आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका र इरानलाई वार्तामा फर्कन संयुक्त राष्ट्र संघको आह्वान


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 57
    SHARES

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । द्वन्द्व शुरु भएको छ महिना पुगेको सन्दर्भमा प्रवक्ता दुजारिकले महासचिवको धारणा सार्वजनिक गर्दै यस संकटको एक मात्र समाधान कुटनीति भएकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं ।’
महासचिवले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरब र कुवेत लगायतका देशहरूले गरिरहेका मध्यस्थता प्रयासहरूको प्रशंसा गर्दै आफू ती देशहरूसँग निरन्तर सम्पर्कमा रहेको बताउनुभएको छ ।

 

 

द्वन्द्वका कारण सिर्जना भएको विनाशकारी मानवीय र आर्थिक परिणामप्रति महासचिवले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । विशेषगरी सर्वसाधारणमाथि भइरहेको बमबारी, भौतिक पूर्वाधारको विनाश र विश्वव्यापी रूपमा खाद्यान्न तथा मल आपूर्तिमा परेको अवरोधले निम्त्याएको संकटका बारेमा प्रवक्ताले स्पष्ट पार्नुभयो । इन्धनको मूल्य वृद्धिले कमजोर अर्थतन्त्र भएका मुलुकहरूलाई झनै ठूलो झट्का दिएको राष्ट्र संघको ठहर छ ।

महासचिवका विशेष दूत जीन अर्नाल्टले दुवै पक्ष र मध्यस्थकर्ताहरूलाई दिगो समाधानमा पुग्न सहयोग गर्न आफू तयार रहेको र निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभएको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि तनाव उत्कर्षमा पुगेको थियो । यसको बदलामा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा प्रत्याक्रमण गरेको थियो । यस द्वन्द्वका कारण विश्व ऊर्जा व्यापारको प्रमुख मार्ग ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुँदा तेल र अन्य सामग्रीको आपूर्तिमा गम्भीर असर परेको छ ।

यसअघि, गत जुन १८ मा अमेरिका र इरानबीच ६० दिनभित्र वार्ता गरी अन्तिम सम्झौतामा पुग्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यद्यपि, दुई देशबीच पुनः तनाव बढेसँगै प्रश्तावित वार्ताको भविष्य अन्योलमा परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)