजेको हाँसो’ ले नै उनको कथा प्रवृत्ति सामाजिक यथार्थ हो भन्ने स्पष्ट पार्दछ । त्यसपछि प्रकाशित कथा, उपन्यास, निबन्ध र नाटकहरू सामाजिक यथार्थका गाढा प्रतिबिम्व हुन् । ‘विरानो देशमा’ (२०१६), ‘नयाँ सडकको गीत’ (२०१९), ‘आज फेरि अर्को तन्ना फेरिन्छ’ (२०२४), ‘एउटा बुढो भ्वाइलेन आशावरीको धुनमा’ (२०२५), ‘उर्मिला भाउजू’ (२०३५), ‘शव सालिक सहस्र बुद्ध’ (२०४२), ‘हराएका कथाहरू’ (२०५५), ‘हिमालको छहरा समुद्रको छाल’ (२०७१) र ‘कथादेखि कथासम्म’ (२०७१) मा सङ्ग्रहित कथाहरू‘गरिब’ ले लिएको प्रवृत्तिलाई गाढा बनाउँदै सामाजिक व्यवहारको वस्तुपरक चित्रण गरिरहेका छन् । तर सामाजिक चेत र परिवर्तनको प्रभाव भने कथाहरूमा समान छैन । जस्तो कि ‘बिरानो देशमा’ र ‘नयाँ सडकको गीत’ मा सङ्गृहीत कथाहरूले सामाजिक व्यवहारहरूलाई जसरी उतार्छ, त्यही प्रवृत्ति ‘उर्मिला भाउजू’, ‘आजको आर्को तन्ना फेरिन्छ’ लगायत पछि प्रकाशित कथाहरूमा सामाजिक चित्रणका साथै सुधारको चाह–चेत र यथार्थस्थितिप्रतिको प्रतिक्रिया पाइन्छ, आर्थिक–सामाजिक मुद्दाका साथै त्यो भन्दा माथि उठेर सांस्कृतिक, शासकीय र मानसिक सवालहरू पनि चित्रण पाइन्छ । उपन्यासमा ‘अविरल बग्दछ इन्द्रावती’ नेपाली ग्रामीण परिवेशलाई चित्रण गर्ने सशक्त सिर्जना हो । यो भन्दा पहिला लेखिएको ‘सुनौली’ र पछि लेखिएको ‘सागर उर्लन्छ सगरमाथा छुन’ क्रमशः यौनमनोविश्लेषण र सांस्कृतिक पहिचानका सवालमा केन्दित रहेर सामाजिक विषयलाई उठाइरहेका छन् ।
केही प्रतिनिधि सामाजिक यथार्थवादका प्रयोगलाई साङ्केतिक रूपमा लिऔं । ‘एउटा बुुढो बकैनाको रुख’ तत्कालीन निरङ्कुश शासन व्यवस्थामा व्यवस्था विरोधीप्रतिगरिएको क्रूर व्यवहारको चित्रण हो । बकैनाको रुख, बा र बालक कथाका मुख्य पात्र, त्रिकोणीय परिवेशमा छन् । बकैनाको रुख निरङ्कुश इतिहासको स्थिर साक्षी हो, उसमा कैयन युवाहरूलाई झुन्ड्याएको हुनसक्छ । वा सरकारी नूनको सोझो गर्ने तर सङ्क्रमण मनको पात्र हो । बालक भने उत्साह, उत्सुकता र उघ्रिन लागेको चेतनाकोझिल्को हो । २०१९ साल सेरोफेरोमा लेखिएको कथाले पञ्चायत व्यवस्था÷पूर्ण राजतन्त्रको निरङ्कुशताको बिम्ब उतारेको छ ।
‘नयाँ सडकको गीत’ नयाँ सडकका दैनिकी विविधताको चित्र उतार्ने सामाजिक यथार्थको चित्र हो । सडकमाथि धेरै थरिका मानिसहरू दैनिक रूपमा हिडिरहेका छन् तर सडक स्थिर छ, उसले गति–प्रगति देख्न पाएको छैन । रीतिथिति बदलिएको छैन, व्यवस्था अवस्था उही छ, नयाँ सडकको नियति उही छ । दृष्टिबिहीन पात्र र उसकी सानी घोचपोच, दया, उपहास, गिज्याइ, घृणा र घु¥याइ सहेर माग्नेको रूपमा बसिरहेको छ ।
‘गरिब’ नेपालको ग्रामीण समाजको यथार्थ चित्र हो, जहाँ सम्भ्रान्त मुखिया साहेव र गरिब सामान्य मानिस मानबहादुर शोषक र शोषितको भूमिकामा छन् । २००६ तिरको समाजलाई कथा परिवेशले हुुबहुु बोकेको छ । त्यतिखेरको नेपाली ग्रामीण समाज केही मुखिया साहेवबाट कैयन मानबहादुर, बाटुुलीहरू थातथलो, घरवास, श्रीसम्पत्ति अरूलाई सुम्पिन बाध्य थिए ।
‘सिँगारी बाख्रो’ पण्डितनीको दाइजो बाख्रोको दारुणिक तर वास्तविक कथा हो । सिँगारी बाख्रोले वर्षेनी २, २ पाठाहरू दिइन्जेल मायाको दाइजो थिई, पण्डित र पण्डितनीको उसप्रतिको व्यवहार मायालु थियो, स्याहारसुसार पाउथी तर जब बुढी भै वेतबसी, उपेक्षाकी वस्तु बनी । उसको उपयोगिता सकिएपछि अन्ततः दश रुपैयाँमा बगरेलाई बेचिई, पण्डितनीलाई दाइजोको माया पनि भएन, भावनाको सम्बन्ध पनि देखिएन । कथाले पशुमनोविज्ञानको वर्णनले मानिसको निर्दय, निष्ठूरता र उपयोगितावादको सटिक चित्रण गर्दछ । ग्रामीण मध्यमवर्गीय समाजमा यसखालको प्रवृत्तिको विगविगी नै देखिन्छ । ‘सिँगारी बाख्रो’ का सिँगारी, पण्डित र पण्डितनीको प्रवृत्ति विश्लेषणले सामाजिक यथार्थको निख्खर बिम्ब उतारेको छ । ‘गरिब’ ‘नयाँ सडकको गीत’ र ‘लाहुरी भैंसी’ जस्तै यो कथा सामाजिकताको आयाममा अव्वल छ ।
‘बमको छिर्का’, ‘विरानो देशमा’, ‘मेरी सानी भतिजी प्रतिमा’, ‘मधुमालतीको कथा’, ‘लाहुरी भैंसी’, ‘नयाँ सडकको गीत’, ‘सुवेदार रणे बुढो’, ‘तर कोपिला फक्रेन’ ‘कमल’‘दुुई रुपियाँ नोट’, ‘वीरेकी आमा’, ‘बमको छिर्का’, ‘भन्ज्याङको चौतारो’ सामाजिक यथार्थतालाई प्रतिबिम्वन गर्ने उत्कृष्ट कथाहरू हुन् । विकलका पहिलो चरणका कथाहरूमा सामाजिक पक्षको सघन प्रयोग छ, जसले उनको प्रमुख प्रवृत्ति प्रगतिवादको आधार दिएको छ । २००७ सालको क्रान्तिले नेपाली समाजमा ल्याएको परिवर्तनका भावभूमि कथामा देखिएका छन् । विकलको पहिलो कथा सङ्ग्रह ‘विरानो देशमा’ र दोस्रो कथा सङ्ग्रह ‘नयाँ सडकको गीत’ मा समावेश कथाहरूले उनलाई सामाजिक चित्रकारका रूपमा चिनाएको छ । ग्रामीण अद्र्धशहरी समाजको अनुुभूतिलाई टिप्न सकेका कारण नै उनका यी कथा कालजयी छन् र त्यस पछिका कथा सङ्ग्रह ‘एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा’ ‘आज फेरि अर्को तन्ना फेरिन्छ’, ‘उर्मिला भाउजू’, ‘अगेनाको डिलमा’ र ‘शव, सालिक र सहस्र बुद्ध’ मा सामाजिक चेतना जगाउने आधार बन्यो । अर्को शब्दमा तिनले प्रागतिक धार पक्डिन सके । यस अर्थमा पहिलो चरणका कथामा टिपिएको सामाजिक यथार्थताको पृष्ठभमिमा पछिल्ला चरणका कथाहरूले प्रागतिक र यौन÷मनोविश्लेषणत्मक धार पक्डिएका छन् ।
विकलका तीन उपन्यास ‘सुनौली’ (२०३१), ‘अविरल बग्दछ इन्द्रावती’ (२०४०) र ‘सागर उर्लन्छ सगरमाथा छुन’ (२०५२) सामाजिक यथार्थमा आधारित छन्, उपन्यासको कथा परिवेश, पात्र, विषय र घटना सामाजिकताका चित्र हुन् । तर समयचेतका आधारमा भने फरक छन् । ‘सुनौली’ लेखिएको सेरोफेरो नेपालमा शहरीकरणको प्रक्रिया सुरु भएको, गाउँ र शहरबीच विभेद भै ग्रामीण बासिन्दामा शहरप्रतिको उत्कट मोह र प्रदर्शन प्रभाव पार्ने समयको कथा हो । त्यतिखेर शहर भनेको सुविधा र अवसरको केन्द्र हो, गाउँ दुःख र परिश्रम गर्ने ठाउँ हुन् भन्ने भावना व्याप्त थियो । त्यसै कारण सुनौली जस्ती प्राकृतिक जीवनशैलीकी नारीमा शहरमोह तीव्र रूपमा बढ्न गयो । शहर हेर्ने, शहरी सुविधा भोग्ने र जीवनलाई सुखसयलमा बिताउने भावना जाग्यो, लालसा र आशक्ति चुलिए, आकाङ्क्षा थपिदै गए । तर शहरमा जीवन जिउने स्वभाव र सीप सामथ्र्य भने सुनौलीमा थिएन । परिणामतः शहरको यात्राका दिनदेखि चारित्रिक रूपमा च्यूत हुँदै गई र अन्ततः त्यस्तो अवस्थामा पुुगी जहाँबाट ऊ न पृष्ठभूमिको ग्रामीण सुनौली बन्न सकी न शहरकी सुन्दरी । सङ्क्रमण सङ्क्रमणमै उसको जीवन वित्यो, सङ्घर्षको साहस भएन । शहरको विकृतिले गाउले जीवनलाई कसरी तहसनहस गर्छ भन्ने दृष्टान्त बनेको छ उपन्यास । तीसको दशकमा नेपाली समाजमा देखिएको शहरी प्रदर्शन प्रभावको दृष्टान्त पनि हो सुनौली ।
तर ‘अविरल बग्दछ इन्द्रावती’ सुनौलीभन्दा नितान्त भिन्न कथावस्तु, परिवेश र समयचेतको उपन्यास हो । दुवैले सामाजिक यथार्थतालाई चित्रण गरेपनि यी दुुईबीच धेरै कुरामा भिन्नता पाइन्छ । सुनौलीभन्दा करिव दश वर्षपछि प्रकाशित भएकोले होला चेतनाको तह फरक छ । पात्रहरू निकै प्राकृतिक छन्, तर सामाजिक न्याय र सशक्तीकरणको चेतना छ । त्यस्तै चरित्र कार्य परिपक्व छन् । सामाजिक सङ्क्रमण दुवैको विषय भए पनि सुनौलीले निजत्वको आनन्द खोजिहेको छ, ‘अविरल बग्दछ इन्द्रावती’ ले सामाजिक आनन्द (न्याय) खोजिरहेको छ । सुनौलीमा मनभित्रको मानिस त्यत्तिकै छटपटाइरहेको छ, ‘अविरल बग्दछ इन्द्रावती’ मा भौतिक व्यवहार वा देखिएको मानिसको छटपटाहट छ । ‘अविरल बग्दछ इन्द्रावती’ ले तत्कालीन समाजको शासकीय व्यवहारलाई पनि चित्रण गर्दछ । काजी खलक समाजका धनीमानी, राजनैतिक–आर्थिक प्रभावका हैसियत भएका मानिस हुन् । हैसियत र प्रभावको आडमा माझी परिवार शोषित छ, पीडित छ । उपन्यास लेखिएको समय पञ्चायत व्यवस्था जनमत सङ्ग्रहमा विजय भएपछि पञ्चहरू झनै कठोर बन्दै गएको समय हो । एकतिर समयको गतिसंग इन्द्रावती निरन्तर बगिरहेको छ, तर अर्कोतर्फ इन्द्रावतीको किनारको बस्तीले समयको गतिशीलतालाई पक्डिन सकेको छैन, पक्डिन दिइएको छैन । समय र समाज किन साथसाथै गतिशील छैनन् भन्ने प्रतीकीय प्रयोग उपन्यासले गरेको छ । समाजलाई समयसंग प्रवाहित हुन नदिने अवरोधक काजीहरू हुन्, लामो समय त शोषण–उत्पीडन सहेर बसेका माझीहरू पनि यसका अवरोधक थिए । तर सोभिते लगायत माझीका युवापुस्तामा देखिएको चेतना, चेतनाले जगाएको विद्रोहले उपन्यासलाई सामाजिक यथार्थवादीका साथसाथै प्रागतिक आधार पनि दिन पुुगेको छ ।
‘सागर उर्लन्छ सगरमाथा छुन्’ शासन व्यवस्थाका आडमा प्रभावशाली व्यक्तिहरू कसरी साधन स्रोत र समाजका अवसरहरू हडप्छन् र यसका लागि अनैतिक काम पनि गर्न पछि पर्दैनन् भन्ने तत्कालीन पञ्चायत व्यवस्थाको शक्ति अभ्यासको छोपिएको पाटोलाई उघारेको छ । शक्ति र स्रोतको अभ्यासका लागि उच्च ठानिएका वर्ग जे गर्न पनि पछि पर्दैन, मूर्ति, लागूपदार्थ, सुन तस्करी लगायतका काम गर्दछ । सम्बन्ध विस्तार पनि यस्तै अवैध कामका लागि गर्दछ । दरवार तथा उच्चपदस्थ व्यक्तिहरूबाट अवैध क्रियाकलापका लागि संरक्षण छ । अवैध क्रियाकलापले संस्कृति र सामाजिक संस्कारलाई क्षत विक्षत पारेको छ, नेपाली मौलिकता विस्थापन गरेको छ । उपन्यासमा शहरी जीवनशैलीको आर्थिक, सामाजिक र सास्कृतिक विकृतिका साथै शासकीय विसङ्गतिलाई उदाङ्गो पारेको छ ।
विकलका नाटकहरू पनि सामाजिक विकृति–विसङ्गति चित्रण गर्न कथाकै बाटो समाउछन् । ‘आज एउटा घर भएको भए’, ‘मान्छे, वैभव र मृत्युु’, ‘यी विनाशका पुजारी’, ‘दोस्रो पुस्ता’, ‘त्यो रोमाञ्चक रात’ लगायतका नाटकहरू सामाजिक यथार्थवादमा भिजेका छन्् । नियात्रा÷निबन्धहरू लेखन संरचनाका दृष्टिमा पनि लेखकीय स्वतन्त्रताको बढी नै उपयोग गर्दछन् । त्यसैले तिनीहरू पनि सोसल पोट्र्राएल सहजै हुने भए । कथा, उपन्यास र नाटकमा भन्दा निबन्धहरू स्वभावैले लेखकीय भावनालाई अभिव्यक्त गर्न सफल हुन्छन्, विश्लेषण र व्याख्याको कारण ‘सात सूर्य एक फन्को’ र आत्मसंस्मरण ‘मेरो अविरल जीवनगीत’ सामाजिक यथार्थको विश्लेषणमा सफल छन् । तर कथा वा उपन्यासको प्रभाव भने निबन्ध, संस्मरणमा रहने भएन ।
अग्रज समालोचकहरू पनि रमेश विकल सामाजिक यथाथर्थवादी सर्जक रहेको उल्लेख गर्दछन् । दयाराम श्रेष्ठले विकललाई ‘नेपाली समाजका यथार्थवादी चित्रकार’ भनेका छन् । तारानाथ शर्माका अनुसार विकल आफ्नै समाजको बारेमा र आफ्नै युुगका बारेमा इमान्दारीपूर्वक प्रगतिशील पक्षलाई अँगालेर लेख्दछन् । प्रतापचन्द्र प्रधान भने गुरुप्रसाद मैनाली झै विकल पनि निम्न र निम्नमध्मवर्गीय जन–जीवनमा आधारित कथा लेखी समाजका द्रष्टा र चित्रकार बनेका छन् भन्ने गर्छन् । खगेन्द्रप्रसाद लुुइटेल अनुसार विकल आफ्ना कथामार्फत सामाजिक यथार्थलाई प्रस्तुत गर्दछन् र समाजका सामाजिक, सांस्कृतिक र आर्थिक समस्यालाई अत्यन्त सटिक रूपमा चित्रण गर्दछन् । डा.ईश्वर बरालका अनुसार विकलमा समसामयिक समाजमा हुनथालेका पारिवारिक विघटन औं मानिसका पारिस्परिक सम्बन्धभञ्जनका अनेक पक्ष पाइन्छ ।
विकलका सिर्जना परिवेश मूलतः गरिबी र विपन्नताको ग्रामीण जीवन हो । मानिसको दैनिकी र भोगाइलाई सजीव रूपमा चित्रण गर्न विकाल कुुसाग्र छन् । सिर्जनाका पात्र पनि ग्रामीण जीवनको यथार्थ प्रतिनिधित्व गर्दछन् । वीरे, मानबहादुर, मखिया साहेव, सावित्री, सोभिते, सावित्री, सुनौली, लालगेडी, जैमाने, भीमे, मास्टर गिरी, पण्डितनी, लुखे, घैटी न्हुछेमाया, गोपी, साइँलो, कान्छियाँ, भुण्टे, सुब्बा बाजे, लुरे, काजीसाव सामाजिक तहसोपान अनुरूपको नाममा छन्, नाम अनससरको काम गर्दछन्, उनीहरूको सामाजिक अवस्था र व्यवहारलाई पनि नामले नै प्रतिनिधित्व गर्दछ । मेलापात, मजदूरी, पारिवारिक झगडा, ख्याल ठट्टाजस्ता भोगिँदा कुराहरूले कथा गतिशील हुन्छ, त्यसैले ती कत्तिपनि बनावटी जस्ता लाग्दैनन् । यसर्थ रमेश विकल आफ्ना सिर्जना, विशेषतः आख्यानमा गुरुप्रसाद मैनालीले भित्र्याएको सामाजिक यथार्थतालाई समृद्ध बनेउने मूर्धन्य हस्ती हुन् । तर भुल्न नुहने कुरा के हो भने सामाजिक यथार्थवादको धरातलमा उभिएर प्रगतिशीलताको आधार खडा गर्नु विकलको सिजना प्रवृत्ति हो । सामाजिक यथार्थवादको उन्नत स्वरूप प्रगतिवादमा रूपान्तरित हुन्छ भन्ने विकलका रचनावृत्तिले सिद्ध गरेको छ ।