सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाश्चात्य भाषा, साहित्य र साहित्य सिद्धान्तका ज्ञाता अभि सुवेदी -मुक्ती उपाध्याय बराल


  • मुक्ती उपाध्याय बराल
  • मङ्लबार, माघ २३, २०८०
  • 95
    SHARES

सम्वाद सञ्जाल पत्रिकाको आयोजनामा भइरहेको अन्तर्राष्ट्रिय र राष्ट्रिय पुरस्कारको यस भव्य र ऐतिहासिक कार्यक्रमको शोभा बढाउँदै सफलता प्रदान गर्न उपस्थित हुनुभएका सम्पूर्ण विद्वतजनलाई  एकमुष्ठ रूपमा सम्बोधनमा राख्दै सबैलाई आन्तरिक हृदयबाट नमन गर्दछु ।

कवि दुई दिदी बहिनी ललिता र लतिकाज्यू अनेसासका सक्रिय आजीवन सदस्य पनि हुनुहुन्छ ।  सन् २०१९ को ३ र ४ अगस्टमा लण्डनमा आयोजित अनेसासको छैटौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा उहाँहरू दुईजना लगायत भारतबाट हामी जम्मा बाह्रजना अनेसासका आजीवन सदस्यहरू त्यस सम्मेलनमा सहभागी बन्न गएका थियौँ । अगस्ट ४ अर्थात् दोस्रो दिनको कार्यक्रम चल्दा चल्दै ललिताज्यूका श्रीमान् युगेन्द्र छेत्रीज्यूलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गर्नुपरेको जानकारी फोन मार्फत हुन गयो । एकछिन सम्मेलनको कार्यक्रम नै निस्तब्ध बन्यो । त्यस खबरले हामी सबै नै मर्माहत भएका थियौँ । दिदीको अवस्था झन् कस्तो भएको थियो होला ?

तुरुन्त लण्डनको कार्यक्रम छोडेर दिदीलाई सिलगढी आउन बाध्य हुनुपऱ्यो । दैवको लाठी कहिले कसलाई कहाँ पर्छ कसले जान्ने ? धन्न आफ्ना जीवनसाथीको अन्तिम दर्शन गर्न दिदीलाई जुरेको रहेछ । युगेन्द्र छेत्रीज्यू अल इण्डिया रेडियोमा कर्मरत हुनुहुन्थ्यो । खरसाङ रेडियोबाट प्रसारण हुने शिक्षाज्योति कार्यक्रमको सुरु उहाँले नै गर्नुभएको थियो । उहाँ सफल अनुवादक हुँदा हुँदै भाषा साहित्य प्रेमी पनि हुनुहुन्थ्यो ।

ललिता र लतिकाका पिताजी पनि एकजना होनहार व्यक्तित्वका धनी हुनुहुन्थ्यो । सामाजिक काममा उहाँको भूमिका जहिले पनि अग्रणी रहेको हुन्थ्यो । जाति र समाज भनेपछि उहाँले हुरुक्कै गर्नुहुन्थ्यो । उहाँ एकजना राम्रो कवि पनि हुनुहुन्थ्यो । उहाँ बिरामी हुँदाको एउटा भेटमा उहाँको एउटा देशभक्ति कवितालाई सङ्गीत गरिदिनु भनेर मलाई अनुरोध राख्नु भएको थियो । नभन्दै २००७ मा विमोचित मेरो देशभक्ति गीतको एलबम उत्सर्ग जन्मभूमिलाई भन्नेमा उहाँको एउटा गीत राख्न जुऱ्यो । त्यो गीत उहाँप्रति मेरो श्रद्धाञ्जली नै बन्न पुग्यो ।

सन २०१९ को १९ र २० अक्टोबरमा दार्जिलिङमा भएको अनेसासको दोस्रो एसियाली नेपाली साहित्य सम्मेलनको अवसरमा युगेन्द्र छेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार दुई दुई वर्षमा प्रदान गर्ने घोषणा गरेर जोशी बहिनीहरूको मनमा रहेको साहित्य सेवाको सक्रिय भावनालाई सबैको समक्ष राखिएको थियो ।

यी दुई पुरस्कार विशेष गरी नेपालीबाट अङ्ग्रेजी भाषामा गरिने अनुवादलाई प्रोत्साहन दिन स्थापना गरिएको हो । किनभने हाम्रो भाषाका विशेष कृतिहरू अङ्ग्रेजीमा अनुवाद भएर विश्व दरबारमा पुग्न सकोस् भन्ने दुई दिदीबहिनीहरूको आन्तरिक कामना रहेको छ । कति ठुलो विचार हो उहाँहरूको । धन्य छन् यी दुई दिदीर बहिनी । युगेन्द्र छेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार पहिलोपल्ट सन २०२१ मा क्रमशः डा. गोविन्दराज भट्टराई र डा. जीवन नामदुङलाई प्रदान गरिएको थियो ।

आफ्ना आत्मीयजनको नाममा अनुवाद कार्यका लागि नै पुरस्कार प्रदान गर्न लिएको निर्णय पनि अति नै प्रशंसनीय देखिन्छ । किनभने अनुवाद कर्म अहिले  विश्वलाई एक सूत्रमा जोड्ने दह्रो पुल बनिएको छ । अनुवाद बिना बन्धुत्व हुँदैन, विकास पनि हुँदैन । अनुवाद बिना एउटा देश कतै पनि बगेर जान नसक्ने दुर्गन्धमय स्थिर दह बनिन्छ अनि आफैँमा हराउँछ । भनिन्छ कुनै पनि भाषामा लेखिएको साहित्य विश्व साहित्यको सम्पत्ति वा धरोहर बन्छ । कुनै पनि भाषा र साहित्यको समृद्धिमा अनुवादको विशिष्ट महत्वलाई कसैले नकार्न सक्दैन । अनुवादको अफुरन्त महत्वलाई विश्वले अँगालेर अघि बढिरहेको समयमा उहाँहरूले अघि सारेका यी दुई पुरस्कार अनुवाद साहित्य सेवामा एउटा प्रशंसनीय पाइला मान्नुपर्छ । भारतीय नेपाली साहित्यको क्षेत्रमा निजी प्रयत्नको प्रतिफल स्वरूप यी दुई अनुवाद पुरस्कारको स्थापनाले पहिलो पल्ट एउटा ऐतिहासिक पृष्ठभूमिको निर्माण गरेको देखिन्छ ।

युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना श्रीमान् युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद सञ्जालकी सम्पादक, कवि र साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो । साहित्य सेवामा रहेको उहाँको मनको विशालता, एकाग्रता साथै पूर्वजहरूको कर्म, संस्कार तथा आशीर्वादको परिणाम स्वरूप रहेको देखिन्छ आजको यो भव्य कार्यक्रम  ।

आज युगेन्द्र छेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारले सुशोभित हुन लाग्नुभएको आदरणीय डा. अभि नारायण सुवेदीज्यूको परिचय राख्ने एउटा ठूलो दायित्व सुम्पिएर दिदी ललिताजीले मलाई निकै अप्ठ्यारामा पार्नुभएको छ । एउटा सानु टुकी बालेर सूर्यलाई चिनाउने आदेश गर्नुभएको छ उहाँले । म अलमल्लको स्थितिमा छु । सानु डुङ्गामा चढेर म डा. अभि सुवेदीजस्ता साहित्यका विशाल भव सागरलाई कति पो देखाउन वा चिनाउन सकुँला र ? तर पनि ललिताजीको मप्रति रहेको विश्वास र आग्रहले गर्दा हात्ती चिनाउन खोज्ने एउटा अन्धाको प्रयास म यहाँ राख्ने कोशिस गर्दै छु ।

साहित्यकारहरूको चिनारी केवल उनीहरूका सिर्जनामा मात्रै लुकेको हुँदैन । साहित्यकारहरूको असल चिनारी लुकेको हुन्छ उहाँहरूको विचारमा, व्यवहारमा, आदर्शमा, बोलीमा, वचनमा, नम्रतामा, फराकिलो सोच र विद्वतामा । सरसरती उहाँहरूको सृजनाहरूको सूची फलाक्दै जानु मात्रै असल परिचय नहोला कि जस्तो लाग्छ । खासमा भन्नु हो भने उहाँ प्रोफेसर डाक्टर अभिनारायण सुवेदी हुनुहुन्छ । तर नामका अघि लेखिने यी दुवै उपाधि उहाँका लेख रचनामा कहिल्यै आएनन् ।यो उहाँको विनम्रता हो, विनयशीलता हो अनि आडम्बरहीनता हो । उहाँलाई जगतले अभि सुवेदी भनेर जान्दछ ।

