शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अपहृत आस्था र निमोठिएका सपना (घाउ आँफैँलाई दुख्छ बाट )


  • गोपी मैनाली
  • शनिबार, अशोज ८, २०७९
  • 497
    SHARES

अपहृत आस्था र निमोठिएका सपना

-गोपी मैनाली

आमाले तिमी ठूलो मानिस बन्नु बाबु, धेरै पढ्नुपर्छ भन्दा के भए ठूलो मान्छे बन्न सकिने होला, कति पढे धेरै होला भन्ने थाहा नभइकनै मनका सपना दैडिए । रोशीबाट तिमाल महाभारत हुँदै झन् माथितिर दौडिएको कुहिरोजस्तै सपनाहरू उकालो लाग्न थाले । ठूलो दाजुले कखरा पढाउँदा पनि अब त पक्कै ठूलो हुने भइयो भन्ने अबोध दम्भले मन टन्न भए ।

सपनाका बयेली निरन्तर बढ्दै गए । मनमनै धेरै पढें, ठूलो र ज्ञानी पनि भएँ । नपढीकन पढें, नबुझीकन ज्ञानी बनें, ठूलो नभईकन ठूलो पनि बनें । स्वैरकल्पनामा रमाउनुको मज्जै अर्को । कुनै कुराको अर्थ नबुझीकन त्यसको आस्वाद लिँदा आहा कति मजा !

सपनाहरू स्थिर हुँदैनन् । सपनाले कोल्टे फेर्न थाल्यो । ‘नानीको कथा’बाट विज्ञान, गणित र कार्यालय सञ्चालनका पुस्तक झोलाभरि बोकेर धेरै पढ्ने सपनाको यात्रा सुरु भो । यात्राहरू जति पछिल्ला त्यति लामा र असजिला हँुदा रहेछन् ।

फिजिक्स पढेर प्राध्यापक–डाक्टर बन्ने सपना ! पद्मोदय माविमा श्याम सरले फिजिक्स पढाएको कति राम्रो… । विषयमा चुर्लुम्म डुबेर पढाउने । पढाउँदा पढाउँदै आफैं कति मुग्ध भएको ! कति आएको होला । कसरी जानेको होला । कति सरल होला । होइन– भगवान्कै वरदान हो श्याम सर ! पक्कै निकै ठूलो वैज्ञानिक भएको हुनुपर्छ । स्कुल छुटेपछि उहाँलाई फेरि देखेको पनि छैन ।

प्रवेशिका उत्तीर्णसँगै सपनाको अर्को क्षितिज उघ्रियो– अब त खरिदार बन्नुपर्छ । ठूलो दाजुले खरिदारबाटै जागिर सुरु गर्नु भाथ्यो । सरकारी सिन्दुर पर्नुको मजा नै अर्को ।

वृत्ति र पढाइ साथै लैजानुपर्ने बाध्यता तर अठार वर्ष नपुग्दै लोकसेवा जाँच दिन नपाइने । उमेरले प्रतीक्षा सूचीमा राख्यो । त्यो दिन पनि आइपुग्यो, खरिदार पास ! आफ्नै खुट्टामा उभिएर कलेज पढ्नुको अर्कै मज्जा ।

वृत्तिले पढाइलाई र पढाइले वृत्तिलाई बिगार्ने पो हो कि ? होइन– यज्ञले पनि त बिहान अमृत कलेज, दिउँसो खरिदार र बेलुका ‘आरआर’मा मानविकी पढेकै छ । आँटे के पुग्दैन ?

साथीको दायरा पनि फराकियो । सहरका साथी हामीलाई पाखे भनेर हेला गर्थे । मोटरसाइकल र कार चढ्दै पढ्न आउने साथीको शानै अर्को । लाग्थ्यो कार, मोटरसाइकल चढ्नेहरुले मलाई एकदुईचोटि लिफ्ट दिए पनि हुने नि ? होइन– लिट नदिएर के भो परीक्षामा जितेपछि सिक्न आउलान् नि । उनीहरूलाई त सधैं ब्याक लाग्ने गरेको छ ।

सपना देख्नेहरू ख्याउटे र मरन्च्यासे भए पनि सपनाहरू ख्याउटे हुँदैनन् । सपना देख्न अतिरिक्त धन र योग्यता पनि चाहिँदैन । मनभरि सपना, आँखाभरि स्वैर दृश्य र शरीरले चाहिँ मिहिनेतमा एउटा अन्त्यहीन यात्राको निरन्तरता । ख्याउटे शरीर, परालजस्ता खुट्टा, दबेको पेट, चाउरिएका निधार, दबेका आँखा, सर्लक्क कान छोप्ने कपाल, किशोरावस्था पार गर्दा नगर्दै कुप्रिएको… यो नै मेरो प्रतिबिम्ब !

कविता, निबन्ध र लेखहरूमा म नै पोखिन्थें । मनकै भावना पोखिन्थे । भावहरू छचल्किन्थे । अभावमै भाव आउने न हो । अक्षरमा दुख पोखिएर साहित्य बन्ने न हो ।

कति राम्रो काम गर्छ यो खरिदारले भनेर हाकिमले धाप मार्दा मन कति फुरुङ्ग हुन्थ्यो । त्यो फुरुङ्ग्याइँले अर्को एक महिना मच्चिएर काम गर्ने ताकत दिन्थ्यो । मनमनै सोच्थें– के मेरा साथीले कामै नगरिकन जागिर खाइरहेछन् ? किन हाकिमले उनीहरूलाई माया नगरेको होला ? काम नगरी किन चौर र मानेको चिया पसलमा झुम्मिएका हुन् साथीहरू ?

नायब सुब्बा पनि पास । स्वर्णिम सपनाको अर्को पटाक्षेप खुल्यो । भिभिआइपी लाउन्जको पोस्टिङ । राजारानीको राजकीय भ्रमण र अतिविशिष्ट व्यक्तिको स्वागतका लागि व्यवस्थापन गर्ने काम आफैंमा चुनौतीपूर्ण तर विमानस्थलको सिरानमा मगमग फूल बगैंचा, बीचमा अति सुरक्षाका साथ राजारानी र पाहुना बस्ने गोरखा हल, काष्ठमण्डप अनि भादगाउँ कक्ष । भित्ताभरि अमर चित्रकारका परम्परागत तेलचित्र अनि लैनसिंह वाङ्देलका एब्स्ट्य्राक्ट आर्ट । लाग्थ्यो– त्यहाँ प्रवेश पाउनु पनि भाग्य, आफू त त्यहींको कार्यालयप्रमुख सुब्बा साब ।

अगिल्तिर सिङ्गापुर, थाइ, एयर इन्डियाका जहाज सलल्ल्ल्ल अवतरण गर्ने । देख्दा पनि मनलाई कहाँ पु¥याउँथ्यो कहाँ । यी हवाइजहाज चढ्न पाए । भाग्य काटिएला कि भन्ने डरले नजिकै पुग्दा पनि हवाइजहाज छोइनँ । एक दिन कन्कर्ड आउँदा कौसीबाट आनन्दले हेरिबसेको थिएँ, पछिल्तिर फर्किंदा त राजा वीरेन्द्र र राजकुमार नीराजन पो दुर्बिनसमेत लिएर कन्कर्डतिर आँखा तेस्र्याइरहेका । सधैं राजाभन्दा दुई मिटर परमात्र उभिनुपर्ने दरबारको नियम, आज झन्डै छोएको । डरले खुट्टा थरर्र कामे, खुसीले मन भरङ्ग भयो ।

सार्क शिखर सम्मेलनको तयारी रेकी गर्न पनि राजा थाहै नपाई भिभिआइपी कक्ष आउन थाले । ड्युटी पनि आठ घण्टाबाट चढ्दै १०, १२ हुँदै १४ घण्टासम्म पुग्नथाल्यो । आफूले गरेको काम ठूलाबडाले देख्ने र स्याबासी दिँदा पनि मन कति फुरुङ्ग हुन्थ्यो । सार्क शिखर सम्मेलनको प्रवेशद्वार विमानस्थलको प्रमुख कर्मचारी । एकदिन कुन्नि के कुरामा विभागीय मन्त्रीलाई राजा अङ्ग्रेजीमा हकार्दै रहेछन् । त्यो सुन्नुको दोषले मन्त्रीले झन्डै हात छाडेथे । तँतँ र नानाभाँतीका गालीपछि नायब सुब्बाको जागिर राजिनामा दिनुको विकल्प रहेन । स्वर्णिम सपनामा निकै ठूलो आँधीको सामना गर्नुप¥यो । सपनाको बयेलीमा अजङ्गको पहाड तेर्सियो ।

स्नातक पास भएर अधिकृतको परीक्षासमेत दिइसकेकाले प्रतीक्षाको समय लामो भएन । अधिकृत भएपछि भने सपनाहरू खात लाग्ने र भत्किने अविरल यात्राको प्रारम्भ भयो । धेरै सपना आधाआधी नपुग्दै मरे, कतिलाई मार्न पनि बाध्य भएँ ।

पहिलो पदस्थापन हिमाली जिल्ला डोल्पा । प्राकृतिक रूपमा भर्जिन भए पनि डोल्पा गरिबी, भोक र विपन्नताको पनि उदाहरण थियो । उपयोग नभएका थुप्रै सम्भावनाको पौल । प्राचुर्यमा अभावको उदाहरण थियो डोल्पा ।

राजधानीमै बसेर इकोनोमिक्समा मास्टर डिग्री लिने सपना अब सम्भव नहुने पक्का भो । हिमाली जिल्लाको दुखद र कष्टप्रद जीवनशैलीको उठबसपछि सपनामात्र होइन– सोचवृत्ति पनि बदल्यो । डोल्पालीका जीवनका दुख आनै दुख लाग्न थाल्यो । काममा समर्पित हुँदै जाँदा दुखी जीवनमा द्रवीभूत हुँदै गएँ । जीवनले अब अर्कै मोड लियो ।

होइन महाकाली अञ्चलभन्दा ठूलो जिल्ला, निकै थोरै जनघनत्व, झन्डै शून्य अन्न उब्जनी । पाखापखेरु पदमचाल, पाँचऔंले, पाखनबेत, यार्सागुम्बाजस्ता जडिबुटीले भरपूर । स्याउ, सिमी, आलु, चिनो, कागुनो र तिते फापर । निधारमा शे फोक्सुन्डो ताल, एकातिर शे गुम्बा, धो, तिन्जेको प्रकृति, अर्कोतर्फ त्रिपुरासुन्दरी, सहरतारा । हिमनदीका मनोरम छहरा, शुभ्र अनि स्निग्ध हिमशृङ्खला । भाषिक, जैविक, प्राकृतिक र सांस्कृतिक विविधता । लाग्छ पूरै जिल्ला प्रकृतिको सङ्ग्रहालय ।

पढ्नु, ठूलो पदमा पुग्नुले के अर्थ राख्छ यदि राष्ट्रसेवकले आनो क्षमता र इमानदारीले दीनदुखीको सेवा गरेन भने ? ‘अथाह सम्भावना तर भर्जिन’ कर्णालीलाई त्यहींको सम्पन्नताका लागि उपयोग कसरी गर्ने ? यही सोच र कर्ममा सङ्घर्षका यात्रा सुरु हुन्छ । सङ्घर्षहरूमा साथ पाइन्न । मन बोल्ने ठाउँमा पेट बोल्छ, कर्म गर्नुपर्नेहरू मुख चलाउँछन्, पसिना चुहाउनेको बोली पटक्कै बिक्दैन ।

जिल्लामा जनसङ्ख्या छ, कार्यालयहरू छन्, प्रहरी, प्रशासन, नेता राजनीति, अनुदानको चामल र नुन सबै छन् तर निर्माण, सोच, वृत्ति, कर्म र आचरण पुगेन । के केही मन र हातका कर्मले मात्र सम्भावनालाई उपयोगितामा बदल्न सक्छ ? नसकोस् तर हार खानु हुन्न ।

के मैले पेटभरि खाएर डोल्पाको सेवा गर्नु पाप होइन ? जहाँ धेरै मजस्तै पेट भएका मानिस आधा पेटमा तिन्जे र छार्काको यात्रा गर्छन्् । शे र भिजेर उक्लिन्छन् । के मजस्तै मान्छे छेप्का र धोतिर जाडोमा कठाङ्ग्रिँदा मैले स्विटर र ज्याकेटमा न्यानिन हुन्छ ? अपराध नैतिक र आत्मिक पनि हुन्छ– भौतिकमात्र होइन । के प्रतिवर्ष समय खेर फाल्दा, अवसरहरु उपयोग नगर्दा समयले हामीलाई दोषी भन्दैन ? क्याराभान हेर्नु र थिन्लेको दुख पिउनुले मज्जा आउँदैन ।

यसले त उल्टो हामीलाई नै गिज्याउँछ । सबै डोल्पालीको कथा थिन्लेजस्तै हो । सबै साल्दाङ, धो, शे, तिन्जे, छार्का, भिजेरवासी थिन्ले हुन् । प्रकृतिका पात्र उपेक्षित हुन्छन्, दुखी हुन्छन् । टिपिएको एकाध दुख र उपेक्षा अरूको लागि मनोरञ्जन !
दुखमा आत्मसात् गरेर कर्म गर्दै गर्दा एक दिन कर्मले अन्यत्रै डो¥यायो । बाई बाई डोल्पा । प्रकृति, मनोरम, जटिलता र दुखको डोल्पालाई कर्मका थोरै समर्पण बीचैमा छाडेर बिदा ।

दुनैदेखि जुफालसम्म सबै नै अभिनन्दन र आँसुमा छन् । अबिर र फूलमालामा छन् । एकजना कर्मचारी सर्नुले के पीडा हुन्छ र आँसु आएको होला ? एउटा कर्मचारी सर्नु, सारिनुले कति फरक पार्छ ? मेरा पाइलाका पदचाप, केही पसिना र कर्मले सिंचेको स्थान फेरि सम्झनु अहिलेलाई बिदा !

जागिरे जीवनलाई फगत जागिर सम्झनेहरू वृत्तिप्रति अन्याय गर्छन््, जनता र राष्ट्रप्रति अन्याय गर्छन् तर पाखापखेरुको जागिर, जीवनशैली र त्यहाँको दुखपीडाको साक्षात्कारले मलाई भने सपना देख्न, सङ्घर्ष गर्न र सेवा गर्न सिकायो । योजना बनाउँदा होस् वा बजेट बनाउँदा अनि नीति बनाउँदा होस् वा निर्णय गर्दा– नेपालको भूगोल, जीवनशैली, आर्थिक र सामाजिक अवस्थाले थिच्न थाल्यो । कर्म र अनुभवले मनभरि कर्णालीमात्र होइन– इलाम र बाजुरा तुलना अनि सिन्धुपाल्चोक तथा कालिकोट तुलना गर्न सिकायो । शे र बौद्ध गुम्बा, तिमाल र लुम्ले अनि धेरै यस्तै तुलना गर्न सकिायो । फोक्सुण्डो र फेवालाई एकैपटक नजरमा राख्न सिकायो ।

हो– कर्मभित्रको सङ्घर्षले समर्पण र समर्पणले संवेदनशीलता जन्माउने रहेछ । विषयलाई अन्तर्यसम्म पु¥याउँदो रहेछ । सुविधा र सम्पन्नतामा जागिर खानेहरू पुरस्कार अनि प्रोत्साहनको वाहवाहीमा भए पनि कर्म गर्ने तर किनारामा पर्ने कर्मनिष्ठका मनभित्र एउटा स्वबोध र आत्मसम्मान जाग्दो रहेछ– हो मैले केही गरें, केही गर्न नसके पनि बिगारचाहिँ गरिनँ । यही नै जीवनबोध हो र राष्ट्रसेवक कर्मचारीहरूले यही बोधमा कर्मशील हुनुपर्छ । सत्यनिष्ठा र कर्म उसको आचरण बन्नुपर्छ । व्यक्तिले सबैलाई ढाँटे पनि अन्ततः आफूलाई ढाँट्न सक्दैन । सत्कर्म, समर्पण र सेवामा लाग्नेहरूका निष्ठा अपहरण भए पनि कर्ममा नै रमाउँछन्, सत्य गर्छन्, सत्य नै बोल्छन् ।

वार्षिक विकास कार्यक्रमलाई वस्तुनिष्ठ बनाउन सङ्घर्ष गर्दा पनि राजिनामा दिनुप¥यो । राजिनामा सङ्घर्ष थिएन, असन्तुष्टि (र पलायन पनि ?) । प्रणाली सुधारका लागि सन्देश दिने निर्णय तर गल्ती गरिरहनेहरू गल्तीलाई स्वीकार्दैनन्, बरु गल्तीलाई ढाकछोप गर्ने अरू गल्ती दोहो¥याउँछन् पनि । आफूलाई भने आफूले नेतृत्व दिएको गरिबी र वातावरण कार्यक्रमको सफलता, जलवायु र वित्त बजेटको अरू मुलुकले गरेको अनुसरण, हरित अर्थतन्त्रको खाकाको अवलम्बनमा मन साबुनका फिँजझैँं हुरुरुरुर्र हौसिएर जान्छ । कति खुसी लाग्छ– आफूले सुरु गरेका आयोजना विश्व विकास सम्मेलनमा असल अभ्यासका रूपमा प्रस्तुत हुँदा र चिन्ता लाग्छ– आना समयमा सुरु भएका सुधारका कार्यले निरन्तरता पाइ नै रहलान् त भन्ने ?

खुबै खटिइयो गणतन्त्र कार्यान्वयनको पहिलो काममा, जहाँ जनप्रतिनिधि संस्थाहरू निर्माण र जीवन दिनुपथ्र्यो । अरू साथीले पनि अग्रपङ्क्तिमा रहेरै सहयोग गरे । ऐतिहासिक भूमिका निर्वाह गर्न पाउँदाको खुसी नै अर्को । साँझ, बिहान, दिनरात नभनी खटिइयो । यो खटाइ मान, सम्मान, पुरस्कार र प्रोत्साहनका लागि होइन– केवल आत्मसन्तुष्टि र कर्तव्यका लागि । मितव्ययी बन्ने आग्रहमा उच्च इमानदारी प्रस्तुत गर्नुपर्ने कर्तव्य भएका व्यक्तिबाट नै कमजोरी हुन्छ भने त्यस्ता निर्णयको भद्रअवज्ञा गर्नुको विकल्प के रह्यो र ? नीति र नैतिकतामा बाँच्नेहरू यसैको शक्तिमा बोल्छन् । निष्ठालाई अपहरण गरिए पनि निष्ठामा बाँच्ने साहस निजामती सेवाको मूल्य र आर्जित स्वायत्तताले दिँदो रहेछ ।

मुलुकको सीमा व्यवस्थापन, भूमि सुशासन र सहकारी शुद्धिकरणमा अहोरात्र खटियो । संस्थाहरुले नागरिक विश्वास जितुन, प्रणाली बनोस, सितिमिति भत्काउन नसकिने गरी बनोस् । एउटा राष्ट्रसेवकको अभिष्ट मष्तिस्कमा व्यावसायिकता र मनमा सेवाग्राही हो । कोरोना माहामारीमा पनि खुवै खटियो, साठी वर्षपछि वित्तीय प्रणाली स्वचालित अनि क्रियाकलापमा आधारित बनाउन सकिएकोमा मनै कति फुरुङ्ग भएथ्यो । गर त कसैले भनेनन तर गर्नु राष्ट्रसेवकको दायित्व हो ।

शिक्षा मन्त्रालयमा जिम्मेवारी सम्हाल्दा दुई कुरा मनभरि पाँजिएका थिए, चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीलाई कसरी बचाउने (उनलाई बचाउनु भनेको समग्र चिकित्सा शिक्षालाई सुधार्नु हो) र लथालिङ्ग शिक्षा प्रणालीमा सुधारको शुरुवात कसरी गर्ने ? कोरोना महामारीले नव्वे लाख विद्यार्थी भाइबहिनीहरु कक्षाकोठाबाट घरभित्र कैदजस्तै थिए । गोविन्द केसीसंगको वार्तामा रहँदा एउटा कुराले द्रवित भएनै रहें, म दैनिक तीनछाक खान्छु, यस अर्थमा उनले एकासी छाक खाइसकेको हुनुपर्ने, उनलाई छिट्टै खानसक्ने कसरी बनाउने ?

अर्को कुराले पनि घोचिरहन्थ्योे, चिकित्सा शिक्षा सुधार केसीको कार्यसूची कि राज्यको ? अहोरात्र खटियो, केसीको जीवन रक्षाका लागि गरेको प्रयासमा सफलता पनि मिल्यो, तर उनी बचे पनि कार्यसूची कार्यान्वयन पूरा गर्न अरु आक्रामक बनिरहनु छ । समग्र शिक्षा प्रणाली सुधारका थोरै इट्टा राख्नमात्र के भ्याइएको थियो, नियतिले फेरि लखेट्यो । कर्मचारी लखेटिनुको कुनै अर्थ नहोला, तर सुधार नै लखेटिन वा अल्मलिन पुगे यसको क्षति समग्र राष्ट्रलाई हो ।

नियतिको खेल पनि गजबको रहेछ । मनले जहाँ सरुवा नहोस् भन्यो, त्यहींमात्र हुने ! पछिल्ला १०–११ सरुवा जुन ठाउँमा नभइदिए हुन्थ्यो चिताए, त्यहींमात्र भएको छ । प्रणाली नबस्दा यस्तो भएको हो कि ? वा बेप्रणालीले नै प्रणालीको रुप लिँदा यसो भएको ? तर अर्को मनले भन्छ, होइन कोही त मजस्तो पनि त भइदिनुप¥यो, होइन भने अरूहरूको के महङ्खव । र मनमनै सोच्छु– ‘दुखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुख दे’ ।

सरुवा, वृत्ति व्यवस्थापन, अवसर वितरण, पुरस्कार, प्रोत्साहन सबै उत्कृष्टताका लागि हो । गुणतन्त्रका आधारमा हुने हो । गलत व्यक्ति प्रोत्साहित वा पुरस्कृत हुँदा प्रणालीले आफू दण्डित भएको महसुस गर्छ । गलत व्यक्तिलाई जिम्मेवारी दिँदा जनताले नै दुख पाउने हुन् । सुधारका अभियानले निरन्तरता नपाउने हो । निर्णय गर्ने र निर्णित हुने दुवै दङ्ग हुनुको अर्थ रहँदैन । मुख्य कुरा प्रणाली निर्माणमा योगदान नपुग्दा दुख पाउने राष्ट्र र जनताले हो । कर्मचारी त एक स्थानबाट सर्छ, जान्छ ।

होइन– त्यसो भनेर पनि हुँदैन । कर्मचारी हठात् सर्दा कर्मचारीमात्र सर्दैन– संवेदना पनि सर्छ, अधुरा काम अल्मलिन्छन् र दृष्टिकोण रुमलिन्छ । झनै हाम्रोजस्तो संस्थागत नभएको समाजमा प्रणाली नै अवरुद्ध हुन्छ । उच्चपदस्थ कर्मचारीहरु केवल कर्मचारी होइन– प्रणालीका मियो हुन्, समाजका अनिर्वाचित प्रतिनिधि हुन्– जसले सामाजिक सङ्केत टिप्ने, राजनैतिक कार्यकारीका इच्छालाई राज्यइच्छामा बदल्ने र नतिजा उत्पादन गर्ने गर्दछ । सर्वसाधारण र सरकारबीच सम्बन्ध सूत्र पनि हो ।

वृत्तिका खुट्किला चढ्दै जाँदा थुप्रै सपनाका हत्या भयो तर निष्ठा र समर्पण डगेन तर पटकपटक निष्ठामाथि अतिक्रमण गरियो र असत्यले जित्यो । निष्ठा किनारामा प¥यो र हल्लाले जित्यो । तैपनि कर्म र निष्ठाबाहेक राष्ट्रसेवकको न अरू पहिचान हुँदो रहेछ न त नाम नै । आत्माले स्वीकृति नदिएका काम गरिएन, आँखा जुधाएर हेर्ने आत्मिक शक्ति मनभरि छ । त्यसैले मनभरि उर्लिएका सपना साबुनका फिजझैँँ स्याप्प हुँदा केही लाग्दैन तर अधुरा काम पूरा नहोलान् कि भन्ने चिन्ताले सताउँछ तर पनि विकल्प छैन कर्म गर्नुको । गीतामा भगवान् कृष्णले अर्जुनलाई भन्नुभएको छ–
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्माते सङ्गोऽस्त्वकर्मणि’ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }