सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मैले चिनेका र मैले बुझेका महेश -युवराज मैनाली


  • युवराज मैनाली
  • बिहिबार, बैशाख ३, २०८३
  • 467
    SHARES

मैले चिनेका र मैले बुझेका महेश -युवराजमैनाली

महेश प्रसार्इं र मेरो परिचय भएको एक दशक व्यतीत भइसकेको छ । एक दिन बानेश्वरस्थित थापा गाउँमा महेशले मलाई तपाईंको ‘समको पौराणिक नाट्यकौशल’ कृति उत्कृष्ट समालोचना हो, मैले दुई पटक पढें भनेर मलाई निकै प्रशंसा गरे । यो २०७० तिरको कुरा हो । महिनाभने याद भएन ।त्यसपछि उनको र मेरो भेट अलि बाक्लो हुँदै गयो । हामी एक अर्काका कृति आदानप्रदान गर्ने सम्ममा पुग्यौं । उनका प्रकाशित फुटकर रचना मैले पढ्दै आएको थिएँ । त्यतिखेरै मैले उनलाई अत्यन्त बौद्धिक र शक्तिशाली कविको रूपमा ठम्याएको थिएँ । उनका कृतिहरू पढिसकेपछि त म अझ उनको काव्यक्षमताको बढी प्रशंसा गर्न पुगेको छु । उनको र मेरो अहिले दैनिकजस्तो भेटघाट हुन्छ । भेटघाट हुननसकेमा फोन सम्पर्क भने सँधै नै हुने गर्छ । अहिले महेश प्रसाईं मेरा नजिकका मित्रभएका छन्, भनौ अत्यन्त निकट साहित्यिकमित्र ।

महेशका जीवनका बारेमा अनेक आरोहअवरोह सुन्दा अत्यन्तै कहाली लाग्दो जीवन रहेछ उनको । भनौ, संघर्षैसंघर्ष गर्नु परेको रहेछ उनले जीवनमा । उनले बाबुआमाको माया पाएनन् । आमाबाबु भएर पनि उनी टुहुरा जस्तै भए । मावली घरमा शरणार्थीको रूपमा बाल्यकाल व्यतीत गर्नुप¥यो । उनकी आमा सुप्रसिद्ध भाषाशास्त्री महानन्द सापकोटाकी छोरी हुन् । उनी गणेशप्रसाद प्रसाईंकी कान्छी श्रीमती थिइन् । घरमा जेठी श्रीमती भएर पनि गणेश प्रसाईंले दोश्रो विवाह गरेका थिए । २०१३ असोज २१ गते भारत मणिपुरको कालापहाडमा महेशको जन्म भएको थियो । आमा सौतासित टिक्न सकिनन् र तीनवर्षको बालक लिएर माइतीको शरणमा पुगिन् । आफ्नी आमा रत्नमाया सापकोटालाई छोरो सुम्पेर आमा धरणीदेवी हेटौंडामा आएर शिक्षण पेशामा संलग्न भइन् । महेशकी हजुरआमा नै उनकी आमा बन्न पुगिन् । हजुरआमाले माया दिए पनि माइजुहरूको व्यवहार भने राम्रो थिएन ।

उनको बाल्यकाल अभाव, कुण्ठा र निराशामा व्यतीत भयो, तर पनि बालक महेश तीक्ष्ण बुद्धिभएकाले पढाइप्रति उनी मन दिनलागे । मावलीघर विजयपुरमै विद्यालयस्तरीय पढाइपश्चात् डिग्रीसम्मको शिक्षाहासिल गरे । जीवनवृत्तिको निमित्त अनेक पेशा अपनाए । कहिले विराटनगर जुटमिलमा काम गरे त कहिले बैंकमा काम गरे । पत्रकार भए । प्रेस चलाए । पत्रिका प्रकाशन गरे र अन्त्यमा प्राध्यापन पेशामा भने लामो समयसम्म काम गरेर सेवानिवृत्त भए । अहिले उनी साहित्य साधनामा व्यस्त छन् । सामान्य जीवन उनको ठीकै चलिरहेको छ । पारिवारिक विषयमा उनको अत्यासलाग्दो थियो । पहिलो विवाहको महेशको दाम्पत्यजीवन शुरूमा राम्रै थियो । दुवैमा साहित्यिक चेतना भएकाले उनीहरूका कुरा मिल्थे । तीन छोरीको जन्म भएर ठूलै भएपछि उनीहरूबीच खटपट शुरू भयो । सम्बन्धमा चिसो बढ्दै गयो । उनकी पहिली पत्नीले दोश्रो विवाह गरिन् । त्यसपछि महेशको जीवनमा अर्को आँधी आयो । पत्नीको नाममा भएका सम्पत्ति सकिए । उनीफेरि दोश्रो पटक घरवारविहीन भए । उनी संघर्षशील थिए, हरेश खाने व्यक्ति थिएनन् । महेशले छाया लामासित दोश्रो विवाह गरे । रातदिन खटेर एउटा घर जोडे र आफ्नो जीवन रथलाई अघि बढाए ।

महेश प्रसाईंले महेन्द्र मोरंग आदर्श क्याम्पस विराटनगरमा अध्ययन गर्दा प्रजातान्त्रिक पक्षका विद्यार्थीका तर्फबाट ने.वि. संघको अध्यक्ष बनेर प्रजातान्त्रिक आन्दोलनमा समेत सहभागी भए । विपी कोइराला उनका आदर्श थिए । त्यसपछिका प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनहरूमा महेशको कुनै न कुनै रूपमा सहभागिता रहेको देखिन्छ । उनको अन्य क्षेत्रभन्दा साहित्य क्षेत्रमा विशेष झुकाव रहेको छ । मावलका हजुरबुवा सुप्रसिद्ध वाङ्मयसेवी भाषाशास्त्री महानन्द सापकोटा उनका प्रेरक व्यक्तित्व थिए । हजुरबुवालाई थुपै्र चर्चित विशिष्ट साहित्यकारहरू भेट्न आउँदा महेशलाई आपूm पनि साहित्यकार बन्ने प्रवल इच्छा जागृत भयो । उनले देवकोटाका कविता पढे । मावलमा नै वालकृष्ण समलाई भेट्ने अवसर पाए । यसवाहेक त्यतिखेरका चर्चित साहित्यकारहरूसित महेश प्रसाईंको भेटघाट बढ्दै गयो । उनमा रहेको साहित्यिक प्रतिभा अंकुरित भै सकेको थियो । त्यो बढ्न झांगिन मात्र बाँकी थियो ।उनले मोफसलमा रहेर पनि निरन्तर रूपमा रचना प्रकाशन गर्न थाले र साहित्यिक जगत्मा महेश प्रसाईं भएर प्रतिष्ठित व्यक्तित्वका रूपमा आफूलाई उभ्याउन सफल भए । निरन्तर साहित्य साधनाको अर्को नाम नै महेश प्रसाईं हुनपुग्यो । अमूर्त बौद्धिक चेतका कवि भएर आज महेशले साहित्यमा आफ्नो वेग्लै परिचय स्थापित गरिसकेका छन् ।

महेश प्रसाईको साहित्यमा विविधता छ । उनले साहित्यका सबै विधामा कलम चलाएका छन् । उनले कालिदास, देवकोटा, विश्वेश्वर र भीमनिधि तिवारीबाट प्रभाव ग्रहण गरेका छन् । आयामिक आन्दोलनका प्रणेता कवि ईश्वर बल्लभको शैली पनि उनलाई मन परेको देखिन्छ । उनका कवितामा विषयगत विविधता छन् । कविता बौद्धिक, भावात्मक भएमामात्र कविताले सौन्दर्य धारण गर्छ र कवितामा व्यञ्जनाशक्ति हुनुपर्छ भन्ने भनाइ महेशका कवितामा लागू भएको देखिन्छ । उनी कवितामा नयाँनयाँ प्रयोगमा प्रवृत्त रहेको देखिन्छ । निरन्तर प्रकाशन भैरहेका महेश कृतिगत रूपमाभने २०३३ मा ‘भूमिका’ पछि मुक्तक संग्रहलिएर देखा पर्छन् ।

तत्पश्चात् उनका कृतिहरू निरन्तर रूपमा प्रकाशन भैरहेका छन् । महेश ऊर्जाशील प्रतिभा सम्पन्न कवि हुन् । उनले छोटा मुक्तकदेखि काव्यसम्मको सिर्जना गरेर आफूलाई काव्य साधनामा सक्रियतापूर्वक प्रस्तुत गरेका छन् । ‘अग्निको प्राग्भूमिमा’२०४२ मा प्रकाशनमा आएपछि उनको कविव्यक्तित्व व्यापक रूपमा अगाडि आएको छ । यसमा बौद्धिकता र अमूर्तता रहेको छ । साहित्यिक पत्रपत्रिका सामयिक संकलनमा समेत उनका कविताहरू समाविष्ट भएको पाइन्छ । उनी कवितामात्र लेख्दैनन् कथामा पनि उनत्यत्तिकै सक्रिय रूपमारहेका देखिन्छन् । सामाजिक यथार्थ र मानवीय संवेदनाका स्वरहरू उनका कथामा अभिव्यक्तभएका छन् । कथा,व्यथामा आधारित हुनुपर्छ भन्ने मान्यता राखेर उनी कथा सिर्जना गर्दछन् । एउटा भीष्मपितामहको अन्त्यकथा संग्रह उनको प्रकाशन उन्मुख रहेको छ ।उनको एउटा उपन्यास पनि प्रकाशन उन्मुख अवस्थामा छ भन्ने सुनिएको छ ।

लघुकथामा त उनी निकै सक्रिय छन् । छोटा, मीठा, व्यङ्ग्यचेतना भएका प्रतीक र बिम्व खेलाएरै काव्यात्मक शैलीमा लघुकथा सिर्जना गर्ने कलामा महेश अद्वितीय लाग्छन् । लघुकथा कसैले नलेख्ने बेलामा महेश लघुकथा समेत सिर्जना गरेर समकालीन साहित्यकारहरूलाई यतातिर लाग्न प्रेरित समेत गरेको देखिन्छ । गिरिराज आचार्यको सम्पादनमा झलकमा ‘उपहार’शीर्षकको लघुकथा २०२९ सालमा प्रकाशित भएको छ । यसरी उनको लघुकथा यात्राले लामो समय पार गरेको छ । चारवटा लघुकथा संग्रह उनका प्रकाशित भैसकेका छन् भने अरू दुईवटा संग्रहप्रकाशन गर्न तयारी अवस्थामा रहेका छ्न । यसरी आख्यानका छोटा मसिना बान्कीदेखि बृहत् स्वरूप उपन्याससम्म लेखेर उनले आफ्नो आख्यानकार व्यक्तित्व प्रदर्शित गरिसकेका छन् ।

निबन्ध लेखन पनि उनको अभिव्यक्तिको माध्यम बनेको छ । ‘शब्द सारथि’ २०५६ सालमा प्रकाशित निबन्ध संग्रह हो । यो व्यक्तिस्केच निबन्ध कृति हो । चालीसजना वरिष्ठ साहित्यिकव्यक्तिहरूसितका टिप्पणी र अन्तर्वार्ताहरू यसमा समाविष्ट गरिएका छन् । यसभित्रका निबन्धहरू सरल र संप्रेषणीय छन् । यस संग्रहबाहेक कमलदीक्षितसित एकसय एक प्रश्न अर्को अन्तरसंवादात्मक कृति हो । यसमा भाषासेवी, वाङ्मयसाधक कमल दीक्षितसित साहित्यमा लामो संवाद गरिएको छ । समकालीनर पूर्ववर्ति साहित्यका सन्दर्भ उठाइएको छ । अन्तर्वार्ता साहित्यमा यसको महत्व निकै छ । निबन्ध लेखक, मदनपुरस्कारका सञ्चालक कमल दीक्षितलगायत ऐतिहासिक सन्दर्भका विषयमा बुझ्न यो कृति अत्यन्त उपयोगी बनेको छ । उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकार रहेर पनि निबन्ध प्रकाशन गरेका छन् । ‘गरिमा’ र ‘कान्तिपुर’दैनिकदेखि अरू साप्ताहिक पत्रिकाहरूमा समेत उनी स्तम्भकार रहेका देखिन्छन् । थोरैमा धेरै भन्न सक्ने कला महेशको विशिष्ट गुण हो ।

महेश प्रसाईमा लेखन मात्र होइन सम्पादक व्यक्तित्व पनि रहेको छ । उनले धेरै ग्रन्थहरू सम्पादन गरेका छन् । उनले कथा,कविता र निबन्धबाहेक नाटकमा पनि हात हालेको देखिन्छ । उनका छिटपुट रूपमा एकांकी नाटक प्रकाशित भएका छन् । समाजका अन्याय, अनैतिकता र सामाजिक दुराचरण माथिव्यंग्य प्रकट गरिएका उनका नाटकका विषय रहेका छन् । उनी गीत पनि लेख्छन् । उनका केही गीतहरू रेडियो नेपालमा प्रसारित छन् । उनको पहिलो गीत ‘दर्दमै डुब्यो जीवन’हो ।गीत सिद्धान्त र इतिहासमा कृष्णहरि वरालले महेशका गीतहरूको चर्चा उठाएका छन् र यसमा उनका गीतहरू संगृहीत पनि छन् । महेश प्रसाई समालोचना लेखनमा पनि छन् । पूर्वाञ्चल समालोचना संग्रहमा उनले विजय चालिसेको प्रथम उपन्यास ‘अनि कुहिरो फाट्छ’ को समालोचना गरेका छन् ।यस बाहेक नेपालभित्रका र नेपालबाहिरका स्रष्टाहरूका कृतिको उनले समालोचना गरेकाछन् । कृतिका केस्रा केस्रा केलाउँदै आफ्ना विचार प्रस्तुत गर्नु उनको समालोचकीय विशेषता हो । यसका अतिरिक्त उनको भूमिका लेखनमा पनि योगदान रहेको छ । सयौं साहित्यिक कृतिहरूमा महेशका भूमिका रहेका छन् । महेश प्रसाई लेखन, सम्पादन र प्रकाशनमात्र होइन अन्य साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन् ।

विराटनगरमा रहेका वेला उनले समयसमयमा साहित्यकारको जमघट गराएर सिर्जना वाचनकार्यक्रम पनि गरेको देखिन्छ । अग्रजहरूको सम्मान आजका पुस्ताको दायित्व हो भन्ने भनाइ मेहशमा लागु हुन्छ । उनले २०५१ साल फागुनमा राष्ट्रकवि माधव घिमिरे,कविवर केदारमान व्यथित र प्रसिद्ध भाषाशास्त्री वालकृष्ण पोखरेलजस्ता चर्चित साहित्यिक व्यक्तिहरूको रथयात्रा गराउने कार्यमा संयोजकको भूमिका निर्वाह गरेका थिए । रथयात्रामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समेत सहभागी गराउनु महेशको विशेष सक्रियता रहेको छ ।

महेश प्रसाईंको विभिन्न साहित्यिक संघसंस्थाहरूमा संलग्नता देखिन्छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान, मदनशीला साहित्य प्रतिष्ठानदेखि अन्य संघ संस्थाहरूमा समेत महेश कुनै न कुनै रूपमा सक्रिय छन् । उनले साहित्यमा धेरै गरे । एउटा स्रष्टा निरन्तर नदीजस्तो प्रवाहशील हुनुपर्छ भन्ने भनाइसित महेश प्रसाईं दृष्टान्तीय नायक हुन् । उनले साहित्यमा पु¥याएको योगदानको उच्चमूल्यांकन गर्दै विभिन्न संघसंस्थाहरूबाट उनी सम्मानित र पुरस्कृत भैसकेका छन् । युवावर्ष मोती पुरस्कार, व्यथित काव्यपुरस्कार, सुरभि लघुकथा पुरस्कारदेखि नेपाल सरकारको संस्कृति मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कार लगायत अनेकौं पुरस्कारबाट उनी सम्मानित भैसकेका छन् ।

साहित्य सिर्जना, साहित्य सम्पादन, भूमिका लेखन, पत्रिका प्रकाशन, संघसंस्थाहरूमा संलग्न रहेर उनले साहित्यको श्रीवृद्धिमा विशेष योगदान पु¥याएका छन् । आफ्नो पाँचदशक लामो साहित्य साधनामा उनले धेरै गरे तर उनी कहिल्यै विश्राम लिदैनन् । साहित्य सेवामा समर्पित रहेर केही न केही गर्छन् र गरिरहेकाछन् । यिनै साहित्यिक योगदानको कदर अहिले साहित्यसेवी शेषराज शिवाकोटीले उनलाई आफ्नो पत्रिका‘ज्ञानगुनका कुरा’मा विशेष अङ्कदिएर सम्मान गर्न लागेका छन् ।

-युवराज मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)