हुन त मैले सुवेदीज्यूको नाम नाटककारका रूपमा धेरै चर्चा पढेको र सुनेको हुँ । उहाँका पुस्तक भने मलाई पढ़्न अहिलेसम्म जुरेको छैन ।  उहाँ हाम्रा विद्वान साहित्यकार डा. गोविन्दराज भट्टराईका सम्धी हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छ । सुवेदीका छोरासित डा. गोविन्दराजज्यूकी जेठी छोरी सेवाको विवाह भएको हो । हाम्रो नेपाली भाषा साहित्यको फाँटमा यी दुई गजबका सम्धीहरूको देन बिर्सेर बिर्सी नसक्नु छ । पूर्वीय तथा पाश्चात्य साहित्य र दर्शनका गहन अध्येता अभि सुवेदीको बहुआयामिक व्यक्तित्व कविता, निबन्ध, नाटक, समालोचना, अनुवाद र सम्पादन विधामा घनिभूत भएर रेखाङ्कित भएको पाइन्छ ।

अभि नारायण सुवेदी वि. स. २००२ मा उहाँ तेह्रथुमको सावला गाउँमा जन्मिनुभएको हो ।उहाँकी माताको नाम रमा सुवेदी र बाबुको नाम भास्कर सुवेदी थियो ।राम्रो प्रशासक ज्योतिषका ज्ञाता भास्कर सुवेदीको देहान्त अभि नारायण चार महिनाको हुँदा नै भएको थियो । यसरी बुबाको वात्सल्य र स्नेहबाट अभिजी वञ्चित हुनुभएको थियो । उहाँकी आमा धार्मिक ग्रन्थहरू राम्रो सँग पढ्न सक्ने हुनुहुन्थ्यो । अभिको पढाइ लेखाइको प्रारम्भ आमाकै अगुवाइमा भएको हो । अभिजीकी आमा रमा सुवेदी शिक्षाको महत्त्व राम्ररी बुझेकी दूरदर्शी नारी हुनुहुन्थ्यो । आमाकै मार्गदर्शनमा उहाँको शिक्षा प्रारम्भ भएको थियो ।

इतिहास पल्टाएर हेर्ने हो भने आमाकै विशेष संस्कार र प्राणबल पाएर संसारका महान् व्यक्तित्वहरूको जीवनको उच्चता निर्माण भएका उदाहरणहरू हामी धेरै पाउँछौँ । असल आमाका असल छोरा भएर सुवेदीजी पनि सोही अनुरूप अघि बढ्दै जानुभयो । उहाँ जन्मिँदै विलक्षण प्रतिभा लिएर जन्मिनु भएको हो । उहाँको त्यस प्रतिभालाई सजाउनुभयो आमा रत्ना सुवेदीले । आमाको सुसंस्कार र आध्यात्मिक चिन्तनको प्रभावले नैहरक्षण उच्च सोच मनमा राखेर एकजना महान् सर्जकका रूपमा हाम्राअघि उपस्थित हुनुभयो प्रा.डा. अभिनारायण सुवेदीज्यू । आजको दिन हाम्रा लागि गौरवपूर्ण दिन बनेको छ ।

सानै उमेरदेखि उहाँ कविता लेख्नुहुन्थ्यो र मादल बजाएर गीत पनि गाउनुहुन्थ्यो । राजनीतिका पार्टीहरूले भाषण गर्न मानिस जम्मा गर्नका लागि सुवेदीलाई गीत गाउन लगाउँथे । उहाँको गीत सुनेपछि गाउँमा मानिसहरू भेला हुन थाल्थे । अनि नेताहरूको भाषण सुरु हुन्थ्यो । यस्तो कुराले उहाँको अन्तर आत्मामा शक्ति बोध हुन्थ्यो । उहाँले गाएका गीतहरू तेह्रथुम भरिका मानिसको मुखमुखमा सुनिन्थ्यो । यहाँसम्म कि दार्जिलिङका एकजना शिक्षकले सुवेदीकै गीत हार्मोनियम बजाएर गाउँदै थिए ।  उनलाई गीतकारको नाम थाहा थिएन । सानो बालख केटो गीतकार भन्ने थाहा पाएर ती गायक कलाकार दङ्गै परेका थिए । ‘कोक्रोभित्र नानी रोयो’ भन्ने गीत बनारसबाट प्रकाशित हुने पत्रिका नौलो पाइलोमा प्रकाशित भएको थियो ।

“अरूले पनि सुनुन् भनेर गरिएको निजी गन्थन हो निबन्ध । निबन्धमा पनि कवितामा झैँ बिम्बहरू अनि अनुभवहरूसँग खेल्न सकिन्छ । सिर्जनात्मक द्वन्द्व वा सांवादिक अवस्थालाई लेख्न सकिने विधा निबन्ध हो ।”त्यसैले यो विधा उहाँलाई  अत्यन्त मन पर्छ भनेर कविता विधाबाट लेखन कार्य थाल्नुहुने सुवेदीज्यू भन्नुहुन्छ ।उहाँले पूर्व र पश्चिमका धेरै गहकिला निबन्धहरूको अध्ययन गरिसक्नु भएको छ । “निबन्ध आफ्नो डायरी जस्तो पनि रहेछ जसले आफ्नो  विगतलाई मुरलीको धुन जस्तै बजाएर सुनाउँछ” भन्ने निबन्धबारे उहाँले गरेको अभिव्यक्ति मलाई त उत्पातै मन पऱ्यो । पाश्चात्य भाषा, साहित्य र साहित्य सिद्धान्तका ज्ञाता अभि सुवेदीले नेपाली साहित्यलाई समालोचकीय दृष्टिकोण र अनुवादद्वारा ठुलो योगदान पुऱ्याउनु भएको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा गहकिलो रूपले कलम चलाउने विद्वान हुनुहुन्छ उहाँ ।

अभि सुवेदी अत्यन्तै रसिलो,भरिलो, रमाइलो बहुआयामिक प्रतिभा हुनुहुन्छ । सङ्गीत  उहाँ जन्मिँदैका प्रतिभा हुनुहुन्छ । उहाँको अन्तर्मनको भित्री आह्वान नै हो गायन ।

उहाँसित सम्बन्धित गायन र गितारको एउटा राम्रो र चाखलाग्दो प्रसङ्ग छ । बीस वर्षको उमेरमा उहाँले पहिलो पल्ट गितार धरानका साथी चन्द्रशेखर श्रेष्ठको हातमा देख्नुभएको थियो । काठमाडौं आएपछि उहाँको भेट भयो क्रान्तिकारी धुनको फ्युजन गर्ने मञ्जुलसित । मञ्जुलको घरमा गितारसित उहाँको दोस्रो जम्काभेट भएथ्यो अनि त्यही जम्का भेटमा उहाँले मञ्जुलबाट गितारका सामान्य कडहरू सिक्नुभएको थियो । साठीको दशकमा हातमा गितार बोकेर नयाँ नयाँ भाकामा लेघ्रो तानेर नबुझिने अङ्ग्रेजी पप गीत गाउने हिप्पीहरूको प्रवेश भएको थियो । त्यस दशकमा गोपाल र नातिकाजीको समूह सुगम सङ्गीतमा रमेको थियो भने युवाहरूको जमात चाहिँ पपमा रमाउँदै थियो ।

सुवेदी सर चाहिँ नारायण गोपाल र गोपाल योञ्जनको शास्त्रीय साधनामा दिनभरि सामेल हुने गर्नुहुन्थ्यो अनि साँझ परेपछि हिप्पीका गितारका धुन सुन्न स्वयम्भू डाँडा अनि कहिले झोँछुको गल्लीमा पुग्नुहुन्थ्यो । उहाँ स्वयम् यसरी भन्नुहुन्छ-“म ती हिप्पीका गीत पनि सुन्थेँ, गोपालहरूको गीत पनि । आकाश- पातालको फरक लाग्थ्यो । हिप्पीको लेघ्रोमा जोश भरिएजस्तो, गोपालहरूको आलापमा सरल जीवन बगे जस्तो ।” दुवै प्रकारका गीतका सुरले तानिनुभएको अभि सरले अर्को ठाउँमा यसरी भन्नुहुन्छ –  “त्यही झोँकमा मैले पनि एक साँझ दुई सय रुपैयाँमा गितार किनेँ । कर्ड मञ्जुलले सिकाएकै थियो । त्यही साँझबाट दाहिने हात तारमा रगड्दै देब्रे हातले धुन निकालेर अङ्ग्रेजी गीत गाउन थालेँ ।”

उहाँ अहिले पनि अङ्ग्रेजी पप धुन सुन्नुहुन्छ । अभिसरका कान्छा छोरा गिरीशको एउटा रक ब्याण्ड छ । अभि सरले किनेको साठी दशकको त्यही गितार छोराले पनि बजाउँछन् । औँसीको रातमा छोरासितै घरको छतमा बसेर उहाँ अहिले पनि गितार बजाएर गीत गुनगुनाउनु हुन्छ र  सङ्गीत सौन्दर्यको अनुशीलन गर्नुहुन्छ । उहाँको स्वर सुरिलो र मीठो थियो । अहिलेसम्म पनि उहाँको स्वर मीठो छ भन्ने कुरा थाहा लाग्छ ।

कार्यक्रममा उहाँको गायन सुनेर आनन्दमा झुम्न पाइएला भन्ने कुराको आशा अनुचित नहोला । सिलगढीमा सायद यस्तो मौका जुरेको पहिलो नै होला । म स्वयम् पनि गीत सङ्गीतमा रम्ने मान्छे भएकोले आजको यस्तो सुनौलो मौका गुमाउने इच्छा छैन । म मात्रै होइन । दर्शकलाई पनि सो अवसरको प्रतीक्षा अवश्य होला । गायनका धरोहर स्वरूप रहेका धर्मराज थापाले उहाँको मनमा ठुलो प्रभाव पारेको कुरा उहाँ स्वयम् गर्नुहुन्छ । उहाँका नजिकमा भएका केही गायक कलाकारहरूमा नातिकाजी, नरनाथ ढकाल, नारायण गोपाल, अम्बर गुरुङ आदिको नाम लिन सकिन्छ ।

सानैदेखि नाटकप्रति पनि उहाँको रुचि असाद्धै रहेको देखिन्छ । नाटक लेखन र अभिनय कला उहाँमा सँगसँगै झ्याँगिएर गएको हो । नाटक लेख्दा उहाँले काव्यिक र बोलीचालीको भाषा दुवै प्रयोग गर्नुभएको छ । आरुका फूलका सपना र अग्निको कथा नाटकमा काव्यिक अभिव्यक्ति र कवितामा लेखिएका संवादहरूलाई विचार गर्दा उहाँमा बालकृष्ण समको प्रभाव परेको कुरा स्वयम स्विकार्नु हुन्छ । उहाँ एकजना राम्रो अभिनेता पनि हुनुहुन्छ । उहाँ विश्वका अनेकौँ देशमा नाट्य अधिवेशन र उत्सवहरूमा सहभागी बन्न जानुभएको छ । उहाँ भन्नुहुन्छ नाटक र मञ्च सामूहिक कला हो अनि अहिले पनि उहाँले नाटक लेख्दै हुनुहुन्छ र सिक्दै हुनुहुन्छ । हो नि यो सिक्ने कार्य कहिले पो सकिन्छ र?

उहाँको अग्निको कथा नाटक नेपाल, भारत र युरोपमा समेत गरी १६० पटक भन्दा धेरै मञ्चन भइसकेको छ । डेनमार्कको एलबोर्गमायो नाटक त्यहाँको गुरुकुलले प्रस्तुत गरेको थियो । त्यस समयमा सुवेदीज्यू स्वयम् त्यहाँ उपस्थित हुनुहुन्थ्यो । नर्वेली नाटककार हेनरिक इब्सेनकोपुतलीको घर र सुवेदीको अग्निको कथा सँगै मञ्चन भएको थियो । मैले एउटा गजबको कुरा के थाहा पाएको छु भने, दुई नाटक मञ्चनपछि भएको एउटा पार्टीमा एकजना प्राध्यापिकाले अभिज्यूलाई नै सोधिछन् –“यो नाटक अग्निको कथा लेख्ने नाटककार मरेको कति भयो?” यस प्रश्नको पछाडि लुकेको कारण के रहेछ भने, त्यहाँका विद्वानहरूले उन्नाइसौँ शताब्दीका इब्सेनको व्यक्तित्वलाई नाटककारको अखण्ड अवतार मान्ने गर्छन् । सोही प्रभाव सुवेदीज्यूको सो नाटकले ती प्राध्यापिकाका मनमा पारेको  थियो ।  भनेपछि अग्निको कथा नाटक कति शक्तिशाली रहेछ भन्ने थाहा लाग्छ ।

डा. गोविन्दराज भट्टराईलाई नचिन्ने र उहाँलाई नपढ्ने विद्वान बिरलै होलान् । साहित्यको आकर्षणले तानिएर उहाँ काठमाडौंदेखि आजको साहित्यको यस उत्सवमा सहभागी बन्न यहाँ आउनु भनेको साहित्यप्रति रहेको उहाँको प्रेम झल्किन्छ ।  उहाँलाई पुनः म नमन गर्दछु । पुस्तक उत्तर आधुनिक ऐनामा उहाँले अग्निको कथानाटकमाथि गहिरो अध्ययन र चिन्तन पस्किनुभएको छ । उहाँ भन्नुहुन्छ –“ अग्निको कथा एउटा शक्तिशाली नेपाली काव्यनाटक हो । यसमा प्रकट भएको अपरम्परित वैचारिकता वा दार्शनिकता र काव्यात्मकता यी दुवै कारणले यो सिर्जना अद्वितीय ठहरिन्छ । यो हाम्रो दिक्काललाई विश्वसँग जोड़्ने अहिलेको अन्तिम काव्यनाटक हो । यसरी हेर्दा अपरम्परितता, समसामयिकता, वैचारिकता र काव्यात्मकता यस नाटकका सर्वाधिक प्रबल पक्ष हुन् ।”

प्रायोगिक नाटकका लागि उहाँ विशेष रूपले चिनिनु हुन्छ । नाटक सान्दाजुको महाभारतमा बी.पी. कोइराला र उनका कृतिका पात्रहरू भेला पारेर बी.पी.सँग सम्बन्धित घटना र कृतिका चरित्रहरूलाई पुनरावृत्ति गराउनु भएको छ । यो कुनै बास हो एकनाटकमा नाटककार बालकृष्ण समलाई विषय बनाइएको छ । बालकृष्ण समका आदर्शवान् नारी पात्रहरूमा आफ्नी एकल पात्रालाई प्रवेश गराएर प्रगतिशीलता तिरको परिवेशमा द्वन्द्व गराइएको छ । उहाँका नाटकहरू प्रतिष्ठित नाट्य संस्थाहरूले नेपाल, भारत,बाङला देश र युरोपमा अनेकौँ पल्ट मञ्चन भइसकेका छन् । उहाँको अर्को चाखलाग्दो विषय हो सांस्कृतिक अध्ययन ।  चित्रकला समीक्षा पनि उहाँको अर्को विषय हो ।

विभिन्न तहको शिक्षा नेपाल र ब्रिटेनमा प्राप्त गरेर त्रिभुवन विश्वविद्यालय, नेपालमा ५३ वर्ष अङ्ग्रेजी प्राध्यापन गर्नुभयो । सुवेदीजी अन्तर्राष्ट्रिय नाट्य संस्था आइटीआइ युनेस्कोको नेपाल च्याप्टरको सन २००० देखि २००८ सम्म संस्थापक अध्यक्ष अनि अन्तर्राष्ट्रियप्लेराइट फोरमको सन २००० देखि २०११ सम्म सदस्य हुनुहुन्थ्यो ।सन १९९०-९२ मा लिङग्विस्टिक सोसाइटी अफ नेपालका अध्यक्ष र त्यसभन्दा पहिले दुई काल संस्थाका जेनेरेल सेक्रेटरी भएर काम गर्नु भएको थियो । लिटरेरी सोसाइटी अफ नेपालका ६ वर्षसम्म अध्यक्ष हुनुभएको थियो । हालमा उहाँ नेपाली लोकवार्ता समाज अर्थात् नेपाल फोकलोर सोसाइटीका उपाध्यक्ष इन्टरनेसनल एसोसिएसन अफ थिएटर क्रिटिकका सदस्य हुनुहुन्छ भने सन २०१८ देखि उहाँ अन्तर्राष्ट्रिय नाट्य संस्था आइटीआइ युनेस्कोका मान्यार्थ सदस्य हुनुहुन्छ ।

नवीन चेतनाका अग्रदूत अभि सुवेदीको प्रतिभालाई पछ्याउँदै आएका पुरस्कार र सम्मानहरू केही यस प्रकार छन्–

१)     गरिमा साझा काव्य पुरस्कार वि.स. २०५५

२)     नेपाली कला समाजको आधुनिक कला समीक्षक पुरस्कार वि.स.२०५८

३)     डबली थिएटर पुरस्कार वि.स.२०५९

४)     डा. गणेश भण्डारी स्मृति पुरस्कार वि.स. २०५९

५)     दक्षिण एसियाली सार्क साहित्य पुरस्कार वि.स. २०६७

६)     युगकवि सिद्धिचरण पुरस्कार वि.स.२०७०

७)     दधिराज सुवेदी पुरस्कार वि.स.२०७४

८)     बी.पी.कोइराला साहित्य पुरस्कार वि.स.२०७४

९)     संस्कृति मन्त्रालय नाटककार राष्ट्रिय पुरस्कार वि.स.२०७५

१०)    भद्राकुमारी घले व्यक्तित्व पुरस्कार वि.स.२०७६

११)   गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वि.स.२०७६ को नाटक विधा तर्फ वि.स.२०७७ मा पुरस्कृत

१२)   व्यथित पुरस्कार वि.स.२०८०

१३)  र आजको योयुगेन्द्र छेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारलाई पनि यसमा समावेश गरेँ ।

आदरणीय अभि सुवेदीजी विचित्र चिन्तनका नाटककार र निबन्धकार त हुन नै त्यसबाहेक गायक, कवि र एकजना उच्चस्तरीय सफल अनुवादक पनि हुन् । त्यसैले सफल अनुवादकका रूपमा आज यहाँ युगेन्द्र छेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारले अलङ्कृत हुँदै हुनुहुन्छ । अनुवाद पुरस्कारका लागि चुनिनु भएकाले पहिले उहाँका नेपाली र अङ्ग्रेजीमा अनुवाद ,सम्पादन र सहलेखनका कर्म कै चर्चा गरौँ भन्ने लाग्यो ।

१)     मानस (अङ्ग्रेजी कविता सहलेखन) वि.स.२०३१ ।

२)     आधुनिक जापानी कविता (अनुवाद र समीक्षा) वि.स. २०४४ ।

३)     जापानी हाइकुःहिजो र आज (अनुवाद र समीक्षा) वि.स. २०४४

४)     जापानी नोह नाटक (अनुवाद र समीक्षा) वि.स. २०४६ ।

५)     भइसेस फ्रम नेपाल (कविता सहलेखन) वि.स.२०५६ ।

६)     पोएम्स अफ द सेन्चुरी (अनुवाद र समीक्षा) वि.स. २०५७ ।

७)     बियण्ड बोर्डर्स (सार्क कविता सङ्कलन) वि.स. २०५९ ।

८)     थ्री प्लेज (अनुदित नाटक) वि.स.२०६० ।

सम्पादन र सहलेखनमा पाउँछौँ –

१)     विश्व साहित्यको ऐतिहासिक रुपरेखा वि.स. २०३१ ।

२)     पच्चीस वर्षका नेपाली कविता वि.स. २०३९ ।

३)     समकालीन नेपाली कविता वि.स.२०५३ ।

४)     प्रतिनिधि आधुनिक कविता वि.स. २०६७ ।

उहाँले अङ्ग्रेजी भाषामा लेखेका साहित्यिक कर्महरू यस प्रकार छन्-

१)     नेपाली लिटरेचरः ब्याकग्राउण्ड एण्ड हिस्ट्री, वि.स. २०३५ ।

२)     चजिङ्ड्रिम्सः काठमाडौँ ओडिसी (काव्य) वि.स. २०५३

३)     एकाइ कावागुचीः द ट्रेस्पासिङ इन्साइडर (खोज इतिहास)वि.स. २०५६ ।

४)     ड्रिम्स अफ पीच ब्लसम् (नाटक) वि.स. २०५८ ।

५)     नेपाली थिएटर एज आइ सी इट (समीक्षात्मक इतिहास) वि.स.२०६४ ।

६)     ब्रुज इभिनिङ (नाटक) वि.स. २०६८ ।

७)     अलवेज एराइभिङ (कविता सङ्ग्रह) वि.स. २०८० । भर्खरै दुई हप्ताह अघि विमोचित

मातृभाषा नेपालीमा लेखिएका उहाँका मौलिक कृतिहरू यस प्रकार छन्-

१)     पाश्चात्य काव्यसिद्धान्त (समालोचना) वि.स. २०३० ।

२)     सिर्जना र मूल्याङ्कन (समालोचना) वि.स.२०३९ ।

३)     माध्यम र रचना (समालोचना सङ्ग्रह) वि.स.२०५४ ।

४)     शब्द र चोट (कविता सङ्ग्रह) वि.स. २०५४ ।

५)     कार्पेट टाँगिएको आकाश (निबन्ध सङ्ग्रह) वि.स. २०५५ ।

६)     निबन्ध र टुँड़िखेल (निबन्ध सङ्ग्रह) वि.स.२०६५ ।

७)     तीन नाटक (नाटक सङ्ग्रह) वि.स.२०६५ ।

८)     निबन्धमा उत्तरवर्ती कालखण्ड (निबन्ध सङ्ग्रह) वि.स.२०६६ ।

९)     चिरिएका साँझहरू (नाटक) वि.स.२०६८ ।

१०)   साहित्य र आमवृत्त (समालोचना सङ्ग्रह) वि.स. २०७० ।

११)   पाँच नाटक (नाटक सङ्ग्रह) वि.स. २०७१ ।

१२)   फलानरको डायरी (निबन्ध सङ्ग्रह) वि.स.२०७२ ।

१३)  सान्दाजुको महाभारत (नाटक) २०७३ ।

एउटा सानो बोहतामा सागरको पानी उघाएर सागर यही भनेर चिनाउने मेरो दुष्प्रयासलाई विराम दिन अघि मलाई मेरा बाको सम्झना आयो । उहाँ पण्डित हुनुहुन्थ्यो र चिना लेख्नुहुन्थ्यो । चिनाको अन्त्यमा उहाँले लेख्नुहुन्थ्यो – नमया धारिता शङ्कु घटिकाम नैव कारयेत, परोपदेशाय बेलायाम लिखितम जन्म पत्रिका ।

मेरो पनि त्यस्तै भयो, न मैले सुवेदीजीलाई देखेको थिएँ न त भेटेको नै थिएँ न पढेको नै थिएँ । साहित्य लेखनमा मलाई सधैँ मार्गदर्शन गराउँदै प्रेरणा दिने पूर्वीय र पाश्चात्य साहित्य र दर्शनका अध्येता आदरणीय डा. गोविन्दराज भट्टराईले मलाई सुवेदीजी बारे धेरै तथ्यहरू मेल र म्यासेन्जरमा नपठाएको भए मेरो सानो बोहोतो पनि भरिने थिएन । उहाँलाई धन्यवादका पुष्पाक्षर चढाउँदछु । साथै यसमा सहयोग  आदरणीय मित्र राधेश्याम लेकालीको पनि ठुलो भूमिका रहेको छ । अनि त सुवेदीज्यूको फेसबुकलाई पनि मैले धन्यवाद दिनै पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }