बिहिबार, बैशाख २७, २०८१

अशोभनीय प्राज्ञिक आरोप   

अशोभनीय प्राज्ञिक आरोप


  • - राम लामा अविनाशी
  • आइतवार, कार्तिक २, २०७७
  • 1.8K
    SHARES

 

केही दिन यता नेपाल र नेपाल बाहिर विभिन्न अनलाइन पत्रिकाहरूमा आरोप अनि प्रत्यारोपको ओइरो लागेको छ । यो कसैले कसैलाई कुटपिटगरेको आरोप होइन, कसैले राज्य ढुकुटीको दुरुपयोग गरेको आरोप पनिहोइन । नत कसैको धनदौलत चोरेको वा ज्यानमा दागा धरेको आरोप हो। यो त सर्वसाधारणले बुझ्न कठिन हुने खालको बौद्धिक चोरीको आरोप हो । त्यो पनि आरोप लगाउने र लाग्ने पक्ष र विपक्षी राष्ट्रिय स्तरका व्यक्ति र संस्था । हजुर, नेपाल प्रज्ञाप्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई बौद्धिक चोरी गरेको भनिएको आरोप ।

नेपाल प्रज्ञाप्रतिष्ठान नेपाली साहित्यिक गतिविधिलाई सम्बर्धन गर्ने सरकारी निकाय भएको र आफू पनि केही गीत, कविता संग्रह तथा लेख बजारमा ल्याएर साहित्यकार बन्न प्रयत्नरत व्यक्ति । त्यसैले त्यस संस्थासँग मेरो भावनात्मक नाता रहेको छ । त्यो संस्था प्रति आस्थालाग्छ । मेरो आस्था रहेको त्यो संस्थाले पनि आफ्नो साहित्यिक दौडमा नजर पुर्याउला भन्ने आशा पाल्नु स्वाभाविकै होला ।

आज त्यही आस्थाको केन्द्रले एकजना व्यक्तिलाई लगाएको आरोपले मुटुमा चस्का परेको छ चसक्क । किनभने जसलाई आरोप लगाइएको छनि, उहाँ मेरो साहित्यिक दुनियाँको पथप्रदर्शक हुनुहुन्छ । जसले दिएको हौसलाका कारण म नेपाली साहित्यको अन्तर्राष्ट्रिय धरातलमा तन, मन र धनका साथ हुम्मिइरहेको छु । आज उहाँलाई नै बौद्धिक चोरीकोआरोप लगाइएको छ ।

उहाँसँग धेरै पटकसम्म कहिले अमेरिकी भान्छामा एउटै डाइनिङ्ग टेबलका स्वादिष्ट खानाका प्लेटहरू रित्याइयो त कहिले जापानका एउटै समारोह र पार्टीहरूमा सहभागी भइयो । कहिले अष्ट्रेलियाको हाइवेमा१०० कि मि प्रतिघण्टाको रफ्तारमा गाडीमा हुइकिँयौँ त कहिले लण्डनको चिसोलाई च्यालेन्ज दिँदै तात्तातो कफीसँग रमाइयो ।

जहाँ जसरी समय बिते पनि साथमा “नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा सम्बर्धन र प्रबर्धन’ भन्ने शीर्षकको बर्चस्व भने कायमै रह्यो ।त्यसैले मेरो मनको भित्री कुनामा उहाँको सिङ्गो व्यक्तित्वले बास गरेकोछ । जसको शरीरको हरेक रक्तकोशिकाहरूमा नेपाली भाषा तथा साहित्य बगिरहेको छ ।

मान्छेको स्वभावअनुसार उसका गतिविधिहरू हुन्छन् भन्छन् । उहाँका पढाइ, जीवन धान्ने आधार र अतिरिक्त गतिविधि सबै नेपाली भाषा र साहित्यकै परिधिभित्र जगमगाइ रहेकाछन् । उहाँका दर्जनौँ पाठ्यपुस्तक,साहित्यिक कृति, शिक्षाप्रद लेखहरू साथै अन्य विभिन्न क्षेत्रका पुस्तकहरू प्रकाशित छन् । हो, यिनै पुस्तक मध्ये केहीमा आफ्नै किताबबाट हुबहुलाइनहरू सारिएको आरोप लगाइएको छ । प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको र लेखकमा सर्वाधिकार सुरक्षित रहेको पुस्तकमा रहेका केही हरफहरूको जिकिर गरिएको रहेछ ।

हुनत, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती सरसँग पनि मेरो छोटो बसाइको सौभाग्य जुरेको थियो । बिहानीको नास्ता सँगै खाएका थियौँ । विश्वको सूर्योदयको देश जापानमा आयोजना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एक विशाल र भव्य समारोहमा । नास्ताको मिठो स्वादसँगै उहाँका नेपाली भाषा र साहित्य अनि आफ्नो जिम्मेवारीका सेरोफेरोमा केही महत्वपूर्ण भनाइहरू राख्नु भएको थियो । जुन मेरो बुझाइको क्षमतालाई धान्न धौधौ पर्ने खालका थिए । गहकिला,सूचनामूलक र उपयोगी पनि ।

आज आफूले आदर र सम्मान गर्ने एउटै डुङ्गाका दुई विशिष्ट व्यक्तिहरू दुई खेमामा उभिनु भएको छ । एकजना आरोपी संस्थाका प्रमुख र अर्का आरोपित त्रिभुवन विश्वविध्यालयका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइटेल । मैले उहाँका उच्च बौद्धिक कार्यपत्र र प्रवचन धेरै देशमा सुनेको छु र त्यसबाट प्रभावित पनि भएको छु । यस्ता प्राज्ञिक व्यक्तित्वलाई पनिआरोप लगाइएको छ ।

यति ठूलो विद्वानलाई अरुको विचारलाई चोरी गर्नु जरुरत पर्ला जस्तो मलाई लाग्दैन । नलाग्नुका आधार म आफैँ बौद्धिक व्यक्ति भएको र सो समूहभित्र रही उहाँको नाडी छामी सकेकोले होइन । निकै पटक विदेशी भूमिमै भए पनि सँगै उठबस गर्दा बुझिएको बुझाइ हो ।

उहाँको आरोपलाई छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनेको जानकारी पनि मिडियाबाटै आयो । छानबिन समितिमा रहेका व्यक्ति हिजो अमानक शब्दकोशको सम्पादक भएर भाषा बिगार्ने मध्येकै भएको कुरा सरोकारवाला सबैलाई थाहा नै छ । यस्तो समितिले गर्ने छनबिनको निस्पक्षता दुधको साक्षी बिरालो जस्तो नहोला भन्न सकिँदैन ।

गल्ती गर्नेलाई कानुनको कठघरामा ल्याउनुपर्छ भन्ने मेरो पनि भनाइहो, पूर्व आईजिपि डि बि लामाले जस्तै । उहाँले आफ्नै पितालाई पनि जेल हाल्नु भएको थियो । उहाँ सही अर्थमा कानुनको रक्षक हुनुहुन्थ्यो । तर, आजकल कसुरदार ठाहर्याउने छानबिन समितिको नियतमाथि विगतका पटकपटकका उदाहरणहरूले शंका गर्ने ठाउँहरू भने प्रशस्तै बनाएका छन् ।

राजदरबार हत्याकाण्डभित्र त्यति गहिरो रहस्य हुँदाहुँदै पनि तारानाथ रानाभाटको संयोजकत्वमा बनेको छानबिन समितिले दीपेन्द्रले भुटुटुटुटु… गोली चलाएर मारेका रहेछन् भन्ने प्रतिवेदन बाहिर ल्यायो । निर्मला हत्याकाण्डका छानबिन समितिको रिपोर्ट हालसम्म पनि कसैलाई मान्य भएको छैन । यि त प्रतिनिधि उदाहरण मात्रै हुन् । यस्ता अनगिन्ती छन् ।

नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको लेखक प्रा.डा. लुइटेलमा सर्वाधिकार सुरक्षा रहेको तथा गंगाप्रसाद उप्रेतीले प्रकाशकीय भूमिका लेखेको पुस्तकमा केही हरफहरु जस्ताको त्यस्तै सारेको आरोप छ प्रा. डा. लुइटेल माथि । आफ्नो एक पुस्तकका केही हरफहरु आफ्नै अर्को पुस्तकमा प्रयोग गर्नु कुनै अपराध हुँदैन । यो त अशोभनीय प्राज्ञिक आरोप मात्र हो ।

राष्ट्रिय स्तरका यस्ता विद्वानको प्रतिष्ठा सिङ्गो देशसँग जोडिएको हुन्छ । यस्ता प्राज्ञिक ब्यक्तीलाई त नेपाली भाषा तथा साहित्यको बिकास, सम्बर्धन र प्रबर्धन गर्नका लागि प्रयोग गर्नु पर्ने होइन र ?

नेपाली भाषालाई बिगार्दै लगेर लोप गराउन प्रयत्नरत गिरोहको बिग्बिगी नेपालमा भएको कुरा छरपष्ट भइसकेको छ । सोही गिरोहले अमानक शब्दकोश तथा अशुद्ध नेपाली भाषा प्रयोग गरिएको पाठ्यपुस्तक बजारमा ल्याएको थियो । सो कार्यलाई उहाँकै अध्यक्षता रहेको संस्था मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको पहलमा विफल पारिएको कुरा सबैलाई थाहा भएकै हो । नेपालभरि वितरित अमानक शब्दकोश तथा अशुद्ध नेपाली भाषामा प्रेषित किताबहरूलाई रद्ध गरी शुद्ध भाषाका पुस्तक तयार गरी वितरण गरिएकै हो ।

फेरि त्यही वा त्यस्तै समूह नेपालका सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गराउने प्रयत्नमा जुट्यो । सरकारले उनीहरूकै पक्षमा निर्णय पनि गर्यो । जनताले सरकारको सो निर्णयको विरोधमा अदालतमा मुद्धा पनि हाले । नेपालको सर्वोच्च अदालतले पनि सो नम्बर प्लेटमा अंग्रेजी भाषाको मात्र प्रयोग गर्ने गरी फैसला सुनायो ।

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको नेतृत्वमा नेपालका विभिन्न संघसंस्थाहरूलगायतले यसको चर्को विरोध गरे र गरिरहेका छन् । जसलाई देश तथा विदेशबाट व्यापक समर्थन पनि मिलेको छ ।

सो विरोध पश्चात् नेपालका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले सो सच्याउन सम्बन्धित सबै क्षेत्रमा निर्देशन दिइने आश्वासन दिनु भयो । उहाँले सो आश्वासन दिएर राष्ट्रवादी प्रधानमन्त्री भएको थप प्रमाण जनतालाई महशुस गराइसक्नु भएको छ । सरकारले अध्यादेशको माध्यमबाट सो सच्याउन कार्यान्मुख भएको परिस्थितिमा सो गिरोहले आफू नाङ्गिएको महशुस गरेको हुन सक्छ ।

कहिले शब्दकोश बिगार्न प्रज्ञा प्रतिष्ठानलाई प्रयोग गर्ने, कहिले पाठ्यपुस्तकमा अमानक नेपाली भाषा प्रयोगमा ल्याउन शिक्षा मन्त्रालयलाई प्रयोग गर्ने त कहिले सवारी साधनका नम्बर प्लेटमा नेपाली भाषा नै हटाउनको लागि यातायात मन्त्रालयलाई प्रयोग गर्न खोज्ने जस्ता कार्यमा असफल हुनु पक्का पनि त्यो समूहको लागि लज्जास्पद हार हो ।

यसरी पटकपटकको आफ्नो असफलताले नाङ्गिएको सो गिरोहले यसपटक आफ्नो लाज छोप्नको लागि नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो स्वच्छ छवि भएको संस्थालाई प्रयोग गरेको देखिन्छ । नत्र त्यो पुस्तक निस्केको आज १७ वर्षपछि र यही इम्बोस्ड नम्बर प्लेट काण्डकै बेला यसै विषयमा प्रा. डा. लुइटेललाई अदालतमा मुद्दा हाल्नु तथा बदनाम गर्नकै लागि किताबमा बौद्धिक चोरीको आरोप किन लगाइयो त ? यो आरोप सही हो भने १७ वर्षसम्म किन बाहिर आएन त ? सबैले गहिरिएर सोच्नुपर्ने बेला आएको छ ।

 

राम लामा अविनाशी , अमेरिका ।

[email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }