काठमाडौँ – इजिप्ट र कुवेतले इरान र अमेरिकाबीच बढ्दो क्षेत्रीय तनाव कम गर्न तथा कूटनीति र वार्ताको प्रक्रियामा तत्काल फर्कन आग्रह गरेका छन् । इजिप्टको परराष्ट्र मन्त्रालयकाअनुसार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र कुवेती समकक्षी शेख जर्राह जाबेर अल–अहमद अल–सबाहबीच शनिबार भएको टेलिफोन वार्ताका क्रममा उक्त आह्वान गरिएको हो । दुई मन्त्रीहरूले द्रुत रूपमा विकसित भइरहेका क्षेत्रीय घटनाक्रम र वर्तमान तनावलाई नियन्त्रण गर्ने उपायहरूबारे विस्तृत छलफल गर्नुभएको थियो । छलफलका क्रममा दुवै देशका मन्त्रीहरूले इरान र अमेरिकाबीचको वार्तालाई पुनः शुरु गर्नु अहिलेको प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले गत जुन १८ मा दुई देशबीच भएको समझदारी पत्रलाई वार्ताको आधार बनाउनुपर्ने उल्लेख गर्दै यसले यस क्षेत्रलाई थप अस्थिरता र तनावबाट जोगाउन राजनीतिक समाधान प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
विज्ञप्तिमा जनाइएअनुसार मन्त्रीहरूले क्षेत्रीय सुरक्षाका चुनौतीहरूबारे विचार आदानप्रदान गर्दै तनावका सबै स्रोतहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । उनीहरूले असल छिमेकीपन, राज्यहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान तथा एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तलाई पुनः पुष्टि गरेका छन् । साथै, जुनसुकै विवादलाई पनि शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ ।
यसअघि भएको समझदारी अनुसार, यस क्षेत्रमा जारी तनाव अन्त्य गर्न तेहरान र वासिङ्टनबीच ६० दिनभित्र वार्ता हुनुपर्ने प्रावधान थियो, जसको समयसीमा गत अगस्ट १७ मा समाप्त भइसकेको छ । तर पछिल्लो महिना दुई देशबीच बढेको नयाँ तनावका कारण प्रस्तावित वार्ताको भविष्य अझै अनिश्चित देखिएको छ ।
