शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रोबोट जर्ज उपन्यास सर्सर्ती हेर्दा ( समिक्षा )


  • -प्रा.डा. हिरण्यलाल ज्ञवाली
  • सोमवार, चैत्र ५, २०८०
  • 272
    SHARES

रोबोट जर्ज उपन्यास सर्सर्ती हेर्दा

-प्रा.डा. हिरण्यलाल ज्ञवाली

नारीजातिका समस्या नारीस्रष्टाद्वारा अभिव्यक्त भएमामात्र सत्य, तथ्य र यथार्थमा आधारित हुने देखिन्छ । जतिसुकै प्रयत्न गरे तापनि नारीसमस्यालाई पुरुषस्रष्टाद्वारा व्यक्त गर्न कठिन हुन्छ तापनि साहित्यलेखनमा नारी समुदाय पुरुषभन्दा धेरै पछि मात्र प्रवेश गरेको बुझिन्छ । साहित्यिक लेखनमा नारीजातिको उपस्थिति हुनुअघि नारीका सुख–दुखका अनुभूति वा संवेदनालाई पुरुषले अभिव्यक्त गर्नेगरेको तथ्य इतिहासबाट स्पष्ट हुन्छ । लेख्य नेपाली आरम्भ आजभन्दा अढाई सय वर्षअघि नै भएको पाइए तापनि एक शताब्दीअघि मात्र नेपाली साहित्यमा नारीस्रष्टाको प्रवेश भएको मानिन्छ । प्राणमञ्जरी देवीद्वारा १८७० तिर लेखिएका सुदर्शन टीका र त्रिपुरसुन्दरी पद्धतिबाट नेपाली साहित्यमा नारी लेखनको आरम्भ भएको मानिए तापनि प्रगतिशील साहित्यका सन्दर्भमा सर्वप्रथम योगमायालाई सम्झनु उचित हुन्छ । योगमायाको सामाजिक–साहित्यिक चेतनामूलक अभियान आजभन्दा एक शताब्दीअघि मात्र सुरु भएको हो । नारीमाथि हुने शोषण, अन्याय, अत्याचारविरुद्ध सचेत ढङ्गले कलम चलाउने कार्य वि.सं. २००७ सालपछि भएको मानिन्छ । नेपाली नारीहरू वि.स.२००७ सालको राजनीतिक परिवर्तनपछि मात्र आपूmमाथिको अन्याय–अत्याचार तथा शोषण–उत्पीडनको विरोधमा लेखनका माध्यमबाट सचेत ढङ्गले उत्रन थालेका हुन् ।

योगमाया (१९१७–१९९८) ले तत्कालीन समाजका विकृति र विसंगतिको आलोचना गर्दै समाज सुधारको विचार राखेर ‘सर्वार्थ योगवाणी’ (१९९६) नामक कृतिको रचना गरिन् । यसैगरी समाजको सुधार तथा परिवर्तनको चाहना गरेर स्नेहलता पन्त, सरिता ढकाल र शशीकला शर्मा अगाडि देखापरे । अल्पायुमै दिवंगत भएकी स्नेहलताले कविता र समालोचना लेखेकी थिइन् तर ती रचना उनको मृत्युपछि जलाइएको भन्ने भनाइ रहेको छ । सरिता ढकालले कथा, कविता र समालोचनाका क्षेत्रमा कलम चलाएकी थिइन् । उनका प्रगतिशील दृष्टिमा केही समालोचनाहरू (२०२२), नेपाली साहित्य समालोचनाको समस्या (०४७) र नेपालको राजनीतिक अध्ययन (०५६) नामका तीन कृति प्रकाशित छन् ।

पारिजात नेपाली साहित्य जगत्मा सबैभन्दा माथिल्लो उँचाइमा पुगेकी नारी स्रष्टा हुन् । उनले कविता, कथा, उपन्यास, संस्मरण आदि जस्ता विधामा विशिष्ट योगदान दिएकी छन् । उनका शिरिषको फूल, तोरीबारी बाटा र सपनाहरू, आदिम आकाश, एउटा चित्रमय सुरुवात, साल्गीको बलात्कृत आँसु, धुपी, सल्ला र लालीगुराँसको फेदमा जस्ता कृतिहरू बहुचर्चित छन् । यसैगरी कुन्ता शर्मा पनि नेपाली नारी स्रष्टाहरूमा उँचो पहिचान बनाएकी साहित्यकार हुन् । उनको म उभिएको ठाउँ (२०५२) शीर्षकको कवितासंग्रह प्रकाशित छ । त्यस्तै सुधा त्रिपाठीका बादल, धर्ती र आस्थाहरू (२०५०), जीवनसूत्र र स्वप्नाभास (२०५३), सुट टाई र सुँगुर (२०५९) आदि जस्ता कृतिहरू प्रकाशित छन् ।

कविता पौडेलका काँडेघारीको यात्रा (२०५१), बालचित्कार (२०६१), हीरा (२०६३) जस्ता आत्मसंस्मरणात्मक तथा औपन्यासिक कृतिहरू प्रकाशनमा आएका छन् । यसैगरी नारीस्रष्टाका रूपमा गायत्री विष्ट, गीता खत्री, गौरा रिजाल, नर्मदेश्वरी सत्याल, नीलम कार्की ‘निहारिका’ शारदा शर्मा, झमककुुमारी घिमिरे, राधा पौडेल, हरिदेवी कोइराला, सुलोचना मानन्धर, अनिता लामा, गौरी दाहाल, विजया सुवेदी, सिर्जना दुवाल, हरिकला उप्रेती, हरिमाया भेटवाल, विजया स्मृति, रमा पोखरेल, शान्ता मानवी, भागीरथी श्रेष्ठ, रजनी ढकाल, मधु गुरुङ, भवानी थापा, यशोदा अधिकारी, सुशीला प्रधानाङ्ग, अम्बिका शर्मा, निभा शाह, सत्य पहाडी, माया मुल्मी, जयन्ता पोखरेल, शशी थापा पण्डित, ममता शर्मा नेपाल, नमुना शर्मा, मीना शाक्य, इन्दिरा नेपाल, तीला लेकाली,वानिरा गिरी, बेन्जु शर्मा, ज्ञानु पाण्डे, मञ्जु काँचुली, उषा शेरचन, शारदा शर्मा, कल्पना प्रधान, गीता केशरी, इन्दिरा प्रसाईं, गीता त्रिपाठी, तोया गुरुङ, पद्मावती सिंह, भद्राकुमारी घले, भुवन ढुंगाना, चन्द्रकला नेवार, प्रेमा शाह, गीता त्रिपाठी, विमला तुम्खेवा, सन्ध्या पहाडी, आदि उल्लेखनीय छन् । मदन पुरस्कार गुठीको झन्डै सातदशक लामो इतिहासमा जम्मा चार जना महिलाका कृतिले मात्र मदन पुरस्कार प्राप्त गरेका छन् । ती हुन् पारिजातको शिरिषको फूल र झमक घिमिरेको जीवन काँडा कि फूल, राधा पौडेलको खलङ्गामा हमला र नीलम कार्की ‘निहारिका’को योगमाया ।

विगत केही वर्षयता साहित्यसिर्जनामा नारी सक्रियता द्रुततर रूपमा बढिरहेको छ । नेपालभित्र र नेपालबाहिर रहेर पनि नेपाली नारीहरू साहित्यसिर्जनामा सक्रियतापूर्वक लागिरहेका छन् र उनीहरूद्वारा उत्कृष्ट कृतिहरू सिर्जिएका छन् । त्यसै क्रममा प्रस्तुत लेखमा समकालीन नेपाली साहित्यमा सशक्त नारीस्रष्टाका रूपमा परिचित गीता खत्रीद्वारा लिखित २०८० साल असोजमा प्रकाशित ‘रोबोट जर्ज’ नामक उपन्यासको सामान्य परिचय दिइएको छ ।

वि.स.२०२० सालमा काठमाडौंमा जन्मी हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएकी गीता खत्री आधुनिक नेपाली साहित्यको इतिहासमा एउटा सशक्त नाम हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर अध्यक्ष, केन्द्रीय अध्यक्ष, बोर्ड अफ ट्रस्टी अध्यक्ष हुदै हाल सल्लाहकारको भूमिका निर्बाह गरिरहेकी गीताले गीत–गजल, कविता, कथा, उपन्यास, नियात्रा, नाटक आदि विधा, उपविधामा सशक्ततापूर्वक चलाएको पाइन्छ । डायस्पोरिक नेपाली प्रतिभाका रूपमा चर्चित गीतामा बहुमुखी प्रतिभा पाइन्छ । साहित्यका साथै सङ्गीत, सस्कृति, कला, समाजसेवाआदिमा पनि आफ्नो पहिचान दिन सफल गीता खत्रीको नवौं कृतिका रूपमा ‘रोबोट जर्ज’ उपन्यास प्रकाशनमा आएको छ । उनका प्रकाशित कृतिहरूमध्ये नवौ कृति भए पनि यो प्रथम औपन्यासिक कृति हो । झन्डै चार वर्ष लगाएर लेखिएको यो कृति अमेरिकावासी नेपालीहरूको अवस्था चित्रणमा केद्रित छ । यसको परिवेश संयुक्त राज्य अमेरिका हो भने यसका बहुसङ्ख्यक पात्रहरू अमेरिकावासी नेपालीहरू हुन् ।

यसमा विज्ञानको चरम उपलब्धि, आविष्कार वा उपजहरूलाई विषय बनाइएकाले यसलाई विज्ञान उपन्यास भन्न सकिन्छ भने नारीसमस्यालाई चित्रित गर्दै पुरुषद्वारा नारीमाथि गरिने थिचोमिचोलाई देखाउँदै नारीजातिका हकहित र अधिकारका लागि आवाज उठाइएकाले नारीवादी उपन्यास पनि भन्न सकिन्छ । यसका घटनाहरू विशेषतः न्युयोर्क र त्यसको सेराफेरामा घटित भए तापनि यसले अमेरिकाका नेपालीहरूको अवस्थालाई चित्रण गरेकाले यसलाई अमेरिकाको आँखी झ्याल मान्न सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले “कथा एउटा सानो आँखी झ्याल हो जसबाट सानो संसार चियाइन्छ” भने झैं अमेरिकाका सबै ठाउँमा नघुमे पनि यसले त्यहाँ रहेका नेपालीहरूको अवस्थालाई देखाएको छ । अमेरिका आउनका लागि युवाशक्ति कसरी आकर्षित हुन्छन् र त्यहाँ पुग्छन् अनि त्यहाँ पुगेर केकस्तो नियति भोग्न वाध्य हुन्छन् भन्ने कुरा यसमा स्पष्ट रूपमा देखाइएको छ । साहित्यमा सत्य, शिव र सुन्दर हुन पर्ने हो तर सामाजिक यथार्थवादी उपन्यासमा समाज जस्तो छ त्यस्तो देखाउनुपर्ने भएकाले कतिपय कुरा सत्य हुदाहुदै पनि सुन्दर नहुन सक्छन् । त्यो कुरा यसमा पनि लागू भएको छ ।

यसै सन्दर्भमा प्रस्तुत कृतिको आवरणको पृष्ठ भागमा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलद्वारा यसै कृतिबारे गरिएको टिप्पणी मननीय छ–“ …गीता खत्रीको ‘रोबोट जर्ज’ उपन्यासमा मानिसका सामान्य गतिविधि मात्र होइन प्रविधिले मानवीय संवेदनाको चरमोत्कर्ष स्थितिमाथि पनि प्रभाव पर्न सक्ने प्रक्षेपण गरिएको छ ।” प्रस्तुत टिप्पणीअनुरूप यसमा विज्ञान र प्रविधिका सकारात्मक तथा नकारात्मक दुवै पाटालाई देखाइएको छ । त्यसै गरी भुवनहरि सिग्देलद्वारा व्यक्त अर्को कुरा पनि यसमा लागू हुन्छ “एउटी दुर्घटित नारीको भग्नप्रायः जिन्दगीमा रोबोट जर्जको उपस्थितिले पाठकलाई आह्लादित र रोमोत्तेजक बनाइदिन्छ ।” टिप्पणीमा भनिए झैं रोबोट जर्जको उपस्थितिले पाठकलाई आह्लादित र रोमोत्तेजक बनाइदिए पनि त्यसको व्यवस्थापन गर्न नसकिएकाले रोबटको गन्तव्य कहाँ गएर टुङ्गिने हो भन्नेबारे उपन्यास मौन छ । त्यसको समाधानस्वरूप गीता खत्रीबाट रोबोट जर्ज–२ समेत आउने सम्भावना देखिन्छ ।

मुख्य समाख्याताका रूपमा नीता रहेको यस उपन्यासको मूलकथा तारा र गोवर्धन हुदै पछि तारा र जर्ज अनि अन्त्यमा तारा र रोबोट जर्जमा गएर टुङ्गिएको छ । यसमा बीचबीचमा अन्य उपकथाहरू पनि आएका छन् । मूल कथालाई पुष्टि गर्ने खालका ती उपकथाले गर्दा यो उपन्यास अझ बढी रोचक आकर्षक र पठनीय बनेको छ । पात्रहरू धेरै छन् तर ती उद्देश्य बोकेर आएका छन् । हरेक पात्र खास प्रयोजनका लागि आएका छन् ।

‘रोबोट जर्ज’ उपन्यासको पहिलो वाक्य –“स्वप्न नगरी अमेरिका नेपाली युवाका मनमस्तिष्कमा बसेको सपना हो” भन्ने छ भने अन्तिम वाक्यका रूपमा “भन अब यो जर्जलाई कहाँ लैजाऊँ भन्ने प्रशनार्थक प्रयोग गरिएको छ । यी दुई वाक्यमा यसको विषयवस्तु तथा आख्यान अन्तर्निहित भएको पाइन्छ । यस अर्थमा यो सामाजिक यथार्थवादी उपन्यास हो भन्न सकिन्छ जसमा अमेरिकास्थित नेपाली समाजको यथार्थता देखाइएको छ । तर यसको नामकरण ‘रोबोट जर्ज’ गरिएकाले यो मानवेतर (कृत्रिम मानव) रोबोटलाई प्रमुख पात्र बनाई लेखिएको स्वैरकल्पनामा आधारित उपन्यास हो भन्न सकिन्छ । यसमा मुख्य पात्रका रूपमा रोबोट रहेको छ र उसैका नामबाट यस कृतिको नाम राखिएको छ । त्यसो भए तापनि त्यो मानवलाई स्वीकार्य भएको छैन । यस उपन्यासको अन्त्यमा तारालाई वास्तविकताको बोध गराएर यन्त्रमानवले मानवलाई एक छिन झुक्याउन सक्ला तर सधैंका लागि झुक्याउन सक्दैन भन्ने कुरा पुष्टि गरिएको छ । वैज्ञानिक उपकरण माववजीवनका लागि सहयोगी बन्न सक्छन्, ती उपकरणबाट मानवजीवन सहज हुन सक्छ तर तिनले मानवको स्थान ओगटेर मानवजातिलाई विस्थापित गर्न कदापि सक्तैनन् र गर्न दिनु पनि हुदैन भन्ने सन्देश दिनु पनि यसको उद्देश्य रहेको देखिन्छ । यसरी वैज्ञानिक उपकरणलाई साध्य होइन साधनका रूपमा लिनुपर्ने सन्देश यसले प्रवाहित गरेको छ । झट्ट हेर्दा विज्ञान वरदान जस्तो लागे पनि अन्ततोगत्वा यो अभिशाप हुने कुराको सङ्केत यसले दिएको छ । अन्त्यमा रोबोटलाई थन्क्याउन वा व्यवस्थापन गर्न कठिनाइ हुने कुरा यसबाट बुझिन्छ । रोबोटलाई कहाँ थन्क्याउने वा व्यवस्थापन गर्ने भन्नेबारे यो मौन छ । त्यसैले भविष्यमा वैज्ञानिक विकास विनाशतिर लम्कने आभाष यसले दिएको बुझिन्छ । स्वप्ननगरी अमेरिका सोँचेजस्तो नभए झैं वैज्ञानिक उपकरणहरू पनि सधैका लागि र सबैका लागि उपयोगी नहुन सक्छन् । यो कटुसत्य हो । मानवेतर पात्रहरूको नामबाट नामकरण गरिएको भए तापनि यसमा अन्य पात्रहरू मानव नै रहेका छन् । प्रायः जोडीपात्र रहेको यस उपन्यासमा नारी र पुरुष दुवै थरी पात्रले उत्तिकै स्थान पाएको देखिन्छ । नीता र कल्याण, तारा र गोवर्धन, सावित्री र विनोद, सन्तुमाया र जोन, तृष्णा र दर्शन, नीताकी बहिनी र बहिनीज्वाइँ, भुटानी महिला र तीनजना केटाकेटीको बाबु र श्रीमतीसहितको पुरुष, जर्ज र उसकी पहिली पत्नी (जसको क्यान्सर रोगका कारण निधन भएको थियो), जर्ज र स्पेनिस केटी (जो उसलाई छाडेर अन्यत्र गई), जर्ज र नीता आदि यसमा जोडी पात्रका रूपमा आएका छन् । यी पात्रहरूमध्ये अधिकांश पात्रको दाम्पत्य जीवनमा दरार उत्पन्न भई सम्बन्धविच्छेद हुन्छ भने नीता र कल्याण, सन्तुमाया र जोन, सुजाता र अन्थोनीजस्ता थोरै जोडीको मात्र दाम्पत्यजीवन सफल भएको देखिन्छ । डा.थोमस डेभिडजस्तो कृत्रिम पात्र खडा गरेर यस्ता छद्मभेषधारी चरित्रबाट बच्नुपर्ने सन्देश पनि यसमा दिइएको छ । श्रीमतीसहित तीन जना सन्तानको बाबुले भुटानी महिलालाई झुक्याएको घटनाबाट पनि सतर्कता अपनाउने सन्देश प्रवाहित गरेको पाइन्छ । रूपा र रञ्जित सम्बन्धविच्छेदपश्चात् पुनः सम्बन्ध स्थापति भएका पात्र हुन् । अन्य पात्रहरूमा तारा र नीताका छोराछोरीहरू, चारु (सावित्रीकी छोरी), सावित्रीकी आमा, छिरिङ आदि उल्लेखनीय छन् ।

सन्तुमाया दलालहरूका माध्यमबाट अवैध तरिकाले मेक्सिकोको पर्खाल नाघेर अमेरिका प्रवेश गर्नेहरूको प्रतिनिधि पात्र हो । हाम्रो पूर्वीय समाजमा पहिलेदेखि नै चलिसकेको नियोगविधिद्वारा सन्तान जन्माउने चलनलाई पनि यसमा देखाइएको छ, जसलाई अहिले पनि प्रत्यक्ष वा परोक्ष रूपमा पूर्वीय र पाश्चात्य जगतले समेत आत्मसात् गरिरहेको छ । यसमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पनि उल्लेख गरिएको छ । अमेरिकामा पति–पत्नीबीच सम्बन्धविच्छेद हुनुलाई सामान्य रूपमा लिइने कुरा यसमा देखाइएको छ ।

कसैकसैमा एक किसिमको रोगका रूपमा अत्यधिक यौनचाहना हुने कुरा देखाउँदै गोवर्धन र छिरिङ यौनअतृप्ति रोगले ग्रस्त भएको देखाइएको छ । त्यसबाहेक यसमा नेपालको राजनीतिक दुरावस्था, कुशासन, आपद्विपद्मा प्राप्त हुने वैदेशिक सहयोग लक्षित जनसमुदायसमक्ष नपुगेको कुरा पनि उल्लेख गरिएको छ । नारीजातिले भोगेका तर व्यक्त गर्न नसकेका पीडाका स्वरहरू यसमा अभिव्यक्त भएका छन् । एकातिर सन्तान नपाउनुको पीडा छ भने अर्कातिर सन्तान भए पनि पतिको प्रेम नपाएको कुरा पनि यसमा प्रस्तुत गरिएको छ । फेसबुके बधाई र शुभकामना अनि श्रद्धाञ्जली र समवेदना दिने प्रवृत्ति बढ्दै गएको तर आमाबाबुप्रति सन्तानको सेवाभाव न्यून हुदै गइरहेको प्रायः पत्नीहरू पतिबाट पीडित हुने गरे तापनि कतैकतै पत्नीपीडित पति पनि पाइन्छन् भन्ने तथ्य यसले स्पष्ट पारेको छ ।

इन्टरनेटको सुबिधाले गर्दा धेरै कुराको जानकारी प्राप्त गर्न सकिने भए तापनि त्यसको दुरुपयोग हुदै गएको, त्यसबाट किशोर अवस्था र युवा अवस्थाका युवा–युवतीहरू मात्र होइन प्रौढ अवस्था र वृद्ध अवस्थाका महिला–पुरुषहरू पनि बिग्रिएको तथ्य यसमा प्रस्तुत गरिएको छ ।सामाजिक सञ्जालका माध्यमबाट प्रवाहित गरिने श्लील–अश्लील सबै कुरा हरेक उमेरसमूहका मानिसले लुकी–छिपी मात्र होइन समयको माग हो भन्दै खुलमखुला हेर्ने सुन्ने गर्दछन् । तन बुढो भएपनि मन बुढो नहुने कटु यथार्थ यसमा प्रस्तुत गरिएको छ । यो उपन्यास पढ्दा सबभन्दा तीतो र अविश्वासी नाता पति–पत्नीको हो त भन्ने प्रश्न खडा हुन्छ । यसमा एकाध अपवादबाहेक प्रायः पति पत्नीले एक–अर्कालाई विश्वास नगरेको, विश्वास दिलाउनेले पनि केही समयपछि धोका दिएको देखिन्छ ।

यदि यस्तै हुदै जाने हो भने भविष्यमा सबभन्दाअविश्वासी तथा कटुतापूर्ण नाता पति–पत्नीको हुन जानेछ । सबभन्दा नजिकको र विश्वासको नाता यस्तो हुनु निश्चय नै अत्यन्त दुःखको कुरा हो । विज्ञान र प्रविधिको चरम विकास तथा चमत्कार देखाए पनि यसमा पूर्वीय सभ्यता र संस्कतिको महत्त्व देखाइएको छ । हुन पनि आज विकसित मुलुकमा विज्ञान र प्रविधिका क्षेत्रमा जेजति विकास निर्माणका कामहरू भएका छन् त्यस्तो विकासनिर्माण हाम्रो पूर्वीय जगत्मा प्राचीन कालमा नै भइसकेको कुरा हाम्रा वेद–पुराणआदि ग्रन्थमा उल्लेख भएको पाइन्छ ।

यसमा उल्लेख गरिएका कुराहरू कपोलकल्पित मात्र नभई सत्यतथ्यमा आधारित देखिन्छन् । संसारलाई पिरैपिरको पिरामिडको संज्ञा दिइएको छ र जहाँ गए पनि दुःखले नछाड्ने धारणा व्यक्त गरिएको यस उपन्यासमा कतै नीतालाई वक्ता पात्र बनाइएको छ भने कतै तारालाई वक्ता पात्र बनाइएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा विश्वले कति फड्को मारेको छ भन्ने कुरा बुझ्नका लागि पनि यसको अध्ययनले मद्दत हुने भएकाले विद्यालय, महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले समेत यो पढ्दा उपयोगी हुने देखिन्छ । यसमा विशेषतः मनोविज्ञानसँग सम्बद्ध कुरा उल्लेख भएको देखिन्छ । भाषिक प्रयोगका दृष्टिले हेर्दा यसमा सरल, सरस, आकर्षक भाषाको प्रयो गरिएको छ । यसमा अन्तद्र्वन्द्वका साथै केही मात्रामा बाह्यद्वन्द्व पनि पाइन्छ ।

यसमा कसैको शुभकामना वा भूमिका तथा लेखकीय मन्तव्य पनि राखिएको छैन । आवरणको पछिल्लो भागमा दुई अनुच्छेमा भुवनहरि सिग्देलको यस उपन्यासबारे गरिएको टिप्पणी प्रस्तुत छ । पेजटर्नर प्रा.लि.द्वारा प्रकाशन अभिभारा बहन गरिएको यो कृति २०८० असोजमा प्रकाशित हो जसको मूल्य नेपालमा रु.४००÷ रहेको छ भने विदेशमा यु.एस.डलर १०÷ रहेको छ ।

समसामयिक नेपाली साहित्यको आख्यानविधामा यो कृति एउटा कोसे ढुङ्गा बन्ने अपेक्षा गर्न सकिन्छ । अन्त्यमा एउटा हातले कथा, उपन्यासजस्ता गद्यात्मक आख्यान र निबन्ध तथा अर्का हातले गीत, गजल, कविताजस्ता लयात्मक÷पद्यविधा मात्र होइन दृश्यात्मक नाट्यविधासमेत समान गतिमा सिर्जना गर्न सक्ने अत्यन्त प्रतिभाशाली स्रष्टा गीता खत्रीको साहित्यिक यात्रा सक्रियतापूर्वक अघि बढोस्, उहाँबाट अझ रोचक र ज्ञानवर्धक कृति सिर्जना भइरहून्, समकालीन नेपाली साहित्यको इतिहासमा उनको नाउँ अग्र पङ्क्तिमा रहेको देख्न–सुन्न पाइयोस् भन्दै उहाँको सुस्वास्थ्य, दीर्घजीवनको कामना गर्दछु र आफ्ना लेखनीलाई यहीं विश्राम दिन्छु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }