बुधबार, बैशाख २६, २०८१

अमेरिकी नेपाली आँखामा नेपालको इम्बोस्ड नम्बर प्लेट


  • माउन्टेन खबर
  • आइतवार, भदौ २१, २०७७
  • 2.2K
    SHARES

अमेरिकी नेपाली आँखामा नेपालको इम्बोस्ड नम्बर प्लेट   – राम लामा अविनाशी

 

रहरले भनौँ या बाध्यताले हामी करिब चार लाखभन्दा बढी नेपाली अमेरिकी भूमिमा हातखुट्टा बजारिरहेका छौँ । पसिना चुहाइरहेका छौँ । कडा परिश्रम गरेरै भए पनि आरामदायी गाडीमा हुइँकिन्छौँ । जर्मन या जापानमा बनेका यी सुन्दर गाडीका म्युजिक सिष्टममा गीत भने नेपाली बज्छन् । दिनभरि कामले लखतरान परेको शरीर आरामदायी  महँगो पलङ्गमा भुसुक्क निदाउँछौँ तर सपना भने नेपालकै र नेपालीमै देख्छौँ । विकासको चुली चुमेको देश अमेरिकाको रङ्गमन्चमा दिन अनि रात बिताउँछौँ तर सम्झना भने आफ्नै जन्मभूमि र त्यहाँ रहेका रगतको नातादार तथा भावनाका नातेदारहरूको हुन्छ ।

त्यही सम्झना मेटाउन नेपालका जस्तै गतिविधि गर्न अनेकौँ सङ्घसंस्था खुलेका छन् । मठमन्दिरहरू बनेका छन् । हरेक नेपाली चाडबाडहरू भव्यताका साथ मनाइन्छ । विभिन्न उद्देश्यले खुलेका सङ्घसंस्थामध्ये भाषा तथा साहित्यका लागि काम गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज खुलेको छ । विश्वभरका करिब १२ सय सदस्यहरूले हालै सम्पन्न निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । नेपाली भाषा तथा साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न कटिबद्ध छ यो संस्था ।

अमेरिकाको वाशिङ्टन राज्यका कमिसनर मोहन गुरुङको पहलमा त्यहाँको स्कुल तथा कलेजहरूमा नेपाली भाषा पढ्न पाउने व्यवस्था भएको छ । भर्जिनियास्थित अमेरिका–नेपाल सहयोगी समाजले नेपाली पाठ्यपुस्तक प्रकाशन गरेको छ । जुन विश्वभरिका डायस्पोरिक बालबच्चाहरूले पठनपाठन गर्ने नेपाली पुस्तक बन्दैछ । जुन कार्यको संयोजक शिव लामिछने रहनुभएको छ ।

एकातिर विदेशमा रहने नेपालीहरू नेपाली भाषाको सम्बर्धन र प्रबर्धनमा यतिबिघ्न खटिरहेका छन् भने नेपालको सरकार नै नेपाली भाषालाई कहिले बिगार्नतिर उन्मुख देखियो त अहिले नेपालका सवारीसाधनहरूको नम्बर प्लेटमा नेपाली अक्षर नै हटाउन प्रयत्नरत देखियो । नम्बर प्लेटमाअङ्ग्रेजी भाषाको मात्र प्रयोग गर्ने फैसला ग¥यो सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमेतको इजालसले । २०७६ मङ्गसिर २७ गतेका दिन । दुःख मात्र लागेन । सर्वोच्चको यो फैसलाप्रति घिन पनि लाग्यो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको व्यापक विरोध भइरहेको छ । विशेष गरी प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल खरो रूपमा घोर आपत्ति जनाउँदै तीव्र विरोध गरिरहेको छ । उक्त सञ्जाललाई सहमति जनाउँदै विश्वभरिबाट व्यापक विरोध भइरहेको छ । एमफिल र पिएचडीका विद्यार्थीहरु,नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा, नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावल, सांसद् जयकुमार राई,अन्य विभिन्न सङ्घसंस्थाहरुलगायत नेपालकै विशिष्ट व्यक्तिहरूबाट पनि विरोध भइरहेको छ ।

कैयौँ राष्ट्रप्रेमी राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको समर्थन गर्दै सर्वोच्चको पछिल्लो फैसलाकोे ठाडो विरोध गरेका छन् तर नेपालमा च्याउझैँ उम्रेका अधिकांश सङ्घसंस्थाहरूको खासै प्रतिक्रिया सुन्नमा आएको छैन । राष्ट्रको भाषालाई ओझेलमा पार्न खोज्ने अराष्ट्रिय कुतत्वहरू यसप्रति मुकदर्शक बनेर बस्नु असाध्यै दुखलाग्दो कुरा हो ।

