सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रमेश विकलका रचनाको अन्तरविधा तुलना (“समालोचनात्मक अन्वेषण” पुस्तकबाट)


  • गोपी मैनाली
  • शनिबार, पुस २८, २०८०
  • 184
    SHARES

रमेश विकलका रचनाको अन्तरविधा तुलना (“समालोचनात्मक अन्वेषण” पुस्तकबाट)
-गोपी मैनाली

विषय प्रवेश
रमेश विकलले बहुविधामा कलम चलाएका छन् । सर्वसाधारण उनलाई आख्यानकार र बालसाहित्यकरका रूपमा चिन्दछन् । त्यसैले बालबालिका र सर्वसाधारणको मानसपटमा विकलको आख्यान आकृतिले आसन जमाएको छ । तर उनले निबन्ध र नाटक पनि प्रशस्त लेखेका छन् । निबन्धमा पनि नियात्रा–संस्मरणमा उनको विशिष्ट स्थान छ । नियात्रामा मात्र यात्रा छैन, विविधताको संयोजन छ, संस्मरणमा समाज, इतिहास र समकालीन पात्रहरूको निख्खर चित्र पाइन्छ । नाटक÷एकाङ्कीहरू ऐतिहासिक र सामाजिक विषयमा केन्द्रित छन् । निबन्धहरू निजात्मक–आत्मपरक र प्रबन्धकीयका आलावा व्यङ्ग्यात्मक पनि छन् । नियात्रामा प्रकृति, भावना र घटनाहरूको ससाना शृङ्खलाहरूको सरोवरी छ । तैपनि विकल भन्नेबित्तिकै हाम्रो मानसपटमा आउने आकृति भनेको आख्यानको नै हो । उनका विधागत तुलनमा यी पक्षहरू कति सत्य लाग्छन् भन्ने विषयमा समालोचकीय र पाठकीय दृष्टिकोणबाट उनका रचनहरूबीच तुलना गरिएको छैन । प्रथम दृष्टिय अवधारणाहरू नै लेखिएका छन्, देखिएका छन् । यो विकलप्रतिको न्याय हो कि होइन भन्ने विषयमा पनि बहस र अन्वेषण भएको छैन ।

कथा र उपन्यासको तुलना
कथा र उपन्यासका संरचनागत तत्वहरूबीच धेरै नै समानता पाइन्छ । उपन्यासका आधार तत्वहरू ‘कथानक, चरित्र, कथोपकथन, शैली, भाषा, वातारण र उद्देश्य’ (कृष्णचन्द्रसिह प्रधान, नेपाली उपन्यास र उपन्यासकार) रहन्छन् । त्यस्तै कथा रचनाविधान ‘कथानक, चरित्रचित्रण, कथोपकथन, दृष्टिबिन्दु, उद्देश्य, परिवेश र भाषाशैलीय तत्व’ रहन्छन् (डा लक्ष्मणप्रसाद गौतम र ज्ञानुअधिकारी, नेपाली कथाको इतिहास) । यस दृष्टिकोणले कथा र उपन्यासमा संरचनागत÷अवयवगत भिन्नता पाइदैन । संक्षेपमा भन्दा कथावस्तु, चरित्र, परिवेश, भाषा–शैली, दृष्टिविन्दु, सम्वाद–सङघर्ष र उद्देश्य÷फलाप्ति आख्यान विधा (कथा र उपन्यास) का रचनाविधानका तत्व हुन् ।

एउटा कथा वा उपन्यास राम्रो हुनका लागि गहन सुरुवात, प्रभावशाली वयान, दृश्य–घटना–प्रस्तुतिको सन्तुलन, विविधतामूलक पात्र, पात्रहरूबीचको सिलसिलावद्ध सम्बन्ध, प्रभावशाली सम्वाद अनि प्रारम्भ, विकास, उत्कर्ष र अवसानबीचको तार्किक शृङखला कायम हुनुुपर्दछ । कथा ‘एउटा सानो किस्सा’ भएकाले स्वरूपगत सीमिततामा रहन्छ, घटनाको परिधीकरण हुुन्छ, कार्यव्यापारको आतन छोटो हुन्छ तर उपन्यास सानो किस्सा नभै समग्र जीवनवृत्ति हो, घटनाको विस्तृतीकरण हुन्छ र प्रमुुख पात्रले साहसिक यात्रा (हिरोइक जर्नी) गर्दछ, सहायक पात्रहरू यस कार्यमा सघाउँछन् वा प्रतिकार गर्दछन् । विस्तृतिका दृष्टिले उपन्यासको सीमा छैन । तर सारमा दुवैको विषय जीवन हो । जीवनलाई केन्द्रस्थमा राखेर ठूलो वा सानो सङक्षेत्रबाट हेरिएको हुन्छ ।

विकलले धेरै कथाहरू लेखेका छन् । कथाबाट नै उनले साहित्य रचनाको सुरुवात गरेका थिए । २००६मा पहिलो (गरिब, शारदामा प्रकाशित) तथा दोस्रो (आँसुले भिजेको हाँसो, सेवा पत्रिकामा प्रकाशित) रचना कथा थिए । त्यस पछिका दिनमा विरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९) आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउट बुढो भ्वाइलेन आशावरीको धुनमा (२०२५) कथासङ्ग्रह प्रकाशनपछि विकलको पहिलो उपन्यास सुनौली (२०३१) प्रकाशामा ल्याएका थिए । उपन्यास प्रकाशन अघि नै विकल कथाकारका रूपमा स्थापित भैसेको थिए । यस दृष्टिकोणले विकल परिपक्व कथाकार बनिसकेपछि उपन्यास रचना गरेका थिए । यस दृष्टिमा कथा उनको आख्यान यात्राको जग थियो । उनको उपन्यास सुनौली र उनको दोस्रो पाँचौ कथा सङ्ग्रह उमिैला भाउजू (२०३५) एकै समयतिरका एकै दृष्टिवोध र भावभूमिका आख्यान हुन् । २०२४ तिरबाट विकलले भौतिक–औपचारिक–सामाजिक चित्रबाट सामाजिक–मनोवैज्ञानिक पक्षमा, अझ भनौं मानिसको आन्तरिक पक्षको चित्र उतार्न सुरु गरेका थिए । श्यामप्रसाद शर्मा, गोविन्दप्रसाद लोहनी, आनन्द भट्टहरूको सङ्गतको माक्र्सवादी चिन्तनलाई फराकिलो बनाई मानिसको समग्र आयामको बिम्ब उतार्न लागेका थिए । त्यो विकलमा आर्यको चिन्तनको व्यापकता, गहनता र परिपक्वताको परिणाम थियो । यसर्थ के भन्न सकिन्छ भने आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बुढो भ्याइलिन आशावरीको धुुनमा देखिएको अन्तरमनका उहापोह र दमित इच्छाहरू, सामाजिक मनोदशाहरू सुनौलीमा विस्तृत भएको छ । सुनौलीमा गाउको प्राकृति जीवन, शहरको सम्भ्रान्तता, चेत÷अवचेत तह चाहचेतका खातहरू, इच्छा–आवश्यकता, उन्माद, मनोहुटहुटी सिर्जित सङ्घर्षमा हारको जीवनको प्रस्तुति त । यही क्रमको सघन विस्तृति त्यसपछिका उर्मिला भाउजू, शव सालिक सहस्र बुद्ध, हराएका कथाहरू, हिमालको छहरा समुद्रको छालहरूमा छ ।

उनको दोस्रो उपन्यास अविरल बग्दछ इन्द्रावती (२०४०) र तेस्रो उपन्यास सागर उर्लन्छ सगरमाथा छुन (२०५२) उनको कथालेखन यात्राको तेस्रो चरणको प्रतिनिधित्व गर्दछन् । यस चरणका विकलका कथाहरूमा मानसिक, सामाजिक, सांस्कृतिक र भावनात्मक आयामहरू साथसाथ प्रयोग गरिएका छन् । यस दृष्टिकोणबाट विकलका कथाहरू उपन्यासमा पनि प्रभुत्व जमाइरहेका छन् । कथाधारा नै उपन्यासवृत्ति भएर फैलिएको छ । अझ साच्चै भन्दा कथाहरू जीवनको बोध र बिम्ब उतार्न उपन्यासभन्दा उम्दा–ओपजला देखिएका छन् । उपन्यास कथाको ‘प्रयोग शीर्ष’ मा देखिएका छन् । आधारभूमि कथाले दिएको छ । मनोवैज्ञानिक कथाहरू उर्मिला भाउजू, मेरी कान्छी माइज्यू, उसले नजन्माएको छोरो लाई सुनौली पछ्याउँछ । गरिब, लाहुरी भैंसी, भन्ज्याङको चौतारो, तर कोपिला फक्रेन, फुटपाथ मिनिस्टर, नयाँ सडकको गीतहरूलाई अविरल बग्दछ इन्द्रावतीले पछ्याएको । प्रयोग शीर्ष रूप दिएको छ । हिमालको छहरा समुद्रको छाल, ऊ केवल नोकर एउटा सत्ताको, मृत्यु प्रमाण पत्र, ती दुुई निर्दोष आँखाहरू, एउटा अवकाश प्राप्त वेश्याको अत्मकथा, यी रगतमा बाँच्नेहरू, दुुई रुपियाँ नोट, सिँगारी बाख्रो, एउटा बुुबाको कथा जो विश्वास गर्न सकिदैन, एउटा अपराधको वकपत्र, मोड, टुक्रिएका स्थितिहरू, स्वीकृत पराजय आदिको समग्रमा छटपटिएको मानिसको समूल बिम्ब सागर उलैन्छ सगरमाथा छुन मा छ ।

उपन्यासका प्रमुख पात्रले साहसिक यात्रा (हिरोइक जर्नी वा क्लाइमेक्स) कथाका भन्दा लामा लाग्छन्,त्यसैले जीवन बोक्छन् । त कथाले छोटा परिधिका सङ्घर्षहरू उपन्यासमा भन्दा कम महत्वपूर्ण छैनन् । उर्मिला भाउजू कि उर्मिला, मेरी कान्छी माइज्यू कि कान्छी माइजू, फुटपाथ मिनिस्टरका गोरे र किटी, उसले नजन्माएको छोरो कि सावित्री, सिंगारी बाख्रो कि सिँगारीको सङ्घर्ष सुनौली कि सुनौली, अविरल बग्दछ इन्द्रावतीका लालगेडी र सोभिते, सागर उर्लन्छ सगरमाथा छुन का हाइनरिख, कृष्णराजा र चेतनाको सङ्घर्ष भन्दा कम छैन, अझ उम्दा छन् । त्यसैले आख्यान विधा भित्रको विकलको कथा व्यक्तित्व ( र प्रवृत्ति) उपन्यास विधको विकलको भन्दा अग्लो छ ।

आफूलाई मनपर्ने रचनाको नाम लिँदा उनले लाहुरी भैंसी, मेरी सनी भतिजी प्रतिमा, भन्ज्याङको चौतारो, मेरी कान्छी माइज्यूलाई लिएबाट पनि विकलको कथाकारिताको प्रवृत्तिले उपन्यासलाई निर्दिष्ट गरिरहेको छ भन्ने सिद्ध गर्दछ । उनले अविरल बग्दछ इन्द्रावतीलाई पनि आफै सन्तुुष्ट भएको कृतिका रूपमा लिएका छन् । तर कथाको सापेक्षमा त्यो उल्लेख कम छ ।

तर कथा होस वा उपन्यास, उनको प्रत्येकका रचना गर्भमा विशेष स्थिति रहेको र समाजमा घटित घटना वा देखिएका पात्रहरू नै रचनाको पृष्ठभूमिमा रहेको देखिएको छ । त्यसैले कथा पात्रहरू शाश्वत लाग्छन् । विकल कथा वा उपन्यासको प्रमुख पात्र आफै भएर सङ्घर्ष र सन्देश गरिरहेका हुन्छन् । उनले भनका छन् ‘..प्रायजसो लेखकले लेख्दाखेरि प्रधान पात्रसँग आफ्नो आत्मीयता नगराईकन त्यो सम्भवतः रचनामा जीवन्तता दिन सक्तैन । हरेक नायकसँग आफूलाई दाँजेकै हुन्छ’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक स्मृति ग्रन्थ, पृ ५९) । मधुमालतीको कथाका मधुकर विकल स्वयम् आफूलाई स्थापित गरेका छन्, त्यस्तै प्रधान पात्रहरू जस्तो कि सोभिते, हाइनरिख, लुुरे, गोरे, गोरे बमजनहरूमा विकलले आफूलाई स्थापित गरेका, अन्तरबोध गरेका छन्, जसरी गोर्कीले पावेललाई र जेन अष्टिनले एलिजाबेथ बेनेटलाई, लक्ष्मीप्रसाद देवकोटाले मुना र मदनलाई आफू प्रतिनिधित्वमा राखेका थिए । त्यसैले साहित्य समाजबाट कत्ति पनि भिन्न छैन, हुनु पनि हुन्न भन्ने मान्यता विकलको छ ।

विकलका निबन्ध भित्रको तुलना: नियात्रा र आत्मसस्मरण
‘निबन्ध एउटा विषयमा केन्द्रित रहेर लेखिने लेखाइ हो । एउटा विषयवस्तु भित्र निबन्ध तरङ्गित हुन्छ, विश्लेषण गर्छ र भावधारामा पर पुगेर विषयवस्तुको केन्द्रियतामा फर्किने गर्दछ । स्वैरकल्पना र भावनामा तैरिन, बहकिन सक्छ वा संरचित विषयमा कलात्मक प्रस्तुति गर्छ । छरिएर रहेका विचारलाई एकै ठाउमा पजुल्याएर, सिलसिला मिलाएर प्रस्तुति गरिने भएकाले नै निबन्ध भनिएको हो’ (गोपी मैनाली, अभिव्यञ्जना यात्राप्रति, पृ १९६) । निबन्धका प्रथम प्रयोक्ता मानिएका फ्रान्सेली साहित्यकार मिसेल डे मोन्तेनका अनुसार निबन्ध मार्फत निबन्धकार नै स्वाभाविक रूपमा पोखिएको हुन्छ ।

त्यसैले कथा, नाट, उपन्यास, कवितामा भन्दा निबन्धको भावभूमि र प्रस्तुति सीमा फराकिलो र खुकुुलो हुन्छ ।निबन्धमा पात्र र घटनाहरूको उपस्थिति त्यति हुँदैन । स्वयम निबन्धकार मुख्य पात्रका रूपमा अभिव्यक्ति प्रकाशन गर्दछ, ससाना घटना–उपक्रमहरूलाई फूलका थुङ्गाहरू उनेर माला बनाएझै गाँस्छ र सुन्दर माला बनाउँछ ।

रमेश विकलका सात सूुर्य एक फन्को (नियात्रा निबन्ध, २०३५), नीलगिरीका छाँयमा (नियात्रा निबन्ध, २०५०), अब अगाडि बढ्नु छ अझ अगडि (व्यङ्ग्य निबन्ध, २०५०), धुमशिखाको लयमा सल्लाको सुसेली (संस्मरण निबन्ध, २०७०), मेरो अविरल जीवन गीत (सस्मरण निबन्ध, पूर्वार्ध खण्ड, २०५९, पूरा सङ्ग्रह २०७५) गरी छ वटा निबन्ध प्रकाशित छन् ।

निबन्ध प्रभावशाली, भावपूर्ण र अन्तरबोधी बनाउन विचारको केन्द्रियता प्रस्तुति शृङ्खलामा स्लीलता, संरचनामा सङ्गति र कल्पनाशील यथार्थता चाहिन्छ । लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछानेका आत्मपरक निबन्धहरू, विश्वेश्वर कोइरालाको आत्मकथा वा जगदीश घिमिरेको अन्तरकथाहरू यी विशेषताका कारण प्रभावशाली हुन्छ ।

विकलले निबन्धका विषयमा भनेका छन् ‘निबन्धको क्षेत्र ज्यादै नै विस्तृत छ तर निबन्धलाई दुुई थरीबाट बुुभ्mनुअति नै उपयोगी मान्छु म –एउटा वस्तुुगत अर्को आत्मगत । यी दुुई अन्तर्गत पनि थुप्रै प्रकारहरू पर्दछन् । कहिले काहीँ भौतिक वस्तुुमाथि निबन्ध लेख्दा पनि त्यसलाई न्यायसङ्गत ढङ्गले बङ्ग्याएर पनि लेख्न सकिन्छ कलात्मक बनाउँदै । हिजोआज आत्मगत निबन्ध र कथामा विभेद विभेद छुट्याउन निकै गा¥हो परिरहेको छ’ (गरिमा, अङ्क , पृ १०३) ।

विकलका निबन्धहरू उनले अभिव्यक्त गरेका मान्यतामा नै छन् । नीलगिरिको छायाँमा र सात सूुर्य एक फन्को (अङ्ग्रेजीमा इन सर्च अफ साँग्रिला नामले प्रकाशित) ले प्रकृतिको यात्रा गरेको छ । विकलले भने झै वस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएका छन्, बङ्ग्याएर होइन, विचार र विश्लेषण मिसाएर । दुवै निबन्धमा भौतिक वस्तुमाथि निबन्धकारका आत्मगत धारणाहरू सिल्पमा सजाएर प्रस्तुत गरिएका छन् । सात सूर्य एक फन्कोमा लेखक काठमार्डौ–गोसाइँ कुुण्ड यात्रा गरेर, याने कि सात सूर्य (दिन) मा एक फन्को मारेर फर्किएका छन् । यस यात्रामा प्रकृतिको दृश्य, जीवजन्तु, खानपीन, आहार–व्यहार, वन–पाखा, खोला–नाला, धर्म–संस्कृति, मित्रता–सम्बन्धका शृङ्खलालाई आत्मपरक शैलीमा प्रकाशन गरेका छन् । यो नियात्राकारको साङ्ग्रिलाको खोजीको यात्रा हो, भनौं रहस्यको आनन्दको खोजीको यात्रा । यात्रा जो कुुनैले गरेका होलान्, तर निबन्धकारको यो यात्रा वयानको शिल्पसन्धानले यात्रालाई मीठो बनाएको छ, प्रभावशाली बनाएमो छ र अरूलाई पनि यात्रा गर्न जुर्मुु¥याएको छ । नीलगिरिको छायाँमा नियात्रा भएपनि सात सूूर्य एक फन्कोको तुलनामा दृश्यबिम्बन, आत्ममन्थन, प्रकृति चित्रणको विशिष्ट प्रयाग भएको छ । नियात्राले जीवन, प्रकृति, संस्कृति, इतिहास, सम्बन्ध संरचना र समयसन्धानलाई निचोरेर सरल तर कलात्मक प्रस्तुतिमा देखाएको छ । प्रस्तुतिका अक्षरले दृश्यचित्र बोकेको छ, अनुुभूति उठाएको छ । काठमाडौं–मुक्तिनाथसम्मको यात्रा र प्रतियात्रा मात्र नियात्रामा छैन, निबन्धकार आत्मिक यात्रा गरिरहेका छन्, आध्यात्मको यात्रा गरिरहेका छन् र अन्वेषणको यात्रा गरिरहेका छन् । यो यात्रामा जीवनका रङ्गहरूको प्रकृतिसँग संयोजन गरेर, मथिङ्गल मथेर निस्किएका भावनाहरूलाई शिल्पले सिँगारिएको छ । यस अर्थमा नियात्रा निबन्धको स्वाद र स्वरूप विशिष्ट छ ।

जहाँसम्म आत्म संस्मरण मेरो अविर जीवन गीत र धूमशिखाको लयमा सल्लाको सुसेली छ, यी दुवैले निबन्धीय स्वायत्तता कम पाएका छन् । विधा र विषयले पनि आत्मपरकता र शिल्पसन्धानको सीमा कोर्छ । आत्मकथा÷आत्मसंस्मरण लेख्नुलाई दुुई ‘अति’ को शिकार हुनबाट जोगाउनुपर्ने आत्मिक अनुशासन चाहिन्छ । एउटा गलत कार्यलाई लुकाउने अति र अर्को अनावश्यक फूलबुुट्टा भर्ने अति । तपाई यसबाट जोगिनुभएको छ भन्ने प्रश्नमा विकल भन्छन्–‘मैले सकेसम्म दुुवै अतिबाट बच्ने प्रयत्न गरेको छु, मलाई लाग्छ मैले आत्मकथामा आफ्नो लेखकीय इमान्दरीलाई निवाह गरेको छ’ु(शब्द संयोजन, बर्ष १, अङक १, २०६१) ।

आत्मकथा लेखकहरू प्रायजसो आफ्नो गल्ती लुकाउने, आत्मरति स्थापना गर्ने, आत्मश्लाघाको प्रवृत्तिमा रहेका हुन्छन् । आफ्ना वयानमा एकदमै विस्तारिने र कमजोरीमा निकै सङ्कुचिने गरेका छन् । विकलले आफ्नो भनाइझै इमान्दारी निर्वाह गरेका छन् । मेरो अविरल जीवन गीत र धूमशिखाको लयमा सल्लाको सुसेली मा रहेका अभिव्यक्तिहरूमा आफ्नो कमजोरी÷गल्ती, परिवारको कमजोरी, शासन र समाजका कमजोरीहरू निष्पक्ष रूपमा उतारेर दुवै ‘अति’ बाट माथि उठेका छन्, लेखकीय इमान्दारी पूरा गरेका छन् । संस्मरण निबन्ध भएपनि प्रस्तुुतिलाई शिल्प प्रदान गरेर मीठो बनाउने बाहेक घटना, पात्र, विषयवस्तु र समयलाई वस्तुुगत रूपमा राखिदिएका छन् । आफ्नै कमजोरीका विषय, जस्तो कि बाल्यकालका सङ्गत र दुव्र्यसन, पारिवारिक भूमिका निर्वाहमा रहेका कमजोरी, श्रीमतीप्रतिको आत्मीयता नरहेको धारणा, प्रेमप्रसङ्ग, हजुर बुुबाहरूको सम्भ्रान्तीय शैली, राजनैतिक विचारको आग्रह–दूराग्रह, बानी व्यहोराहरूलाई स्पष्ट–निष्पक्ष रूपमा राखिदिएका छन् ।

त्यसैले यी सस्मरणहरू इतिहासमा छोपिएका, लुकाइएका वृत्ति–वृत्तान्तहरूका तथ्यपरक उदिनाइ छ । त्यसैले यी इतिहास र साहित्यको साझा बिम्ब बनेका छन् । लेखकीय स्वयत्तताका पक्षपाति विकल आत्मकथा÷व्यक्ति सस्मरणमा भने सावधानी चाहिने मान्यतामा खरो छन् । ‘आत्मकथा बढी उपदेशात्मक हुुनुहुँदैन । आत्मकथा लेख्नेले भोगेका कुरा नढाँटीकन÷नलुकाइकन भन्न सक्ने आँट गर्नसक्नुपर्छ । कसैले आफ्नो बखान गर्ने, राम्रा कुरा मात्र भन्ने गर्दछन् । त्यसो भएमा त्यो पाठकप्रति बेइमानी हुन्छ । भोगेका कुरा सबै लेख्नु पर्छ तर एउटा ध्यान दिने विषय पनि छ । कुनै कुरा लेख्दा अरू (सम्बन्धित) को मान–सम्मान मर्दन हुने खालको भएमा त्यो चाँहि बचाउनुपर्छ’ (ऐ) ।

विकलले आफ्ना प्रसङगमा आएका कतिपय पात्रको नाम उल्लेख गरेका छैनन्, जसल उनीहरूको प्रतिष्ठा र पहिचानमा आँच पु¥याउँछ । जस्तो कि आफ्ना प्रेम प्रसङ्गमा जोडिएका पे्रमिकाहरूको नाम उल्लेख छैनन् । तर सार्वजनिक जीवनका, सार्वजनिक जिम्मेवारीका व्यक्ति, साथी–सङ्गाति, शासकीय परिपाटीमा जोडिएका नामहरू र असल कार्यहरूका सम्बन्धमा देखिएका महान् व्यक्ति–विचारकहरू ना तथा प्रवृत्ति भने उल्लेख गरिएको छ । धूमशिखाको लयमा सल्लाको सुसेली २४ व्यक्तिहरू र मेरो अविरल जीवन गीतको उत्तराद्र्ध खण्ड र उहिलेका कुरा र म खण्डमा सस्मरणकार निकै निकै सावधान रूपमा व्यक्ति प्रसङ्गमा छन् ।

विकलका निबन्धका दुुई उपविधाको तुलना गर्दा उनी आफ्ना मान्यता र निबन्धीय मान्यताका सन्तुलनको अभ्यासमा छन् । नियात्रामा स्वयत्तता, स्वच्छन्दता, उन्मुक्तता र कल्पनाशीलताका पक्षहरूको प्रभुत्व छ तर आत्मसस्मरणमा प्रामाणिकता र समय–पात्र–घटनाप्रतिको इमादारिता छ । तर विकलको उचाइमा रहेको कथा व्यक्तित्व अहम भएर उपस्थित हुुन्छ र निबन्धहरू कथाजस्ता बनिदिन्छन् । ससाना उपकथाहरू र सूूक्ष्म कथोपथनको सुरिलो शृङ्खलाले निबन्धमा कथा प्रवेश गर्छ र निबन्धहरू झण्डै कथामय हुनपुुग्छन् । नियात्रामा यो निकै नै देखिएबो छ । त्यसो त कतिपय कथामा निबन्धमय भएका पनि छन् । जे भएपनि विषयवस्तुुको आत्मबोधले प्रयोगलाई समृद्ध र स्निग्ध बनाएको छ ।

नाटक र कविताको तुलना
नाटक र कविता विधागत रूपमा भिन्न छन् तर अभिव्यक्तिगत रूपमा समानता पनि पाइन्छ । नाटक कवितामा खेलिन्छ, कवितामा लेखिन्छ पनि । नाटक दृश्य र अभिनेय काव्य हो, कविता पाठ्य र श्रव्य काव्य । नाटकमा ‘कथानक, सहभागी, परिवेश, उद्देश्य, दृष्टिविन्दु, भाषाशैलीय विन्यास र सम्वाद’ जस्ता तत्वहरू रहन्छन् (डा.खगेन्द्रप्रसाद लुइटेल, नेपाली नाट्य समालोचना) । भने कवितामा विषयवस्तु, लय, भाव, भाषाशैली, दृष्टिविन्दु र कल्पनाशीलता आधार अवयवका रूपमा रहन्छन् । यसर्थ नाटक÷एकाङ्की र कविता भिन्नता र समानता पाइन्छ । जस्तो कि पद्यविधामा भाव–कल्पना, कलाशिल्प बढी हुन्छ, नाटक÷एकाङ्कीमा यथार्थता बढी हुन्छ, तर मञ्चनीय हुन्छ, मञ्चनमा कलाशिल्प र सम्वादमा प्रभाव पनि चाहिन्छ ।

कवितामा लेखिएका नाटकहरू झनै प्रभावोत्पादक पनि देखिएका छन्, जस्तो लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, माधवप्रसाद घिमिरेको मालती मङ्गले । विकल काव्यात्मक (पद्यात्मक ?) अनुुभूति भएका कथा–उपन्यासमा पनि कविता अंश रहन्छ भन्ने मान्यतामा छन् । सुदर्शन श्रेष्ठलाई अन्तरवार्ता दिने क्रममा उनले भनेका छन् ‘कवता भनेको काव्य हो । अनुुभूति काव्यात्मक अभिव्यक्ति हो त्यो । तपाईले मेरो अविरल बग्दछ इन्द्रावती पढ्नु भयो होला । त्यसमा कविता छैन र ? कविता भनेको चाँहि अलिकति सूत्र रूपमा हुन्छ । कुनै विचारलाई, कुनै अनुुभूतिलाई सूत्र रूपमा दिनुु’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, स्मृति ग्रन्थ, पृ ५६) ।

त्यसो त सर्वसाधारण पाठकले बुुझ्ने कविता कवितै हो, निबन्ध वा आख्यानका सूक्ति–सूत्रलाई कविता भनेर लिइँदैन । कविता गद्यमा लेखिए पनि त्यो सूत्र–सूक्तिमय हुन्छ, अभिव्यक्तिमा भाव–शिल्प पक्ष बढी हुुन्छ । लय–गेय सन्धानबाट पनि कविता अन्य विधाबाट छुट्टिन्छ । पाठकका अर्थमा विकलले कविता निकै कम मात्र रचेका छन् । बालकविताहरू लेखेका छन् । तर उनका कतिपय कविता अप्राप्य पनि छन् । भेटिएका उनक केही कविताहरू गद्यमा छन् । नेपाली साहत्यमा मूलतः कथाकार भनेर प्रख्याति कमाएका विकलले साहित्य यात्राको सुरुवात भने कविताबाट वि स २००५ तिरबाट गरेका थिए । उनको पहिलो साहित्य रचना श्यामप्रसाद शर्माका सम्पादन गरिएको हस्तलिखित पत्रिका सन्देश मासिकमा २००५ मा छापिएको थियो । हेमनाथ पौडेलले रमेश विकलको जीवनवृत्त शीर्षकको आलेखमा उल्लेख गरे अनुसार सन्देश पत्रिकामा छापिएको उक्त कविताको एक अंश यस्तो थियो:
‘कुखुराहरूले अब शङ्ख फुके
रचनीचर बृन्द समस्त उठे
नवजागृतिको छ बखत सबको
उठ जाग युवा सुप्रभात भयो’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ १६)

यो कवितांश जागरण गीतको रूपमा रहेको देखिन्छ । सन्देश पत्रिका युवा जागरणको जगाउन लक्ष्यित थियो, यसकारण कविताले त्यसैको उद्देश्यपूर्ति गरेको थियो । उनको कविताले समातेको भावधारा नै उनका यसपछिका सबै रचनालाई मार्गनिर्दिष्ट गर्ने रचनाभूमि थियो । ‘विकलले इन्दुशेखरको नामबाट केही फुटकर कविता र विकलकै नामबाट केही बालगीतहरू लेख्नुबाहेक कवितामा त्यति ध्यान दिएनन् र सङ्ग्रह पनि प्रकाशित गरेनन्’ (ऐ पृ १७) ।

उनले लेखेको र मन पराएको कविता ‘गिद्धहरू बसाइँ सर्न छाडेछन्’ हो, जुन सन्देश पत्रिका प्रकाशनका समयतिर लेखिएको थियो । कविताको अंश यस प्रकार छ:
‘गिद्धहरू बसाइँ सर्न थालेछन्
हिजोआज गिद्धहरू बसाइँ सर्न थालेछन्
पहिले–पहिले मसानघाटहरूमा
चिहानडाँडामा देखिने गिद्धहरू
अब यो शहर बजारमा देखिन थालेका छन्
गाउँ–बस्तीमा देखिन थालेछन्
गिद्धहरू बसाइँ सर्न थालेछन्
उहिले–उहिले गिद्धहरू बेवारिसे सिनोहरू खाएर अघाउँथे
मिल्किएका मुर्दाहरूका लागि आफ–ूआफूलुछाचुँडी गरेर
आपूm–आफू पनि मुर्दा बन्थे
हिजोआज जिउँदो मान्छेकै मासुु र रगतका लागि
लुछाचुँडी गरेर आफ्नो शक्ति देखाउन थालेछन्
हिजोआज गिद्धहरू बसाइँ सर्न थालेछन् ।
…… ……. …… ……
जङगलका एकलास रुरुचाउने
जियँदाहरूको नजिक पर्न डराउने
केवल सिनो खानैमा रमाउने गिद्धहरू
आज शहरमा, गाउँ–बस्तीमा पसेर
त्यहाको आवादलाई नै मसान तुल्याएर
ताण्डव नेतत्य गर्न थालेछन् गिद्धहरू
गिद्धहरू आज बसाइँ सर्न थालेछन्
…………………………………….’ (रमेश विकल बिम्ब एक प्रअिरूतिबम्ब अनेक, स्मृति ग्रन्थ, पृ ५६–५७) ।

विकलका थोरै कविता छन्, जो फुटकर प्रकाशित छन, तर जति छन् निकै प्रभावशाली र विचार उत्तेजना फैलाउने खालका छन् । कविताका तुलनमा उनका नाटक÷एकाङ्कीहरू धेरै छन् तर ती पनि आख्यान जति चाँहि होइनन् । उनको सप्तरङ्ग (२०३९), सरदार भक्ति थापा (२०४०), मिल्किएको मणि (२०४८) र मानिस, वैभव र मृत्यु (२०५६) गरी चार नाटक÷एकाङ्की प्रकाशित छन् । विकलका नाटक÷एकाङ्कीमा पनि कवितामा रहने जस्तो मानवीय संवेदना र भावना पाइन्छ तर अरूति पनि कलात्मक छन्, ती विशुद्ध सामाजिक यथार्थवादी वा सामाजिक संरचनावादी मात्र छैनन् । समालोचक डा केशवप्रसाद उपध्यायका शब्दमा उनका नाटक÷एकाङ्कीमा ‘..भावुकता र कल्पनाको प्रवलता पाइन्छ ।

उनले प्रायत कथानक वा घटनाप्रधान एकाङ्की लेखेर प्रयोगधर्मी नाट्यक्षेत्रमा देखापरेको प्रयोगवादी लेखनसँग सहचारिता देखाउन आफ्नै किसिमको नयाँ–नयाँ रङ्ग परिकल्पना गर्दै नयाँ–नयाँ प्रस्तुति कौशलताको प्रदर्शन गरेका छन् र नयाँ प्रयोगधर्मिताको निर्वाह गरका छन्’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, समालोचना ग्रन्थ, प ३६२) । विकलका सबै नाटक÷एकाङ्की समान स्तरका छैनन् । उनको कथारचनाको प्रभाव नाटक÷एकाङ्कीमा पाइन्छ, नाटक व्यक्तित्वको तुलनामा कथा व्यक्तित्व उच्च भएकोले कथाले दिने सन्देश र शिक्षा त्यहाँ पनि पाइन्छ । उनी स्वयम् नाटक निर्देशन र मञ्चनमा पनि संलग्न रहेकाले नाटक/एकाङ्कीमा मञ्चन मूल्य मान्यताप्रति सजग देखिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }