लघुकथा- ‘सडक र शव’
अशल, इमान्दार र साेझाे केटाे फुर्वाकाे विवाह गाउँलेहरूले गाउँकै साेझीकेटी आरतीसँग गरिदिए । खेतीपाती र ज्याला मजदुरी गरेर फुर्वा र आरतीले जीवन बिताइरहेका थिए । खै के कुरामा चित्त बुझेन । एउटा छोरो उपहार दिएपछि आरती पल्लो गाउँकाे हर्केसंग हिँडी । त्यसपछि भने फुर्बा पागल जस्तै भयो।
नाबालक छोरा पालेर बस्नुपर्ने फुर्बाले आफूलाई रक्सीमै डुबाइदियो । चौबीसैघण्टा नशामा हिँड्न थाल्यो । उसलाई काेही काेहीले सम्झाए तर उसले कहिल्यै सुनेन। सायद सम्झाउनुपर्नेले सम्झाएनन् । व्यवहार र हालत दुबै बिग्रदै गए । उसलाई सुधार्न खासै कसैले प्रयास गरेनन् । ब्यबहार र बानीका कारण गाउँलेहरू पनि आजित भए । आफन्तहरूले वास्ता गर्न छाडे । ऊ सडकमै खाने सडकमै सुत्ने गर्न थाल्यो। ऊ बेवारिसे जस्तै भयो र उसको छोरा पनि ।
एकदिन मध्यरातमा सडक दुर्घटनामा फुर्वाले ज्यान गुमायो। उसको लास सडकमा राखेर गाउँलेहरूले बाटो बन्द गरे । सवारीधनीसँग गाउँलेहरूले नाबालक बच्चाको भविष्य भन्दै ठूलै रकम माग गरे।
घरजग्गा धितोमा राखी व्यवसाय गरेको सवारी धनीले मागे जति पैसा तिर्न नसक्ने भयो। तर गाउँलेहरूले सडक सुचारु गर्न मानेनन् । अन्त्यमा प्रशासन र अन्य सरोकारवालाहरू जम्मा भए । निकै लामो रस्साकस्सी र छलफल पश्चात क्षतिपूर्ति र भरणपोषण बापतकाे रकम बाह्रलाख प्राप्त हुने भयो ।
त्यसपछि क्षतिपूर्ति र बीमा बापतको रकम बुझेर बच्चाकाे अभिभाबकत्व दाबी गर्नेकाे ताँती लाग्यो । ताँती लाग्नेहरूमा बच्चाकै जेठाबा, छिमेकी काइलो, तल्ला घरे राइलो, माथ्लाघरे च्याङ्बा, मितेनी काकी, भुसुनी माझी, संगीते साइलो लगायत थुप्रै थुप्रै । लामो समयसम्म पनि दाबीबाट कोही पछि हटेनन् ।
बच्चालाई गोद लिन गाउँलेहरुको तँछाड मँछाड भयो। फुर्बा मरेको खबर सुनेर तीनवर्ष अघि नै हर्केसँग हिँडेकी आरती समेत मेरो श्रीमान हो भन्दै रुन थाली । निकै ठूलो विवादपछि मुद्दा अदालतसम्म पुग्यो । सडकमा फुर्बाकाे मृतशरीर गन्हाइरहेको थियो। लासमाथिको हकदाबी कसैको पुष्टि भएको थिएन। सडक र शव फैसला, पुष्टि र हकदाबीको व्यग्र प्रतिक्षामा थिए तर कहिले कसको हुने हो टुङ्गो थिएन ।
– गोपीराम भण्डारी
काठमाडौँ ।