इम्बोस्ड नम्बर प्लेट बनाउँदा लाग्ने खर्चमा आफ्नो कमिसन जोड्नु स्वाभाविकै मान्नुपर्छ । नानीदेखि लागेको बानी हो यो तर नेपाली भाषा बिगार्दै लगेर अन्ततः लोप गराउने षड्यन्त्र गर्ने तत्वहरू भने राष्ट्रघाती हुन् ।

त्यस्तै षड्यन्त्रकारीहरूले विगतमा अमानक नेपाली भाषाका शब्दकोश र पाठ्यपुस्तकहरू प्रयोगमा ल्याएका थिए । त्यो बेलामा पनि मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको कुशल नेतृत्वमा सम्पूर्ण टिम अहोरात्र खटेर शब्दकोश र पाठ्यपुस्तकहरू सच्याउने काम भएको थियो । त्यो बेलादेखि नै सो सञ्जाल तमाम देशभक्त नेपाली जातिको धन्यवादको पात्र बनिसकेको छ ।

आधुनिकतासँगै अन्तर्राष्ट्रिय स्तरमा उभिन खोज्नु राम्रो कुरा हो तर आफ्नो राष्ट्रको पहिचान नै मेटाएर होइन । इम्बोस्ड नम्बर प्लेटको प्रयोग गर्नु राम्रो कुरो हो । यसले सवारी साधनलाई ट्र्याकिङ्ग गर्न सहज हुन्छ जसले गर्दा आपराधिक गतिविधिमा पनि कमी आउन सक्छ तर त्यसमा नेपाली भाषाको प्रयोग नगरिनुले प्रश्नचिन्ह खडा गरेको छ । यसको कारण पत्ता लगाउने प्रयास गर्दा धेरै विदेशी आउने देश भएकोले उनीहरूको सहजताको लागि यसो गरिएको हो भनी अदालतको निर्णयका पक्षधरहरूको तर्क (कुतर्क) रहेको देखियो ।

सन् २०१९ को आँकडाअनुसार अमेरिकाबाट करिब १२०००, चाइनाबाट करिब १५००० र बङ्गलादेशबाट करिब ३७०० पर्यटकहरू नेपाल भित्रिएका थिए । यी तीनै देशमा फरकफरक लिपि छन् । अब सबैका लागि छुट्टाछुट्टै लिपिको नम्बर प्लेट बनाइदिन सकिन्छ त ?

अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले त्यसो गरिएको हो भन्ने तर्क आउनसक्छ । नम्बर प्लेट मात्र किन सवारीसाधनहरू पनि अन्तर्राष्ट्रिय स्तरका प्रयोग गरौँ न । सवारीसाधन मात्र किन सडक र सडकका ट्राफिक लाइट र क्यामराहरू पनि अन्तर्राष्ट्रिय स्तरका जोडौँ न । सडकमा लेखिएका साइनबोर्डहरू नेपालीमा काम लाग्ने अनि नम्बर प्लेटचाहिँ अङ्ग्रेजीमा हुनुपर्ने ?

सन् २०१९ को आँकडाअनुसार चाइनामा करिब ४१५ मिलियन, जापानमा करिब ३२ मिलियन, दक्षिण कोरियामा करिब १७ मिलियन विदेशी पर्यटकले भ्रमण गरेका थिए । तर यी तीनैवटा देशले विदेशीको लागि सहज होस् भनी आआफ्नो देशका सवारी साधनहरूको नम्बर प्लेट अङ्ग्रेजीमा हुनुपर्छ भन्ने जरुरी ठानेनन् ।

हाम्रो देश नेपालका नेता र शासकहरू कति धेरै जान्ने हुनुपरेको ? सो अबधीमा जावो करीब १ मिलियन पर्यटक भित्रिएको देश नेपालले पर्यटकहरूका लागि नम्बर प्लेट नै फेर्नुपर्ने जरुरी ठाने । ‘सब थोक छोडी पुछरमुनि हात’ भनेझैँ पर्यटकलाई सेवासुविधा दिनलाई सुधार्नुपर्ने कुराहरू यावत् छन् । उनीहरूलाई नम्बर प्लेटमा नेपाली अक्षर हटाउनु नै पर्यटन क्षेत्रमा बाजी मारेको महसुस भएको जस्तो छ ।

अमेरिकामा करिब ४ लाख  भन्दा बढी नेपालीहरूको बसाइ छ । त्यो पनि स्थायी बसोबास । नेपालीको लागि नम्बर प्लेट नेपाली अक्षरमा राख्नु पर्ने नि अमेरिकाले, राखेको छैन र राख्दैन पनि किनकि राष्ट्रियता भनेको भूगोलको नक्साभित्र पर्ने भूमि मात्र होइन भाषा, कला, संस्कृति, सभ्यताको एकमुष्ट रूप पनि हो ।

त्यसैले त पौराणिकता, स्वाधीनता र स्वाभिमान रक्षा गर्न सकेका देशहरूले मात्र उक्त कुराहरू बचाएर राख्न सफल छन् । त्यसैको दरिलो उदाहरण हो नेपाल, जोसँग सनातन धर्मको सबैभन्दा पुरानो संस्कार अविरल बगिरहेको छ । त्यस्तै उदाहरण चाइना, कोरिया, जापान, अरब पनि हुन्, जोसँग आफ्नै परम्परागत संस्कार र सभ्यता छ ।

सन् १४९२ मा इटालियन नागरिक क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाए । हालसम्म आइपुग्दा अमेरिकाको आफ्नो भन्ने झन्डा र राष्ट्रियगान मात्रै छ । भाषा पनि आयातित नै हो भन्दा फरक नपर्ला । रेड इन्डियन्स र आमिशहरू आफ्नो संस्कार र सभ्यता भएका समूह हुन् । अझ आमिशहरूले त आधुनिक विकासका साधन र सुविधाहरूको प्रयोगसमेत गर्दैनन् । त्यही सानो समूहभित्र मात्रै आफ्नो दिनचर्यालाई सीमित राख्दछन् जुन संस्कार अमेरिकाको राष्ट्रिय संस्कार बन्न सकेन ।

सन् १६०६ मा जर्मन नागरिक विलियम जन्सजुमले पहिलो पटक अस्ट्रेलिया पत्ता लागाए । पछि सन् १६१६ मा क्याप्टेन जेम्स कुक र डिर्क हारटोग सहरभित्र छिरे र त्यहाँका आदिवासीेहरूलाई भालाले रोपीरोपी मार्न सुरु गरे । त्यसपछि ब्रिटिस र जर्मनहरूको बाक्लो उपस्थिति बढ्दै गयो, आधिपत्य जमाउँदै गए । हाल त्यहाँका आदिवासीहरू नगण्य सङ्ख्यामा बाँकी छन् । पर्थको एउटा टोलमा र सिड्नीको रेडफर्नमा म आफैँ पुगेर भेटेको छु । त्यहाँको सरकारले उनीहरूको संरक्षण होइन पतन चाहेकोजस्तो भान हुन्छ ।  उनीहरूको अन्त्यसँगै अस्ट्रेलियन ओबुर्जिनी संस्कारको पनि विलय हुँदैछ ।

हामी नेपाली आफूलाई यस अर्थमा भाग्यमानी ठान्नुपर्छ कि, हामी त्यस्तो बाहिरी आक्रमणबाट सखाप हुनु परेन । नेपाल आर्थिक रूपमा सम्पन्न नभए पनि, विकसित नभए पनि, कला संस्कार र संस्कृतिमा बेस्सरी धनी छ । यसलाई बचाउनु तपाईं हामी सबै देशभक्त नागरिकको जिम्मेवारी हो । उक्त गौरव बेच्न खोज्ने देशद्रोहीलाई इतिहासले पनि माफ गर्ने छैन ।  हुनत, राजनीतिमा सबै मान्य हुन्छ । विरोधीको टाउको छप्काउने, प्लेन अपहरण गर्ने, १७ हजारलाई मारेर तिनै लासमाथि दौडिँदै सत्तामा पुग्ने सबैसबै जायज भए ।

मन नै कटक्क खाने कुरा त यहाँनिर छ, जब अधिकांश ठूला भनाउँदा नेताहरूले राष्ट्रघात गरे । मेची, महाकालीजस्ता राष्ट्रघाती सन्धिसम्झौताहरू गरे । हुँदाहुँदा अब त, धर्मप्रति पनि आक्रमण सुरु भयो । वेद, महाभारत, रामायणजस्ता ग्रन्थहरू राख्ने ठाउँमा बाइबल र कुरान भेटिन थाले ।

अनादिकालदेखिको संस्कारलाई बाइबलसँग साटे । हुनत यसको दोषी त्यस्ता दलाल मात्रै होइनन्, आफूलाई धर्मका ठेकेदार ठान्ने पण्डित र पुरेतहरूको अहंता पनि उत्तिकै जिम्मेवार छ जसले समाजमा विभेद सिर्जना गरे । यो शास्त्रविद् र धर्मविद्हरूको पनि ठूलो चिन्ताको विषय बनेको छ ।

नेपालको सरकारी कर्मचारी र नेताहरूको पोसाक विशिष्ट थियो, छुट्टै पहिचान थियो । दुनियाँभन्दा अली फरक । सुन्दर भेषभूषा । संसद्मा जाँदा दौरासुरुवालमाथि कोट त्यसमाथि ढाका टोपी । अनि पो सांसद्को व्यक्तित्व झल्किन्थ्यो । अहिले धोती कुर्थामा हिंड्ने सभासद् र टोलटोलमा फलफूल बेच्ने बिहारी भैयाको व्यक्तित्व उस्तै लाग्छ । छुट्ट्याउनै गाह्रो । के बिगारेको थियो त्यो दौरासुरुवालजस्तो सुन्दर पोसाकले र हटाइयो ? सुट, टाई अनि स्पोर्ट सुज त्यसमाथि ढाका टोपी कति हास्यास्पद । टाई पनि अलि राम्रोसँग बाँध्न सिके त हुन्थ्यो नि ।

जापानको क्योटो, नारा, आशाकुसाजस्ता विभिन्न पर्यटकीय स्थलहरूमा जापानको राष्ट्रिय पोसाक किमोनो भाडामा राखेको हुन्छ । गर्वसाथ पर्यटकहरूले पनि पैसा तिरेर लगाएर फोटो खिन्छन् । मैले पनि खिचेको थिएँ । मैले मात्र होइन मेरी उनीले पनि । फेसबुकमा गर्वसाथ पोस्ट गरेका थियौँ ।

यासुकी सानले आफ्नो सुन्दर गाडीमा घुमाउनु भयो । मेरी उनी र मैले उहाँको त्यो सुन्दर लेक्सस गाडीको नम्बर प्लेट देखिने गरी फोटो खिच्यौँ । नम्बर प्लेटलाई बीचमा पारेर हामी दुईतिर बस्यौँ अनि फोटो खिच्यौँ  विभिन्न पोजमा  । ती फोटा सम्झनाका लागि सुरक्षित राखेका छौँ । जीवनको अन्त्यतिर विगतमा फर्किंदा जापानको याद गराउने छ त्यो नम्बर प्लेटले किनभने त्यहाँको नम्बर प्लेटमा जापानी अक्षर हुन्छ । कुनै नयाँ देशमा जाँदा सम्झनाका लागि फोटो खिच्ने यो सही छनौट होजस्तो लाग्छ मलाई ।

यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । अफ्रिकाबाहेक अन्यत्रका सबै मुलुक घुमेर सिध्याएको यो ज्यानको मन मुटुभित्र भिन्नभिन्न देशका भिन्नभिन्न रहनसहन, भेषभूषा, खानपिन, बोलिचाली आदिका मिठा छापहरू बसेका छन् । उस्तै रहनसहन, भेषभूषा, भाषा, कला, संस्कार र  संस्कृति विश्वभरि हुने हो भने मान्छेहरू किन अर्को देशमा घुम्न जान्छन् ?  भिन्न खालको भाषा, भेषभूषा, संस्कार र संस्कृति कुनै पनि देशको आफ्नो पहिचान हो । हाम्रो नेपालको पनि ।

यसको संवर्धन र प्रवर्धन गर्न हामी परदेशमा पनि कटिबद्ध भएर लागिपरेका छौँ तर सिङ्गो देशको पहिचानका सबै खजनाहरूलाई सरकार आफैँले बिस्तारै मेटाउन खोजेको पुष्टि सर्वाेच्चको यो फैसलाले गरेको छ ।

यस्तो क्रियाकलाप जनताले गर्दा कडाभन्दा कडा सजाय गर्नुपर्ने सरकार आज आफैँ जनताको कठघरामा उभिएको छ । लाचार देखिन्छ विदेशीहरूको इसारामा नाच्नुपर्दा । नत्र यो नम्बर प्लेटमा आफ्नो मातृभाषा हटाइनुको पछाडि के रहस्य हुन सक्ला र ? इम्बोस्ड नम्बरप्लेटमा कमिसनको खेल कि भाषाको किनबेच ?

राम लामा अविनाशी

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }